
काठमाडौँ – कात्तिक २९ गतेदेखि आयोजना हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै छ।
अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुँदै छन्। मनाङ मर्स्याङदी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक एन्फाले बनाएको छ।
नेपाली फुटबलको मेरुदण्ड मानिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन हुँदै छ। पहिलो खेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दा दशरथ रंगशालामा उद्घान समारोह हुनेछ।
उद्घाटन खेल ‘फ्लड लाईट’ खेलाउने तालिका बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशालाबाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मर्स्याङदीले प्रस्ताव गरेको पोखरा रंगशालामा खेलाउने सक्ने बताएको छ।
दशरथ रंगशालमा उद्घाटन हुने खेल ५ बजे सुरु हुनेछ। ०७२ को भूकम्पपछि बनेको नयाँ रंगशालामा उद्घाटन खेलबाहेक अन्य खेल भने दिउँसो ३ बजे हुनेछन्।
काठमाडौँको मध्यभागमा रहेको रंगशालामा १३ औँ दक्षिण एसियाली खेलकुद भइसकेका छन् भने केही अन्तर्राष्ट्रिय खेल पनि सम्पन्न भइसकेका छन्। सुरुवाति दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रंगशालाका अलावा एन्फा टेक्निकल सेन्टरमा तोकिएको छ।
एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र संकटा क्लबबीच हुनेछ। उक्त खेल दिनको १२ बजे हुनेछ। कृत्रिम मैदान एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रीपूर्ण खेल खेलेका छन्। जुन प्रिसिजनअघिको अभ्यास खेलको रूपमा व्याख्या गरिएको छ। तेस्रो चरणको खेलमा च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ। मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी छ।
यस्तै, चौथो खेल स्थलको रूपमा पोखरा रंगशाला पनि प्रयोगमा आउने एन्फाले जनाएको छ। जसलाई मनाङ मर्स्याङदी फुटबल क्लबले घरेलु मैदानको रूपमा प्रयोग गर्ने योजनामा छ। सोहीअनुसार तालिका बनाउनुपर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको हो।
कोरोनाका कारण सीमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने जनाएको छ। फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेसनमा घटुवा हुनेछन्। लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ।