
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन्।
नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अवैध रूपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने बताए।
उनले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अवैध रूपमा नेपालमा आयात हुने मोबाइल फोन बन्द हुने बताए। उनले अवैध रूपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारको भएको बताए।
सरकार आफ्नो दायित्वबाट पछि नहट्ने बताए। उनले भने, ‘अवैध रूपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे वितरक संघमार्फत हिजो मात्रै थाहा पाएँ। यस विषयमा थाहा पाउनेबित्तिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु। तर, विदेशबाट वैधानिक रूपमा मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न कठिन छ।’
नेपालको अर्थतन्त्र रेमिट्यान्समार्फत चलिरहेको उनले बताए। उनले भने, ‘नेपालबाट विदेशी भूमिमा ५० डिग्रीको तापक्रममा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउने गर्छन्। विदेशमा दुःख गरेर नेपाल फर्किनेहरूलाई एउटा फोन पनि राज्यले ल्याउन नदिनु उनीहरूमाथि अन्याय हुन्छ। एउटा ल्याउन दिएमा एउटाबाट अर्को एउटा हुँदै धेरै हुने समस्या उत्पन्न भएको छ । यसरी अहिले ३० प्रतिशतसम्म मोबाइल फोन अवैध रूपमा आयात हुने गर्छ। यसलाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।’
अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रूपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए।
उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्न सक्ने बताए। अब मोवाइल पनि नेपालमै उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे। उनले नेपालमा मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुटदेखि अन्य धेरै सुविधा दिन तयार रहेको बताए। अर्थमन्त्री शर्माले भने, ‘मोबाइल व्यवसायीले पनि उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ। नेपाली ब्रान्डको मोबाइल फोन उत्पादन गर्ने व्यवसायी तयार हुनुपर्छ। अब व्यवसायीले आयात गरेर पनि बेच्ने र उत्पादनमा लगानी सुरु गर्नुपर्छ।’
उनले बैंक तथा वित्तीय संस्थाले पनि आयात मात्रै नभएर उत्पादनका उद्योगमा पनि लगानी गर्ने आवश्यक रहेको बताए।
अर्थमन्त्री शर्माले मोबाइलमा फोनको लागि मात्र नभएर विभिन्न सुविधा रहेको भन्दै त्यसलाई चलाउनका लागि क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए। मन्त्री शर्माले मोबाइल आवश्यकताको वस्तु भइसकेकाले यसलाई सरकारले कुनै किसिमको हस्तक्षेप गर्न सक्ने अवस्था नभएको बताए।
उनले मोबाइल फोन बिलासिताको बस्तु भए सरकारले कडाइ गर्दैन भन्दै व्यवसायी ढुक्क हुुन आग्रह गरे। त्यस्तै, अर्थमन्त्री शर्माले आजको विश्व डिजिटल बनिसकेकाले नेपाललाई पनि सरकारले डिजिटल नेपाल बनाउने अभियानमा रहेको बताए।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले मोबाइल फोन बिलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए। उनले व्यावसायिक क्षेत्र मुलुुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले बैंक तथा वित्तीय क्षेत्रसँगसँगै सहकार्य र लगानी गर्ने तयार रहेको बताए। नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।