
काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
अखण्ड नेपाल हिन्दु अधिराज्य पुनःस्थापना र्याली तथा विरोधसभा नामको ब्यानरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीको विरोधमा प्रदर्शन गरिएको हो।
विरोध प्रदर्शनमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सत्तामा भाग खोज्ने प्रधानन्यायाधीश जबराले भन्दा पहिले त्यसमा भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे। उनले सत्ताको भाग दिने प्रधानमन्त्री देउवाको राजीनामा किन माग नगरेको भनेर कानुन व्यवसायीलाई प्रश्नसमेत गरेका थिए।
वरिष्ठ अधिवक्ता न्यौपानेले भने, ‘एकछिनलाई मानौं–चोलेन्द्रशमशेरले सत्तामा भाग खोजे। सत्तामा भाग दिने मान्छे को हो? शेरबहादुर देउवा। पहिले राजीनामा शेरबहादुर देउवाको मागौं। हाम्रा कानुन व्यवसायीले शेरबहादुर देउवाको राजीनामा किन माग्दैनन्?’
वरिष्ठ अधिवक्ता न्यौपानेले भारतीय र युरोपियन युनियनका मान्छेलाई नेपाली नागरिकता दिने काम बन्द गरेपछि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन सुरु गरिएको दाबीसमेत गरे।