
मोरङ – कांग्रेसको १४औं महाधिवेशनका लागि ट्रेड युनियन आबद्ध श्रमजीवीहरूले संयुक्त रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
विराटनगरमा शुक्रबार १४औँ महाधिवेशनमा श्रमजीवीहरूको भूमिका कार्यक्रममा मोरङबाट प्रतिनिधित्व गर्ने ट्रेड युनियनकर्मीले मंसिर ३ देखि १० गतेसम्म हुने महाधिवेशनमा २५ जनाले उम्मेदवारी घोषणा गरेका हुन्।
जिल्ला सचिवका लागि दाबी गरेका ट्रेड युनियन मोरङका अध्यक्ष सुशील कोइरालाले मोरङबाट २५ जनाको उम्मेदवारी आएको जानकारी दिए। कार्यक्रममा सार्क टुकका महासचिव एवं प्रमुख अतिथि लक्ष्मणबहादुर बस्नेतले श्रमजीवीको भविष्य निर्माणका लागि उम्मेदवारी आउनु सुखद भएको बताएका थिए।
सामाजिक न्यायका लागि टे«ड युनियनले भूमिका खोजिरहेको अवस्थामा नीति निर्माण तहमा आफ्नै उपस्थित हुँदा श्रमजीवीको हक अधिकार सुनिश्चित रहनेमा जोड दिए।
निर्वाचनमा सहभागी सबैलाई एकढिक्का भएर साथ दिन बस्नेतले आग्रह गरेका थिए। आउने अवसरलाई समानुपातिक रूपमा बाँडफाँड गर्नुपर्नेमा उनले जोड दिए।
त्यसैगरी, ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले पार्टीको नीति निर्माण तथा योजनासम्म पुग्नुपर्नेमा जोड दिए। सो गन्तव्यसम्म नपुग्दा पार्टीले ट्रड युनियनकर्मीप्रति हेर्ने दृष्टिकोण फरक पारेको उनको भनाइ छ।
विगतका निर्वाचनमा कांग्रेस मजदुर विरोध भएर देखिने गरेको आरोप लगाउँदै उनले सत्तामा पुग्ने कांग्रेसले मजदुर पक्ष बन्न सक्नुपर्ने सुझाव दिए। यसपटकको महाधिवेशनबाट सबैले ट्रेड युनियनकर्मीले मजदुर श्रमजीवीको उद्धार गर्ने, हकहितको अधिकार सुनिश्चित गर्न पार्टीका सबै संरचनामा ट्रेड युनियनकर्मीको प्रतिनिधित्व रहनुपर्ने प्रस्ट्याए।
कार्यक्रममा ट्रेड युनियनका प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले नीति निर्माण तहसम्म आफूहरूको सहभागिता रहनुपर्नेमा जोड दिए।
विभिन्न संस्थालाई संगठन गर्दै पार्टीलाई बलियो बनाउने भूमिकामा ट्रेड युनियनकर्मी उभिँदै आए पनि पार्टीले नीतिगत तहसम्म पुर् याउन कन्जुस्याइँ गर्ने गरेको आरोप लगाए।
त्यसैगरी, ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले पार्टीले श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताए। उपाध्यक्ष राईले पार्टीको बैधानिक संरचनामा श्रमिकको भूमिका नदेखिएको हुँदा अब आफ्नो हक अधिकार मागेर नभई संघर्षबाट लिनुपर्ने समय आएको बताए।
कार्यक्रममा तत्कालीन पार्टी सभापति सुशील कोइराला र टे«ड युनियनका अध्यक्ष लक्ष्मणबहादुर बस्नेतबीच श्रमजीवीको हक सुनिश्चित गर्न भएको ७ बँुदे सम्झौता अझै पनि कार्यान्वयन आउन नसकेकामा ट्रेड युनियनकर्मीले गुनासो गरेका थिए।
पार्टीको केन्द्रीय समितिले दुईपक्षीय सम्झौतालाई अनुमोदन गरे पनि कार्यान्वयन गर्न नसकेकामा ट्रेड युनियनकर्मीको गुनासो थियो।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजयकुमार राई, निवर्तमान कोषाध्यक्ष जनार्दन निरौला, ट्रेड युनियन प्रदेश १ महिला विभाग अध्यक्ष सुनिता घिमिरे, तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापा, नेविसंघका पूर्वसहमहामन्त्री कृष्ण कार्कीलगायत सहभागी थिए। कार्यक्रममा विराटनगर महानगरपालिकाका सभापति र १९ वडाका सभापतिलाई समेत सम्मान गरिएको थियो।