
काठमाडौं- हरेक वर्ष देशका विभिन्न विद्यालयहरुमा विधार्थीहरु सैनिकको जस्ता पोसाक लगाएर प्रशिक्षण गरिरहेका भेटिन्छन्। झट्ट हेर्दा उनीहरु आर्मी बन्न लागेका हुन् कि जस्तो लाग्छ। हुन पनि प्रशिक्षण दिनेहरु आर्मी नै हुन्छन्। तर ती विद्यार्थीहरुले आर्मी बन्न त्यसो गरेका होइनन्।
नेपाली सेनाको राष्ट्रिय सेवा दलले देशप्रति बफादार, इमान्दार बनाउन, राष्ट्रियता र राष्ट्रिय एकताको भावना बलियो बनाउन, नेतृत्व क्षमता विकास गर्न यसरी विद्यार्थीलाई प्रशिक्षण दिने गरेको छ। त्यसका लागि कक्षा ११ र १२ मा अध्ययनरतलाई सहभागी गराई सिनियर डिभिजन र कक्षा ८,९ र १० का विधार्थीलाई सहभागी गराई जुनियर डिभिजन सञ्चालन हुने गरेको छ।
नेपाली सेनाका अनुसार आर्थिक वर्ष ०७६/७७ सालसम्म जुनियर डिभिजनतर्फ ४३ हजार ८ सय ५७ र सिनियर डिभिजनतर्फ ७ हजार ४ सय ७५ सहित ५१ हजार ३ सय ३२ जनाले तालिम लिइसकेका छन्।
राष्ट्रिय सेवा दलले २०७५ सालयता वार्षिक ७७ सयलाई यो तालिम दिइरहेको छ।
दिर्घकालीन सोचअनुसार प्रतिजिल्ला एक सय ५० का दरले वार्षिक ११ हजार ५ सय ५० जनालाई, मध्यकालीन सोचअनुसार प्रत्येक स्थानीय तहमा ३६ जनाका दरले वार्षिक १५ हजार ५ सय जनालाई यो तालिम दिइने लक्ष्य राखिएको छ। दिर्घकालीन सोचअनुसार १९ हजार २ सय ५०, २३ हजार एक सय हुँदै तालिम लिनेको संख्या वार्षिक २७ हजार एक सय ८ सम्म पुर्याउने सेवा दलको तयारी छ।
विद्यार्थी तथा युवाहरुमा देश प्रेमको भावना अभिवृद्धि गर्न राष्ट्रिय कार्यक्रमकै रुपमा यो तालिम सञ्चालन हुने गरेको छ। तालिम सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। नेपालमा राष्ट्रिय सेवा दल २०२२ सालमा स्थापना भएकामा २०३० सालसम्म विद्यालय तहदेखि स्नातकत्तोरसम्म अध्ययन गर्ने वार्षिक २ सय देखि ५ सय जनालाई सिनियर डिभिजनका रुपमा यो तालिम दिइने गरिएको थियो। २०३१ सालदेखि २०७० सालसम्म माध्यमिक विद्यालयस्तरका वार्षिक ५ सय जना विद्यार्थीलाई मात्र जुनियर डिभिजनका रुपमा यो तालिम सञ्चालन भएको थियो।
२०७१ सालदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई सिनियर डिभिजन र ८, ९ र १० कक्षाका विधार्थीहरुलाई जुनियर डिभिजनका रुपमा वार्षिक २ हजारका लागि तालिम सञ्चालन भएको हो। त्यसपछि तालिम दिइने विद्यार्थीको संख्या बढाइएको हो।
के फाइदा हुन्छ तालिम लिनेलाई ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै एक प्रसंगमा आफूले पनि राष्ट्रिय सेवा दलबाट तालिम लिएको र कुनै समय आर्मी पनि सपना देखेको बताएका थिए। राष्ट्रिय सेवा दलबाट तालिम लिएकाहरु पछि कहाँ कहाँ पुगे र त्यसले उनिहरुको करियरमा के सहयोग गर्यो भन्ने तथ्यांक र समिक्षा सेवा दलसँग छैन।
‘यो तालिम कुनै जागिर खाने प्रयोजनका लागि नभएकाले विगतमा त्यसरी समीक्षा भएको देखिँदैन’, सेनाका एक अधिकारी भन्छन्। तालिममा सहभागी हुनेलाई एरोविक्स, तेक्वान्दो, आईकिडोजस्ता शारिरिक तालिम दिइन्छ भने ड्रिल, खुकुरी ड्रिल, हतियार तालिम र फायरिङजस्ता आधारभूत सैनिक तालिम उपलब्ध गराइन्छ।
