
बुटवल – नेपाली कांग्रेसको लुम्बिनी प्रदेश नेतृत्वका लागि रूपन्देहीका भरतकुमार शाह र रोल्पाका अमरसिंह पुनले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।
शाह पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् भने पुन रामचन्द्र पौडेल पक्षका हुन्। शाहको प्यानलबाट उपसभापतिमा कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिएका छन्। पुनको प्यानलबाट उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकको उम्मेदवारी परेको छ।
शाहको प्यानलबाट महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी दर्ता गरेका छन्। पुनको प्यानलबाट महामन्त्रीमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य तथा सह–महामन्त्रीमा प्युठानकी निमा गिरी, अर्घाखाँचीका विष्णु खनाल (मुस्कान) र दाङका खगराज पाण्डेयले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, सह–महामन्त्रीमा रूपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाहले उम्मेदवारी दिएका छन्।
पूर्वराज्यमन्त्री समेत रहेका शाहलाई पार्टीभित्र बलियो उम्मेदवारको रूपमा हेरिए पनि जिल्ला तहमा सम्पन्न निर्वाचन र महाधिवेशन प्रतिनिधिको आधारमा पौडेल समूहको वर्चश्व देखिएको छ।
लुम्बिनी प्रदेशका निर्वाचन सम्पन्न भएका ११ जिल्लाका सभापतिमध्ये ९ वटा पौडेल पक्षले जितेको छ भने २ वटा मात्रै देउवापक्षले जितेको छ।
पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, कपिलवस्तु, रोल्पा, रुकुम पूर्व, नवलपरासी पश्चिम र दाङमा पौडेल पक्षले सभापति जित्दा रुपन्देही र बर्दियामा मात्रै देउवा पक्षले सभापति जितेको छ।
तुलनात्मक हिसाबले पौडेल पक्ष बलियो देखिए पनि धेरै मतदाता रहेको रुपन्देही र बाँकेका मतदाताको मत निर्णायक हुने आकलन कांग्रेस नेताहरूको छ।
सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका शाहलाई लुम्बिनी प्रदेशको सभापति बनाउनुपर्ने दबाब देउवा पक्षमाथि छ।
शाहले लुम्बिनी प्रदेश सभापति सर्वसम्मत नपाएमा वा चुनाव हारेमा उनले केन्द्रीय समितिमा दाबी गर्ने भएकाले देउवाका विश्वास पात्र मानिने बालकृष्ण खाँण शाहलाई जिताउन लागिपरेका छन्।
देउवा पक्ष शाहलाई जसरी पनि लुम्बिनीमै राख्ने र त्यससँगै महामन्त्रीका लागि आफू सुरक्षित हुने योजनामा छन् खाँण। आफ्नो प्रदेश भएकाले पनि खाँणमाथि आफ्नो विश्वासिलो पात्रलाई नेतृत्वमा ल्याउनुपर्ने दबाब छ।
कोइराला परिवारको निकट रहेका रोल्पाका पुन पौडेल, कोइराला र सिटौला पक्षलाई एकसाथ लिएर अघि बढ्ने प्रयत्नमा छन्। पार्टी सिद्धान्त र आदर्शमा प्रतिबद्ध देखिने पुनलाई सहरकेन्द्रित नेता–कार्यकर्ताको विश्वास जित्नुपर्ने चुनौती छ। बढी मत सहरी क्षेत्रमा रहेको र देउवा पक्षका खाँणले नै प्रतिस्पर्धी शाहलाई सँगै लिएर हिँडेकाले पनि उनीमाथि दुई खालका चुनौती छन्। पुनको पक्षमा कांग्रेस नेता दीपक गिरी, चन्द्र भण्डारीलगायतले माहोल बनाइरहेका छन्।
प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५ सय ८५ जनाले प्रादेशिक अधिवेशनमा मतदान गर्नेछन्। एक लाख ३१ हजार १ सय ७१ क्रियाशील सदस्य रहेको लुम्बिनी प्रदेशको अधिवेशनमा ३ हजारभन्दा बढी प्रतिनिधिमूलक सहभागिता रहेको कांग्रेसले जनाएको छ।