
काठमाडौँ – एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतिमा निर्माण हुने बताएका छन्।
महासचिव पोखरेलले पार्टीको १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल नबन्ने दाबीसमेत गरे। काठमाडौंमा बुधबार आयोजित ‘पार्टीको १०आंै राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमुखीकरण’ कार्यक्रममा उनले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिस्ट नबाँड्ने बताए।
उनले पार्टीलाई एकताबद्ध बनाएर लैजान पनि प्यानलको लिस्ट बाँडेर महाधिवेशनको निर्वाचनमा सामेल हुने पक्षमा आफूहरू नरहेको तर्क गरे। उनले एमालेले आफूले उठान गर्दै आएको समृद्धि र विकासको मुद्दालाई निर्णायक ठाउँमा पु¥याउने गरी महाधिवेशनलाई भव्यतासाथ सफल बनाउने दाबीसमेत गरे।
उनले भने, ‘हाम्रो नेतृत्व भनेको सहमतिका साथ निर्माण हुन्छ। एउटा कुरा बुझ्नुस् कमरेडहरू, महाधिवेशनमा हाम्रो प्यानल बन्ने छैन। प्यानल लिस्ट बाँडिने छैन। यो चिज ग्यारेन्टी हो। हामी प्यानल बनाउँदैनौँ। प्यानलको लिस्ट बाँड्दैनौँ।’
महासचिव पोखरेलले चितवनमा हुने सो महाधिवेशनमा लाखौंको संख्यामा जनसहभागिता हुने दाबीसमेत गरे। उनले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई आह्वानसमेत गरे।