
काठमाडौँ – भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको सफल पोखरा म्याराथन फागुन ७ गतेदेखि हुने भएको छ। पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६औँ म्याराथन फागुन ७ गते हुने मञ्चले बताएको छ।
यो संस्करणदेखि प्रतियोगिताका विजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ। बढेको पुरस्कारअनुसार प्रथम हुनेले ४ लाख पाउनेछन् भने उपविजेतालाई २ लाख, तेस्रोलाई १ लाख र चौथोलाई ३० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।
अघिल्लो संस्करणमा प्रथम पुरस्कार २ लाख थियो। नेपालको म्याराथनमा यो नै सबैभन्दा धेरै पुरस्कार राशि भएको प्रतियोगिता हो। प्रतियोगितामा १० किमि पुरुष तथा महिला, ५ किमि छात्रछात्रा, ह्विल चियर र दृष्टिविहीन दौड हुने पत्रकार सम्मेलनमा अध्यक्ष हरि पराजुलीले जानकारी दिए।
प्रतियोगितालाई सुजल डेरीले ३ वर्षसम्म प्रायोजन गर्ने भएको छ। अघिल्लो वर्ष प्रतियोगिताका लागि सुजल डेरीले साढे ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने आगामी वर्षदेखि सम्झौता भएको रकममा बर्सेनि १० प्रतिशत रकम बढाउने सहमति भएको छ।