
पृष्ठभूमिः
सन् १९१५ मा ४५ वर्षको उमेरमा भारतमा पुनः छिरेपछि मृत्युपर्यन्त बहुलवाद (Pluralism) र अहिंसा (Non-Violence) का पुजारी महात्मा गान्धीलाई वामपक्षीय क्रान्तिकारीहरुदेखि दक्षिण पक्षीय वौद्धिक जमात एवं मध्यमार्गी उदारवादीहरु प्रायजसो मुद्दामा कुनै न कुनै आक्षेपहरु लगाइराख्थे। जब गान्धीले १९२० को भारतीय कांग्रेसको कलकत्ता अधिवेशनमा प्रस्तुत गरेको असहयोग सम्बन्धी प्रस्तावलाई मोतीलाल र जवाहरलाल नेहरुले समर्थन गरेका थिए भने मोहम्मद जिन्नाहा, मदनमोहन मालभियालगायतका कैयन पुराना कांग्रेसी नेताहरु समर्थनमा थिएनन्। भारतीय स्वतन्त्रताको आन्दोलनमा गान्धीमात्रै एउटा यस्तो व्यक्तित्व थियो जसले स्वयं लेख्दथे, बोल्दथे र सधैं घुमिरहन्थे अनि सत्याग्रहका विविध आयामहरु अवलम्वन गर्दै समाजलाई सत्य बाटो देखाउन कुनै अवसर बाँकी राख्दैनथे । सन् १९२० देखि आजको करिब एक सय वर्षमा भारतीय कांग्रेसको उचाइ र अहिलेको रसातलबाट नेपाली कांग्रेसले सिक्नुपर्ने धेरै थियो र छ।
वि.सं. २००६ चैत्र २७ गते कलकत्तास्थित महावीर शम्शेरको टाइगर सिनेमा घरमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसको संयुक्त अधिवेशनबाट पारित नेपाली कांग्रेसमा मातृकाप्रसाद कोइराला सभापति, महेन्द्रविक्रम शाह महामन्त्री, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, दयाशंकर मुन्सी, सुवर्ण शम्शेर, सूर्यप्रसाद उपाध्याय, महावीर शम्शेर र कुँवर भल्लु सिंहको कार्यसमिति र चारतारे झण्डा (वाक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र व्यक्तिगत् सुरक्षा र स्वतन्त्रता) को प्रतीक स्थापित गर्यो। आजसम्म त्यही चार स्वतन्त्रताको निम्ति विगत ७० वर्षमा हजारौं व्यक्तिहरु शहादत भए, कैयौँ लाख परिवारको कम्तिमा दुई पुस्ताले विना स्वार्थ नेपाली कांग्रेसको निम्ति तन, मन र धनले समर्पण गरेको तर पनि आज देशमा किन ती ४ वटै स्वतन्त्रताहरुको दयनीय अवस्थाबाट गुज्रिरहेको छ? आज कांग्रेस मात्रै नभएर समग्र राजनीतिक संस्थाहरु सकंटग्रस्त छन् किनकि देशमा संस्थाभन्दा व्यक्ति शक्तिशाली बन्ने होडबाजी देखिन्छ।
जनताको निम्ति राजनीति गर्ने प्रजातान्त्रिक दलले जनताका आवश्यकता र आकांक्षालाई भन्दा नेताविशेषको चाहनालाई प्राथमिकता दिंदा भारतीय कांग्रेस सन् ७० को दशकमा पतन हुन पुग्यो, भलै इन्दिरा गान्धी र राजीव गान्धीको हत्यापछि सहानुभूतिको भोटले त्यो दललाई थोरै जीवन्तता दियो । सम्भवतः सन् १९९१ मा यदि भारतीय कांगेस्रले आफूलाई बजारतन्त्रको ढोका नखोलेको भए आज त्यो दल र देशको स्थिति के हुने थियो र अहिले के छ?
