
काठमाडौँ – मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा कात्तिक २३ गतेबाट भारत भ्रमणमा रहेका प्रधानसेनापति महारथी प्रभुराम शर्मा आफ्नो ४ दिने भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फिर्ता भएका छन्।
प्रधानसेनापति महारथी शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्यएयर बेसमा स्वागत गरेका थिए।
भारत भ्रमणका क्रममा कात्तिक २४ गते प्रधानसेनापति महारथी शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए।
भ्रमणका क्रममा प्रधानसेनापति महारथी शर्माले कात्तिक २३ गते भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणे, रक्षासचिव अजय कुमार र एयर चिफ मार्सल भीआर चौधरीसँग भेट गरेका थिए।
त्यस्तै, कात्तिक २४ गते भारतीय चिफ अफ डिफेन्स जनरल विपिन रावतसँग भेटघाट गरेका थिए।
त्यसैगरी, उनले कात्तिक २५ गते भारतका रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।
प्रधानसेनापति महारथी शर्माले नयाँदिल्लीस्थित नेसनल डिफेन्स कलेजको निरीक्षण भ्रमणसमेत गरेका थिए।