
अ
+
अ
अ
-
बुटवल-एमाले महाधिवेशनबाट लुम्बिनी प्रदेशका ७ जना पदाधिकारीमा चुनिएका छन्।
१९ सदस्यीय पदाधिकारीमा २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव निर्वाचित भए।
केपी ओलीको रोजाइमा परेर ७ जना निर्वाचित हुँदा उपाध्यक्षमा उम्मेदवारी दिएका लुम्बिनीकै घनश्याम भुसाल भने पराजित भए।
उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा लुम्बिनीकै नेताहरू निर्वाचित भएका छन्। ६ जना उपाध्यक्षमध्ये दुईजना लुम्बिनीका छन्।
पदाधिकारीमा निर्वाचितहरूमध्ये दाङ, रुपन्देही र गुल्मीका दुई–दुई जना परेका छन्।
अर्घाखाँचीबाट एकजना छन् भने अरु ८ जिल्लाका नेताले केन्द्रीय सदस्य पाएपनि पदाधिकारी पाएनन्।
ओलीका विश्वासपात्र मानिने लुम्बिनीका पूर्वमूख्यमन्त्री शंकर पोखरेल पार्टीकै बलियो र प्रभावशाली पद मानिने महासचिवमा बाजी मारेका छन्।
महासचिवका प्रमुख दाबेदार विष्णु पौडेललाई तुलनात्मक हिसाबले कम प्रभावशाली पद उपाध्यक्षमा सहमत गराएर पोखरेल महासचिव बने।
पोखरेलले नवौँ महाधिवेशनमा उपमहासचिवमा हार्दा पौडेल र घनश्याम भुसालले जितेका थिए।
उपाध्यक्षमै दाङका युवराज ज्ञवाली निर्वाचित भएका छन्।
यसअघि उपाध्यक्ष रहेका ज्ञवाली ओलीकै रोजाइमा फेरिपनि उपाध्यक्ष बने।
यसअघि सचिव रहेका गुल्मीका प्रदीपकुमार ज्ञवाली उपमहासचिव बनेका छन्।
गुल्मीकै गोकर्ण विष्ट फेरि पनि सचिवमै यथावत् रहेका छन्।
पदाधिकारीमा कम चर्चामा रहेका दलित नेता रुपन्देहीकै छविलाल विश्वकर्मा सचिवमा निर्वाचित भएका छन्।
यसअगाडि पोलिटब्यूरो सदस्य रहेका विश्वकर्मा ओलीको कट्टर समर्थकका रुपमा चिनिन्छन्।
नेकपा विघटनपछि एमालेमै रहेका अर्घाखाँचीका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी सचिव बनेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विश्वासपात्र मानिने रायमाझी नेकपा विघटनपछि प्रचण्डको कडा आलोचना र केपी ओलीको कट्टर रुपमा समर्थन गर्दै आएका थिए।
केन्द्रीय आयोगका मुख्य पदमा लुम्बिनीका नेता ओलीले चुनेको सूचीमा अटेका छन्।
अनुशासन आयोगको उपाध्यक्षमा रूपन्देहीका नेत्र पन्थी चयन भएका छन्।
त्यस्तै केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन्।
लुम्बिनीबाट केन्द्रीय सदस्यमा ४ दर्जनभन्दा बढी नेता परेका छन्।
शंकर पोखरेल महासचिव हुँदैगर्दा उनकी श्रीमती सुजिता शाक्य र बहिनी मेनुका पोखरेल केन्द्रीय सदस्य बनेका छन्।
उनीहरु दाङकै हुन्।
यस्तै लुम्बिनीबाट केन्द्रीय सदस्यमा पूर्वमन्त्री वैजनाथ चौधरी, दिनेश पन्थी, दधिराम न्यौपाने, गिरीधारीलाल न्यौपाने, बलराम अधिकारी, विमला घिमिरे, शिवराज सुवेदी, गुमादेवी आचार्य, सावित्रा अर्याल, दलबहादुर राना, कोमल ओली, नरुलाल चौधरी, घनश्याम पाण्डेलगायतका निर्वाचित भएका छन्।