हिन्दुस्तानमा भारतीय कांग्रेसले आफ्नो दलमा नेतृत्व विकासको निम्ति अत्यन्त सानो चित्त राख्दा यति विघ्न साना दलहरु उम्रे कि आज समस्त भारतीय राजनीति क्षेत्रीयतावादमा अड्किएको छ। त्यो आफैँ कति टिकाउ होला, प्रश्न आफ्नै ठाउँमा छ तर भारतीय कांग्रेसको जुन नेतृत्वको यथास्थिति मनोवृत्ति (Status of quo/inertia) थियो, ठीक त्यही पारा नेपाली कांग्रेको नेतृत्वले २०४७ पछि अपनाउन पुग्यो ।
त्यसो त २०१५ सालको १८ महिनाको सरकारबाहेक २०४६/४७ सालपछि अहिले सम्ममा कम्तिमा १० पटक र चार जनाको प्रधानमन्त्रित्व र ३०० भन्दा बढी मन्त्रीहरुको धनी कांग्रेसमा चार ताराको आदर्श र तिनवटा सैद्धान्तिक आधारहरु (प्रजातन्त्र, समाजवाद, र राष्ट्रियता) खोपामा राखिने कुलदेवताजस्ता भएका छन्। २०४७ सालपछि नेपाली कांग्रेसले मूलभूत रुपमा गर्नुपर्ने तर गर्न नसकेको/नचाहेको/नजानेको पक्ष हो– २०४७ को प्रजातान्त्रिक उपलब्धि, मूल्य, मान्यता र आदर्शहरुलाई न त आफ्नै दलभित्र संस्थागत् (Institutionlize) गर्न सक्यो, न त सार्वजनिक राजनीतिक संस्थाहरुमा संस्थागत गर्न सक्यो । बरु एकपछि अर्को राजनीतिक संस्थागत विकृति र व्यक्ति सर्वेसर्वा हुने प्रवृत्तिहरु स्थापित हुँदै गयो । त्यसका निम्ति यो र त्यो भनेर अरुलाई दोष दिएर आफू स्वयं चाहिँ चोखो ठान्ने मनोवृत्ति झन् मौलायो र अहिले आएर नीतिगत् संवादभन्दा व्यक्तिगत् लाभका निम्ति कांग्रेसका आदर्श र सिद्धान्तहरु लिलाम बढाबढको स्थितिमा पुगेको परिस्थिति छ ।
वि.सं. २०४७ सालपछि नेपाली जनताले कांग्रेसबाट आफ्नो विगतको प्रजातान्त्रिक समाजबादकाआदर्श र सिद्धान्त अनुसार अधिकतम जनताको आधारभूत आवश्यकताहरुमा गुणात्मक परिवर्तनको अपेक्षा राखेको थियो । सम्भवतः उदारीकरणको शुरुको भल शहरी क्षेत्रहरुमा राम्रैसँग बग्यो, तर अधिकांश ग्रामीण क्षेत्रहरु खाद्यान्न सुरक्षा, स्वास्थ्य र शिक्षाजस्ता न्यूनतम आवश्यकताहरुकाबारेमा त्यतिखेरका मन्त्रीहरु पनि भाषण र शासनमा नै रमाउन पुगे। उदाहरणका निम्ति स्थानीय विकास सम्बन्धि ऐन ल्याउन देशले १० वर्ष कुर्नुपर्यो, जबकि २०४७ को संविधान संस्थागत गर्न भन्दा पहिले नै २०५२ बाट माओवादी आतंककारी जनयुद्धको निशानामा कांग्रेस थियो। उता सन् ९० को दशकमा नेपालीको आर्थिक उन्नतिमा उल्लेखनीय प्रगति हुँदै थियो, संभवतः उदारीकरण/बजारीकरणको ढोका भारत सँगसँगै नेपालमा खुल्यो, तर त्यो उदारीकरणको रफ्तारले नेपालको समसामयिक अर्थ–राजनीतिक एवं सामाजिक संरचना र सार्वजनिक संस्थाहरु माथि पार्न प्रभावहरुका बारेमा मनग्य विश्लेषण थियो/थिएन थाहा हुने कुरा भएन । यद्यपि, उदारीकरणको गति र नेपालको आन्तरिक बजार व्यबस्थाको स्थिति एवं प्रजातान्त्रिक समाजवादका बारेमा अलि गहन अध्ययन र संवाद भएको भए शायद अहिले परिस्थिति अर्कै हुने थियो होला।
