
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अबको सरकारले फजुल खर्च घटाएर जनचाहनाअनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रदेशसभा बैठकमा सोमवार विश्वासको मत मागेपछि अन्य राजनीतिक दलका नेताहरूले उठाएको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री पाण्डेले अबको सरकारले फजुल खर्चलाई घटाएर जनताको चाहनाअनुरूप काम गर्ने बताएका हुन्।
उनले अबको तीन महिनाभित्र प्रदेश सरकारले श्वेतपत्र जारी गरी विगतको सरकारको काम जनतालाई जानकारी गराउने पनि बताए।
मुख्यमन्त्री पाण्डेले भने, ‘विकृति, विसंगति अन्त्य गर्ने, सुशासन दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, मितव्ययी सरकार चलाउँदै संविधानअनुरुप सरकार चल्छ।’ उनले विगतमा मन परेन भनेर संविधान नै च्यात्ने संसद् विघटन गर्ने काम भएको भन्दै आफ्नो सरकार संविधानअनुसार नै चल्ने बताए।