
काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्।
आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पुर्याउन निर्देशन दिए।
उनले सो विमानस्थललाई मास्टर प्लानअनुसार नै बनाउने प्रतिबद्धता व्यक्त गरे।
विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गराउन निर्देशन दिँदै उनले त्यसका निम्ति सरकारले के गर्नुपर्छ तयार रहेको स्पष्ट पारे।
उनले भने, ‘यो एयरपोर्ट अविलम्बै चालु होस्। त्यसका लागि नेपाल सरकारले गम्भिरतापूर्वक आफ्ना कदम अगाडि बढाउनेछ। यो एयरपोर्टको माध्यमबाट हामी अन्तर्राष्ट्रिय उडान भर्न चाहन्छौँ। त्यसका लागि अविलम्ब छिटोभन्दा छिटो यसको उद्घाटन हुनेछ र एयरपोर्ट चल्नेछ।’
उनले बुद्धको उपदेशलाई संसारभर पुर्याउन र आफ्नो जीवनमा अनुसरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरे। उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालको लागि सम्पदा रहेको बताए।
यसैबीच, उनले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानलाई सरकारले राहत दिने पनि जानकारी दिए।