यसैगरी विपद् व्यवस्थापनसहित घोडचढी, पौडी, रक क्लाइम्बिङ/रिभर क्रसिङजस्ता साहसिक तालिमहरु पनि उपलब्ध गराइन्छ। तालिमको सय दिनको अवधिमध्ये अन्तिम २१ दिन सेनाले आफ्नो शिक्षालयमै ल्याएर तालिम गराउँछ। यसरी तालिम लिएकाहरुलाई राष्ट्र निर्माण तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुर्याउन सक्ने स्वंय सेवक दस्ता निर्माण र राष्ट्रलाई संकट परेका बेला नेपाली सेनाको मातहतमा रहने गरी परिचालन गर्न सकिने सेनाको विश्वास छ।
तर ठोस रुपमा यसको कार्यान्वयन भएको देखिँदैन। हालसालै मात्र पूर्व छात्र/छात्रा संघ, नेपाल व्यवस्थापन निर्देशिका,२०७८ ल्याइएको छ। राष्ट्रिय सेवा दलबाट तालिम लिएकाहरुको राष्ट्रिय संघ गठन भएको छ। जिल्लागत आधारमा पनि जिल्ला कार्यसमिति गठन भएको छ। यसले तालिम लिएकाहरुको उपलब्धिबारे समीक्षा गर्न सजिलो हुने सेनाको विश्वास छ।
२०७१ साल पुस ९ गते बसेको राष्ट्रिय योजना आयोगको बैठकले ‘मुलुकले विभिन्न समयमा भोग्नुपर्ने प्रकोपका घटनाबाट जनधनको क्षति कम गर्ने उद्देश्यले प्रत्येक जिल्लामा न्यूनतम रुपमा पनि एक सय जना प्रकोप उद्धार कार्यमा संलग्न हुने स्वंय सेवक जनशक्ति तयार गरी राख्न उपयुक्त देखिएकाले सो अनुसारको काम नेपाली सेनाले आयोजना गर्ने राष्ट्रिय सेवा दलको तालिममा सो सम्बन्धी सिलेबस समावेश गर्न रक्षा तथा अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय’ गरेको थियो।
राष्ट्रिय सेवा दलको तालिमलाई चुस्त बनाउन ‘हाइयर डिभिजन’ तालिम सञ्चालन गर्ने पनि सेनाको तयारी छ। त्यसका लागि यसअघि तालिम लिइसकेकालाई समावेश गरेर विशिष्टकृत तालिम दिइने योजना सेनाको छ।
यस्ता तालिममा सहभागी हुनेलाई भविष्यमा विभिन्न सरकारी सेवामा हुने भर्ना प्रकृयामा ग्राह्यता दिइने, शैक्षिक छात्रवृत्तिको व्यवस्था, जीवनबिमाको व्यवस्था र राष्ट्रिय सेवा दलले सञ्चालन गर्ने तालिममा शिक्षकका रुपमा परिचालन गर्नेजस्ता नीति सरकारले लिए युवायुवतीहरुमा आकर्षण बढ्न सक्ने सेनाको बुझाइ छ।
राष्ट्रिय सेवा दलको तालिममा मधेशलाई प्राथमिकता
राष्ट्रियता र राष्ट्रिय एकतालाई सुदृढ तथा राष्ट्रप्रति बफादार बनाउन सञ्चालन हुने गरेको यो तालिमका लागि सेनाले प्रदेश-२ र लुम्बिनी प्रदेशलाई विशेष प्राथमिकतामा राखेको छ। भारतसँग सीमा जोडिएको यस प्रदेशका विद्यालयहरुलाई विशेष प्राथमिकता दिइएको सेनाले जनाएको छ।
राष्ट्रिय सुरक्षा नीति २०७५ मा राष्ट्रिय सेवा दलको सुदृढीकरण गरी स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कृत समाज निर्माणको अभियान सञ्चालन गर्ने नीतिगत व्यवस्था रहेको छ भने राष्ट्रिय सेवा दलको कार्य सबै प्रदेश तथा स्थानीय तहसम्म विस्तार तथा प्रवर्द्धन गर्ने कार्य योजना तयार गरी कार्यान्वयन गर्ने, पिछडिएको क्षेत्र समुदायका छात्रछात्राहरुलाई राष्ट्रिय सेवा दलमा आबद्ध गराई राष्ट्रिय एकता सुदृढ बनाउने उल्लेख छ। यसरी तालिम लिएकालाई जगेडा बलका रुपमा राख्ने नीतिगत व्यवस्था छ।