
काठमाडौँ – कोरोना भाइरसको जोखिमका कारण दुई वर्षयता सुनसान रहेको मेला सुरु भएपछि पुष्प व्यवसायी खुसी भएका छन्।
शुक्रवारबाट ४ दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएसँगै पुष्प व्यवसायी हर्षित भएका हुन्।
मेलामा ४४ वटा स्टल छन्। प्रदर्शनीमा सहभागी पुष्प व्यवसायी सुमन महर्जनले २ वर्षपछि मेला हुँदा सबै व्यापारीसँग भेट भएको र अब पुष्प व्यवसाय फस्टाउने बताए।
उनले सयपत्री फूल नेपालमा धेरै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीले भारतबाट आयात गर्दा नेपाली बजारमा फूलै नभइदिएजस्तो भएको बताए।
उनले भारतबाट ल्याएर बजारमा सस्तो दरमा बिक्री गरिदिँदा स्वदेशमा उत्पादन भएका फूल र मालाले बजार नपाएको बताए।
उनले केही व्यापारीले आन्तरिक फाइदाका लागि भारतबाट फूल आयात गरिरहेको र सरकारले यसलाई रोक्नुपर्ने बताए।
पुष्प व्यवसायी महर्जनले भने, ‘आजबाट सुरु भएको पुष्प मेलाका कारण व्यवसायी एकदमै खुसी छौँ, किनभने २ वर्षपछि यस्तो मेला भएको छ, व्यवसायीले पनि एकअर्कासँग भेट्ने मौका पाएका छन्, सबै एकै ठाउँमा हुँदा उत्साहित छौँ।’ अहिले यहाँ ४४ वटा व्यावसायिक स्टल रहेको उनले बताए।
उनले भने, ‘सयपत्री फूलको पनि नेपालमा टन्नै उत्पादन छ तर भारतबाट आयात गर्न निकै सजिलो भयो, वर्षभर अरु व्यवसाय गरेकाहरू क्षणिक लाभ लिन भारतबाट आयात गरेर बजारमा सस्तो रेटमा बेच्न थाले त्यसले आयात बढेको छ, व्यक्तिगत फाइदाका लागि व्यापार गर्दा नेपाली मालाले बजार पाएको छैन।’
पुष्प व्यवसायी महर्जनले सरकारले भारतबाट जथाभावी फूल आयात गरेर बिक्री गर्नेहरूको निगरानी गरी निरुत्साहित गरे नेपाली फूलले बजार पाउने बताए।
उनले काठमाडौं उपत्यकामा रहेका खाली सरकारी जग्गालाई भाडामा पुष्प व्यवसाय गर्न दिनुपर्ने बताए।