ए डिभिजन क्लबहरुले खेलाडीलाई वर्षमा कति महिना तलब दिन्छन्?

ए डिभिजन क्लबहरुले खेलाडीलाई वर्षमा कति महिना तलब दिन्छन्?
+
-

काठमाडौं- तीन वर्षपछि शहिद स्मारक ए डिभिजन लिग फुटबल सुचारु हुँदा खेलाडीहरुमा उत्साह बढेको छ।

क्लबहरु धमाधम खेलाडीहरु अनुबन्ध गरिरहेका छन्। क्लबको प्रदर्शनलाई बलियो बनाउन विदेशी खेलाडी (खासगरी अफ्रिकी मुलक)लाई आबद्ध गरिरहेका छन्। नाम चलेका खेलाडीहरुले यतिउति पारिश्रमिक पाए भनेर चर्चा पनि भइरहेको छ। यद्यपि पारिश्रमिकको विषय क्लबहरुले गोप्य राख्ने प्रयास गरिरहेका छन्।

शहिद स्मारक ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि सुरु गर्ने अखिल नेपाल फुटबल संघ-एन्फाको तयारी छ। घरेलु फुटबलको मेरुदण्ड र खेलाडीको प्रमुख आयस्रोत मानिने लिग फुटबल नेपालमा तीन वर्षपछि सुचारु हुन लागेको हो। यसअघि २०७५ सालमा अन्तिमपटक शहिद स्मारक ए डिभिजन लिग फुटबल भएको थियो। यसबीचमा कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन। खेलाडीको आयस्रोतको बाटो नै ठप्पजस्तै भयो।

महामारीबीचमा खेलकुद गतिविधिमाथि सरकारले रोक लगाइरहेका बेला राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले खेलाडीहरुले खेल्न नै बिर्सिएको अवस्था आएको भन्दै गुनासो गरेका थिए। त्यसपछि विभिन्न नाममा घरेलु लिग प्रतियोगिता सार्न थालिएपछि खेलाडीहरुले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्याश लिएपछि विराज महर्जनलाई बोकेर बिदाई गर्दै अन्य खेलाडी।

ब्रिगेड ब्वाइज क्लब, च्यासल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, मनाङ  मर्स्याङ्दी क्लब, शसस्त्र प्रहरी बल–एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम–एनआरटी, सङ्कटा क्लब, सरस्वती युथ क्लब र थ्री स्टार क्लब गरी १४ वटा क्लबले आसन्न शहिद स्मारक ए डिभिजन लिग खेल्दै छन्।

एउटा क्लबले बढीमा ४५ खेलाडीसम्म दर्ता गर्न पाउने एन्फाको निर्णय छ। यसैगरी बढीमा ४ जना विदेशी खेलाडीलाई एउटा क्लबले आबद्ध गर्न सक्छन्। खेलाडी दर्ता संख्याको अधिकतम सीमालाई आधार मान्ने हो भने ए डिभिजन लिगमा ६ सय ३० जना सम्म खेलाडीहरु सहभागिता हुन सक्छन्। यसपटक क्लबहरु कार्यक्रम गरेर अनुबन्ध गरिएका खेलाडीहरुलाई सार्वजनिक गरिरहेका छन्। उनीहरु केही महिना लिगका लागि व्यस्त हुनेछन्।

ए डिभिजन क्लबहरुले लिगकै लागि भनेर खेलाडी भित्र्याउने गरेका छन्। एन्फाका लिग निर्देशक सन्जिब मिश्रका अनुसार क्लबले नेपाली खेलाडीका हकमा कम्तिमा ५ महिना र विदेशी खेलाडीका हकमा कम्तीमा ३ महिना आबद्ध गर्नुपर्ने  छ। एन्फाको यो नियम लिग लक्ष्यित नै देखिन्छ। यसको मतलब वर्षको बाँकी ७ महिना खेलाडीहरु क्लबबिहिन वा पारिश्रमिकबिहिन पनि हुन सक्छन्। अहिले नाम चलेकै खेलाडीहरुलाई पनि क्लबहरुले एक वर्षका लागि अनुबन्ध गरिएको भनेर सार्वजनिक गरिरहेका छन्। तर ती खेलाडीहरुले १२ महिना नै तलब पाउने सम्भावना कम छ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन आफूसँग १२ महिना नै तलब पाएको स्मरण नभएको बताउँछन्। ‘ फुटबल प्रतियोगिता भयो भने तलबका लागि भन्न पनि सजिलो हुन्छ। प्रतियोगिता नै नभएपछि क्लबलाई भन्न पनि गाह्रो हुन्छ’, घरेलु लिगबाहेक अन्य प्रतियोगिता भएका आधारमा खेलाडीले पारिश्रमिक पाउने संकेत गर्दै महर्जनले भने। लिग मात्र नभएर वर्षभर ए डिभिजन क्लबहरुले खेल्ने अन्य प्रतियोगिताहरु भए खेलाडीले नियमितरुपमा पारिश्रमिक पाउने महर्जन बताउँछन्।