वि.सं. २०५१ देखि कांग्रेसभित्र आफैँमा संस्थागत् विग्रहको अभ्यास शुरु हुन थाल्यो किनकि खेलको नियम मिच्दै व्यक्ति सर्वेसर्वा बन्ने प्रथा स्थापित भयो भने फेरि २०५२ बाट माओवादीहरुले देशमा कथित जनयुद्ध एबं आतंकको विजारोपण गरे । सत्तामा भएर पनि त्यतिखेर कांग्रेस अत्यन्त नाजुक स्थितिबाट गुज्रिरहेको थियो, किनभने कांग्रेसमा एकातिर आन्तरिक विग्रह र कलह मौलाउँदै गएको थियो भने बाह्य तवरमा माओवादीहरुको पहिलो शिकार नेपाली कांग्रेस नै थियो । हुन त माओवादीसँग वार्ताहरु हुँदै थिए, सम्भवतः त्यतिखेर दरबार र अन्य दलहरुसँग पनि आत्मीय छलफलहरु हुन सक्यो सकेन इतिहासमा नै छोडौँ, तर त्यसको एउटा छनक पनि सार्वजनिक भएन। उदाहरणको निम्ति २०४७ को संविधानमा केकस्तो सुधार गर्न सकिन्थ्यो, त्यसका बारेमा संवाद हुन सकेन।
त्यसैबीच २०५२ देखि शुरु गरिएको अनिष्ट २०५८ मा राजा वीरेन्द्रको वंशनाश समेत हुन पुग्यो। सरकारको नेतृत्व कांग्रेसको थियो, परन्तु राजदरवार त्यो रहस्यमय हत्याकाण्डको समेत वैज्ञानिक अनुसन्धान नभएपछि विज्ञान र प्रविधिको ज्ञान प्रयोग गर्न चुकेको हो कांग्रेसको नेतृत्व।
बिगत् २५ बर्ष यता नेपाली कांग्रेसको नेतृत्वले गरेका केही ऐतिहासिक भूलहरु छन् र त्यसबाट अहिले एवं भविष्यको पदाधिकारीले सँधै मनमा राख्नुपर्ने केही तीतो यथार्थहरु यस्ता छन्।
(क) राष्ट्रियताका बारेमा भएका केही अराष्ट्रिय पक्षहरुको सन्दर्भमा नेपाली कांग्रेस नेतृत्व/पदाधिकारीहरु मौन बस्न सुहाउँदैन ।
(१) नेपाली कांग्रेसको सरकारले पुस २७ को पृथ्वीजयन्तीलाई पूर्णतया: अवमूल्यन गररे राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानलाई तिरस्कार एवं दानवीयकरण गर्दै पुस १६ को देवत्वकरण गर्नुको कुनै अर्थ छैन किन भने पुस २७ लाई निषेध गरेर पुस १६ को औचित्य कसरी स्थापित हुन्छ?
(२) २०६१ सालमा माअोवादी सँगको दिल्लीमा भएको १२ बुँदे सम्झौता नेपालकै भूमिमा हुन नसक्नु दुःखद घटना हो र त्यसपछि १२ बुँदेमा नभएका विषयवस्तु, अनि २०६२/०६३ को जनआन्दोलनमा समेत नउठेका विषयवस्तुहरुलाई रातारात संविधानमा मिसाएपछि अर्थको अनर्थ लाग्ने नै हुन्छ । त्यसले इंगित गरेको अन्य पाटो भनेको नेपाली कांग्रेसको नेतृत्व पंक्तिमा देशकाबारेमा निर्णय गर्ने परिपाटी/तरिका गलत छ ।
(३) २०७२ असोज १ गने संविधान जारी गर्ने उपयुक्त दिन थियो वा थिएन, किनभने तराईमा रगत बग्दै थियो, त्यसकाबारेमा कांग्रेसभित्र के कति छलफल भयो, त्यसको विवरण सार्वजनिक छैन । तर संविधान घोषणा भए लगतै भारतले शुरु गरेको अघोषित आर्थिक नाकावन्दीलाई नेपाली कांग्रेसको सरकार एवं केन्द्रीय समितिले त्यो नाकावन्दीको कूटनीतिक प्रतिवाद गरेको सन्देश नेपाली जनताले प्रत्यक्ष थाहा पाएनन्।
(४) त्यसरी नै नागरिकताका बारेमा कांग्रेसको सरकारले एकदमै हल्का नीतिहरु लिई वडा वडाहरुमा गएर नागरिकताको पसल समेत खोल्न पुग्यो, जुन अत्यन्त गलत तरिका थियो । अर्थात् नागरिकता लगायतका विभिन्न राष्ट्रिय सवालहरुमा कांग्रेसको आफ्नो नीतिगत् अनुसन्धान र तथ्यगत् विश्लेषण गर्ने संस्था/संयन्त्रको कमी हिजो पनिथियो र आज पनि झन् बढ्दै गएको छ ।
