
काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्रराय यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका छन्।
काठमाडौंमा शुक्रबार अयोजित ४१ औँ विश्व खाद्य दिवसको अवसरमा मन्त्री यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने भन्दै सबैभन्दा पहिला किसानको समृद्धिमा जोड दिनुपर्ने बताए।
उनले बेमौसमी वर्षाले किसानको बालीनालीमा पु¥याएको क्षतिलाई ध्यानमा राख्दै ५ अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गरेको जानकारी दिए। उनले किसानलाई समृद्ध बनाउन मन्त्रालय लागिरहेको बताए।
उनले सरकारले दिएको सहुलियत अनुदानबाट पहुँचवाला किसान मात्रै पोसिने गरेको भन्दै सम्बन्धित किसानलाई पनि अनुदान दिन किसानकै बैंक खातामा जम्मा गरिनुपर्ने बताए।
कृषिमन्त्री यादवले भने, ‘किसानले एउटै महासंघ बनाएर, अघि बढ्नुपर्छ, पार्टीगत किसान संघ अन्त्य गर्नुपर्छ यो गर्न सकेमा मात्र हाम्रो हित हुन्छ। किसान बलियो, समृद्ध भयो भने समयमा मलखाद पुर्याउँछौँ, किसानकै परिश्रम, मिहिनेतले नै देशलाई विकास गर्न सक्छौँ, देश हाँक्न किसान आत्मनिर्भर हुनुपर्छ, किसान पेसा छाडेर विदेश जाने परम्पराले देश अघि बढ्न सक्दैन, कृषिलाई बलियो बनाउन यथेष्ट बजेटको व्यवस्था हुनुपर्छ।’
कृषिमन्त्री यादवले सरकारले किसानका लागि घोषणा गरेको राहत प्याकेज पारदर्शी बनाउन त्यसका लागि कार्यविधि बनाइएको पनि बताए।