
काठमाडौँ – नेपालकै लोकप्रिय एप हाम्रोपात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ।
एपले ‘हाम्रो हेल्थ’ फिचरको रूपमा ‘टेलिमेडिसिन’ सेवा सञ्चालनमा ल्याएको हो।
यो सेवा सोमबारदेखि परीक्षणको रूपमा सुरु गरिएको हाम्रो पात्रो इंकले जनाएको छ। कम्पनीका अनुसार तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको यो सेवा अबको दुई महिनामा आईओएस प्रयोगकर्ताले समेत उपयोग गर्न सक्नेछन्।
सुविधा सम्पन्न स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका बिरामीलाई लक्ष्य गरी ल्याइएको यो सेवामार्फत विभिन्न रोगका विशेषज्ञ डाक्टरसँग भिडिओ कलमार्फत परामर्श लिन सकिनेछ। ‘ओपन प्लेटफर्म’ (खुला माध्यम) को रूपमा रहने यो सेवामा नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त डाक्टरहरू स्वैच्छिक रुपमा जोडिन सक्ने बताइएको छ।
परामर्श सेवाका लागि टिकेट लिइसकेपछि बिरामीले सम्बन्धित विशेषज्ञ डाक्टरलाई सोझै भिडिओ कल गर्न सक्नेछन्। अनलाइनबाटै टिकेट लिन सकिने व्यवस्था मिलाइएको हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए। सेवा लिनका लागि टिकेट शुल्क ५ सय रुपैयाँ तोकिएको छ।
डाक्टरसँग परामर्श सेवा लिनुपूर्व सेवाग्राहीले आफ्नो नाम, उमेर र स्वास्थ्य समस्या उल्लेख गरी प्रोफाइल बनाउनुपर्नेछ। यसका साथै आफ्नो प्रोफाइलमा ल्याब रिपोर्टलगायत स्वास्थ्य समस्यासम्बन्धी कागजात अपलोड गर्नसमेत सकिन्छ।
हाललाई हाम्रो हेल्थमा २० जना विशेषज्ञ डक्टर आवद्ध भइसकेको कम्पनीले जनाएको छ। दुई महिनाको परीक्षणपश्चात् यो सेवा पूर्ण रुपमा सञ्चालनमा आउनेछ।
यसमा सूचीकृत डाक्टरहरू आफ्नो अनुकूलता तथा फुर्सदको समयमा हाम्रो हेल्थको टेलिमेडिसिन सेवाका लागि लाइभ आउन सक्नेछन्।
तर, यसमा डाक्टरको समय प्रि–बुकिङ गर्न सकिने सुविधा भने हाललाई उपलब्ध छैन। सम्बन्धित डाक्टरको प्रोफाइलमा गएर कुन समयमा अनलाइनमा उपलब्ध हुने अथवा नहुने कुराको जानकारी लिन सकिनेछ।
कुन डाक्टरसँग परामर्श लिने भन्ने कुरा बिरामी स्वयंले तय गर्नुपर्ने कम्पनीले जनाएको छ। डाक्टर फरक परेको अवस्थामा सोही टिकेट प्रयोग गरी सम्बन्धित अर्को डाक्टरसँग परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ।
यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको हाम्रो पात्रोको मोबाइल एप अपडेट गर्नुपर्ने हुन्छ।
‘काठमाडौं बाहिर रहेका बिरामीलाई सामान्य फलोअप तथा विशेषज्ञ डाक्टरसँगको परामर्शका लागि आइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्न यो सुविधा सञ्चालनमा ल्याएका हौँ,’ कम्पनीका संस्थापक उप्रेतीले भने।
उनका अनुसार बुबाआमा नेपालमा र छोराछोरी विदेशमा रहेको अवस्थामा दुवै तर्फबाट एकसाथ डाक्टरसँगको परामर्शमा जोडिन सक्ने सुविधासमेत आगामी दिनमा ल्याउने तयारी छ।
परामर्शपश्चात् डाक्टरले एपबाटै लिखित प्रेस्क्रिप्सन तथा औषधि सिफारिस गरिदिनसक्ने व्यवस्था मिलाइएको छ। सबै कलमा ‘इन्ड टु इन्ड इन्क्रिप्सन’ (गोपनीयताका हिसाबले सुरक्षित) को फिचर रहेको भन्दै संस्थापक उप्रेतीले सेवाग्राहीले भिडिओ अफ गरेर अडियोमा मात्रै कुरा गर्नसमेत पाउने बताए।