(ख) प्रजातन्त्रका बारेमा कांग्रेसको भनाइ र गराइमा १८० डिग्री कोणीय फरक देखिन्छ । एकातिर प्रतिपक्षमा रहेर देशमालोकतान्त्रिकमूल्य र मान्यताहरुलाई कसरी संस्थागतगर्दै जनतामापुग्ने भन्ने चुनौति छ भने अर्कातिर नेपालीकांग्रेस स्वयं लोकतान्त्रिक संस्कारबाट विमुख हुँदै गएकोमा आम नागरिकहरु चिन्तित देखिन्छन्। किनभने लोकतन्त्र/प्रजातन्त्रलाई संस्थागत् गर्नका खातिर देशमा बन्ने हरेक नीति, योजना, ऐन, नियम र कार्यक्रमहरु पारदर्शी एवं सहभागितामूलक प्रक्रियाहरु अवलम्बन हुनुपर्ने हुन्छ। तर वर्तमान परिदृश्य त्यस्तो देखिँदैन किनभने सत्तापक्षले जसरी अपारदर्शी ढंगबाट ऐन कानून बनाउँदैछ, त्यस्ता हरकतहरुको पर्दाफास हुनुपर्दछ। संसदमा भनाभन एउटा दर्शकीय पक्ष होला तर मुलुकमा निर्माण भइराखेका यावत संस्थागत् प्रयत्नहरु जस्तै कानून, ऐन, योजनाएवं नीतिका बारेमा जनतालाई सूसुचित र सहभागी गर्न गराउेन जिम्मेवारीबाट पन्छिएपछि कांग्रेसको जनतासँगको “सामाजिक दुरी”मात्रै नभएर “राजनीतिक दुरी” बढदै गएको छ । जब नेकपा प्रधानमन्त्रीले व्यबस्थापिका संसदको अधिवेशन रातारात बन्द गरे तब संसदको संवैधानिक महत्वमाथि प्रधानमन्त्रीको ठाडो हस्तक्षेपलाई नेकाले एउटा बक्तव्य निकाल्ने भन्दा बढी प्रतिवाद गर्न चाहेन, किन?
त्यसको अलावा, कांग्रेस स्वयंले प्रजातान्त्रिक संस्कार मूल्यमान्यतालाई आफ्नो दलभित्र खुल्ला हृदयले आत्मसात गर्न सकेको/चाहेको छैन । २०४६/०४७ अगाडिको मनोवृत्ति र प्रवृत्तिले नेपाली कांग्रेसले अहिलेको नयाँ पुस्ता जो २०४६/०४७ पछि जन्मेका छन् तिनीहरुको भावना र आकांक्षा समेट्न सक्दैन । एउटा जनतामाआधारित दल (Mass based party) भएपछि आमनागरिक प्रति उदासीन अथवा जवाफदेही हुन सकेन भने Mass based party को अर्थ राख्दैन । तसर्थ नेपाली कांग्रेसको केन्द्रदेखि स्थानीय समितिहरु जनताप्रति उत्तरदायी हुनुपर्ने हुन्छ न कि केन्द्रीय सभापतिप्रति। जनताप्रति जवाफदेही नहुँदा जनतासँगको सम्बन्ध टुट्दै गएर दल र जनताको विचमा ठूलो खाडल सिर्जना भइराखेको छ। प्रजातन्त्रलाई आदर्श र सिद्धान्त ठान्ने दलले जनतालाई शासन गर्न भोट मात्रै माग्न नभएर जनतालाई संविधान निसृत् हकअधिकार र कर्तव्यबोध गराउन कांग्रेसले आफ्नो जवाफदेही र उत्तरदायित्वको आधार जनता भनेर स्वीकार्नुपर्दछ।
(ग) नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद दुश्चक्रमा फसेको छ किनभने सन् १९९१ देखिको बजार उदारीकरणले नयाँ संभावनाको ढोकाहरु त खोलेको थियो, तर हठात आएको बजारीकरणको भलले शिक्षा र स्वास्थ्य क्षेत्र आमजनताको क्रयशक्तिभन्दा टाढा पुगिसकेको देखिन्छ भने ग्रामीण अर्थतन्त्रको मूलभूत संरचना नै करीब करीब ध्वस्त भैसकेको स्थिति छ । खाद्यान्न असुरक्षा र अभाव सन् १९७० दशकमा थियो जतिखेर कृषिको उत्पादकत्वभन्दा जनसंख्या वृद्धि बढी थियो, तर अहिले खाद्यान्नमात्र नभएर समुच्च खेती प्रणाली नै धराशयी भइसकेको प्रमाण कर्णाली प्रस्टै देखिन्छ । प्रजातान्त्रिक समाजवादीदलले जनताका न्यूनतम आधारभूत आवश्यकताई गौण राखेपछि विश्वव्यापीकरणको भूमरी नेपालको समाजवाद भाषण गर्ने विषयवस्तु मात्र बनेको छ ।