नेपाली टोलीका कप्तान किरण चेमजोङ्ग ।

तुलना क्रिकेट र फुटबल खेलाडीको 

केही साताअघि एक टेलिभिजन कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका खेलाडीले एन्फाबाट पाउँदै आएको तलब र एन्फा पदाधिकारीले पाइरहेको तलबको विषयमा सोधिएको प्रश्न र त्यसको जवाफको भिडियो भाइरल बन्यो।

एन्फा महासचिव इन्द्रमान तुलाधरले मासिक करिब एक लाख रुपैयाँ बुझ्दै आएको तर खेलाडीले भने मासिक १८ हजार रुपैयाँ मात्र पाइरहेको भनेर प्रश्न सोधिएको थियो। त्यस कार्यक्रममा तुलाधरसँगै राष्ट्रिय टोलीका कप्तान किरणकुमार चेम्जोङलाई बोलाइएको थियो। तुलाधरलाई प्रश्न सोधिरहँदा चेम्जोङले मुस्कुराएर प्रतिक्रिया दिएका थिए।

एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई अहिले जनहिँ मासिक १८ हजार रुपैयाँ दिइरहेको छ। फुटबल विश्लेषकका रुपमा समेत परिचित मिश्र विश्व फुटबलमा सम्बन्धित देशको फुटबल संघले खेलाडीलाई मासिक तलब दिने अभ्यास नरहेको बताउँछन्।

‘खेलाडीहरु क्लबमा आबद्ध हुन्छन्। क्लबले उनिहरुलाई पारिश्रमिक दिने हो। प्रतियोगिताका लागि वातावरण बनाई दिने काम राष्ट्रिय फुटबल संघको हो’, मिश्र भन्छन्। विश्व फुटबल महासंघ-फिफाले हरेक देशको राष्ट्रिय फुटबल संघलाई प्रशासनिक खर्चका नाममा वार्षिक करडौँ रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

पारिश्रमिकको विषयमा पछिल्लो समय नेपालमा फुटबल खेलाडी र क्रिकेट खेलाडीबीच तुलना हुने गरेको छ। नेपाल क्रिकेट संघले करिब दुई दर्जन खेलाडीसँग विभिन्न श्र‍ेणीमा छुट्याएर ‘सेन्ट्रल कन्ट्र्याक्ट’ गरेको छ। उनिहरुले क्यानबाट मासिक ५० हजार रुपैयाँसम्म पाउँछन्।

सन् २०१४ मा नेपालले टीट्वेन्टी विश्वकप खेलेपछि खेलाडीहरुलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्न थालिएको हो। त्यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले नेपाली टोलीका खेलाडीका लागि भनेर ५० हजार अमेरिकी डलर दिने निर्णय गरेको थियो। त्यही रकमलाई व्यवस्थापन गर्न ‘सेन्ट्रल कन्ट्र्याक्ट’ सुरु भएको हो।

त्यसयता हरेक वर्ष करिब दुई दर्जन खेलाडीलाई क्यानले ‘सेन्ट्रल कन्ट्र्याक्ट’मा राखेर मासिक तलब दिने गरेको छ। नेपालले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि आईसिसीले नेपाललाई वार्षिकरुपमा उपलब्ध गराउने गरेको रकम करिब १८ करोड नेपाली रुपैयाँ पुगेको क्यानका अधिकारीहरु बताउँछन्। यसबाहेक राष्ट्रिय क्रिकेट टोलीका अधिकांश खेलाडी र केही बाहिरका खेलाडीसँग व्यक्तिगत ‘प्रायोजक सम्झौता’ पनि रहेको छ जुन उनिहरुका लागि नियमित आयस्रोतका रुपमा रहेको छ।

फुटबल विश्लेषक मिश्र क्रिकेटमा क्लब र लिग संरचना नरहेकाले सम्बन्धित देशको क्रिकेट संघले नै खेलाडीलाई तलब भत्ता दिएको हुन सक्ने बताउँछन्। फुटबल खेलाडी दुर्भाग्य के छ भने  क्रिकेट खेलाडीको जस्तो व्यक्तिगत ‘प्रायोजक सम्झौता’ पनि उनिहरुको छैन। ब्यापारिक घरानाहरु यस विषयमा मौन देखिन्छन् नत एन्फा र खेलाडी नेतृत्वहरुले यसमा ध्यान पुर्‍याएका छन्।

बि डिभिजन लिग र सी डिभिजन लिगका खेलाडी अझ मारमा 

नेपाली फुटबलको घरेलु लिग संरचना तीन तहको छ- ए, बी र सी डिभिजन। हरेक डिभिजनमा १४ वटा क्लबहरु रहेका छन्।

बी र सी डिभिजन लिगका खेलाडीहरु थप चरम आर्थिक संकटमा देखिने गरेका छन्। यी लिगका क्लबहरुले खेल्ने अन्य प्रतियोगिताहरु समेत नरहेकाले ए डिभिजन क्लबहरुको आँखामा पर्न तल्लो डिभिजनका क्लबहरुमा सित्तैमा समेत खेल्नुपर्ने अवस्था रहेको खेलाडीहरुको गुनासो छ।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?