अब जिल्लैपिच्छे बिपी कोइरालाको शालिक वा प्रतिमाहरु खडा गरेर न त कांग्रेसको समाजवादी व्यवस्था आउँछ न त विपीप्रति नै आदर। तर पनि केही कांग्रेसको प्रतिमाप्रति मोहलाई चित्त बुझाउने हो भने २००७ सालदेखिका कैयन होनहार व्यक्तिहरु पनि प्रतिमा योग्य छन्, तर त्यसको लेखाजोखा समेत गर्न खोजिएन । के सुवर्ण शम्शेर, सुन्दर राज चालिसे, महेन्द्र नारायण निधि, भीमबहादुर तामाङ, दिबागसिंह राई जस्ता व्यक्तित्वहरु शालिकयोग्य थिएनन् वा छैनन् र?
अब जिल्लैपिच्छे बिपी कोइरालाको शालिक वा प्रतिमाहरु खडा गरेर न त कांग्रेसको समाजवादी व्यवस्था आउँछ न त विपीप्रति नै आदर। तर पनि केही कांग्रेसको प्रतिमाप्रति मोहलाई चित्त बुझाउने हो भने २००७ सालदेखिका कैयन होनहार व्यक्तिहरु पनि प्रतिमा योग्य छन्, तर त्यसको लेखाजोखा समेत गर्न खोजिएन । के सुवर्ण शम्शेर, सुन्दर राज चालिसे, महेन्द्र नारायण निधि, भीमबहादुर तामाङ, दिबागसिंह राई जस्ता व्यक्तित्वहरु शालिकयोग्य थिएनन् वा छैनन् र?
त्यसको अलावा, कांग्रेसको नेतृत्वले संविधानको प्रस्तावनामा अमूर्त समाजवाद टाँसेर नेपाललाई उत्तर कोरिया अथवा क्यूवाको जस्तो समाजवादी मुलुकउन्मुखको हाराहारीमा पुर्याएकामा कुनै अपसोच मानेको देखिदैन । त्यसो त उत्तर कोरियाको संविधानमा मानवीय नैसर्गिक अधिकारहरु पूर्ण भएको लेखिएको संविधानविद्हरु भन्दछन्। संविधानमा समाजवाद लेख्दैमा समाजवादी देश नहुने तर्क होला तर प्रश्न, कांग्रेसले आफ्नो परिचय गुमाएकोमा हो । त्यसको अर्को पाटो भने कम्युनिष्टको अभिष्ट सबिधानमा ज्यूँदो रहने तर कांग्रेसले आफ्नो मौलिक पहिचानमा लत्तो छोडेको ठहर्छ । अन्यथा २१ औं शताब्दीको निम्ति नेपाली कांग्रेसले आफ्नो आर्थिक सिद्धान्त पुनर्लेखन गर्नु जरुरी छ किनकि उद्यमशीलताविनाको समाजबाद विपीले कल्पना गरेका थिएनन् भने अहिलेको कांग्रेस मार्केट क्यापिटल, क्रोनी क्यापिटल र स्टेट क्यापिटलमा रुमलिएको देखिन्छ ।
संस्थागत् बिग्रहः
२०४६/४७ देखि यता नेपाली कांग्रेस सत्तामा होस् अथवा सत्ताबाहिर, त्यसको नेतृत्वले लिएको नीति र व्यवहारहरुलाई समष्टिगत ढंगले केलाउँदा कांग्रेसभित्र अहिले प्रमुख तिनवटा विकृति र विग्रहले डढेलो लागेको छ । जसले गर्दा आज कांग्रेसको चार ताराको आदर्श, तीनखम्बे सिद्धान्त अनि २०६२/६३ साल वा सोभन्दा अगाडि देखिका हजारौं/लाखौं परिवारहरुको विना स्वार्थको योगदान के का लागि प्रश्न सोधिन थालेको छ? अहिलेका वा भविष्यका कांग्रेसका नेताहरु एवं कार्यकर्ताहरुले बिर्सन नहुने इतिहास के पनि छ भने त्यो दललाई २००६ साल देखि जीवन्त राख्नेहरुको योगदानलाई एउटा/दुईटा नेता विशेषको शालिक/प्रतिमाले समेट्न सक्दैन । तसर्थ स्थानीयदेखि केन्द्र सम्मका यावत अंशियारहरुले सोच्नुपर्ने केही तिता यथार्थहरु निम्न छन्।
(क) कांग्रेसको परिचय/पहिचान के हो?
२०४६/४७ पछि जन्मेको व्यक्तिले कांग्रेसका चार ताराको आदर्श र तिनवटा सैद्धान्तिक आधारहरुलाई कसरी चिन्दछ ? तिनीहरुले वस्तुगत् ढंगबाट कांग्रेस र नेपालका कम्युनिष्टहरुसँगको तात्विक अन्तर खोज्दै जाँदा के कति नीति र सिद्धान्तगत फरक देख्दछन् ? २०४६/४७ भन्दा अगाडिको इतिहासको ब्याजले नेपाली कांग्रेसलाई कतिसम्म दिगो राख्दछ? विगत २५ वर्ष नेपाली कांग्रेसले आफ्नो सिद्धान्त र आदर्शलाई भाषणको विषयवस्तु मात्रै बनायो तर आम नागरिकबाट तिनीहरुको सदासयता (Heart & mind) दुवै गुमाउन थाल्यो, किन? उदाहरण हेर्नुस्, एउटा २५, ३० बर्षे युवक जसले भर्खर आफ्नो पढाइ सक्यो त्यसले नेपालको संविधानमा लेखिएको “समाजवादउन्मुख”शब्द देखेपछि कांग्रेसलाई सम्झिन्छ कि कम्युनिष्टलाई? इमान्दारीपूर्वक सोच्नुस् त नयाँ पुस्तामा कांग्रेसको पहिचान कसरी स्थापित भइराखेको छ।
(ख) जनतासँग प्रत्यक्ष संवादको अभाब : नेपाली कांग्रेसको माथिल्लो नेतृत्व (केन्द्रीय सदस्य र सांसद) को कार्यक्षेत्र (Scope of work) २०४६/४७ पछि झन् झन् खुम्चिँदै खुम्चिँदै गएको छ किनभने त्यो समूहले कांग्रेसलाई जनतासँग बढी भन्दा बढी अन्तक्रियाहरु गर्नुपर्ने हुन्थ्यो र छ, तर त्यसो भइराखेको छैन । उदाहरणको निम्ति प्रतिपक्षमा रहेको कांग्रेसको जतिखेर सरकारले संसदमा पेश गरेका सम्पूर्ण विधेयकहरुका बारेमा दलभित्र र बाहिरका बौद्धिक जमातसँग सम्वाद गर्नुपर्ने थियो । त्यसरी नै कांग्रेसका आफ्ना भावी रणनीतिका बारेमा ‘सडक छाप आन्दोलन’ का धम्कीभन्दा अगावै यावत् सरोकारवालाहरु (दलभित्र र बाहिर) सँग अन्तक्रिया आवश्यक थियो तर भएन । जनतासँगको नियमित अन्तरक्रिया एवं संवाद, जुन औपचारिक ढंगबाट हुनुपर्दछ भन्ने छैन, ले तिनीहरुको कांग्रेसप्रतिको सोच, भावना र अपनत्वमा वृद्धि ल्याउन सक्दछ । तसर्थ कांग्रेसमा हरेक तह र पदाधिकारी एवं केन्द्रीय सदस्य र सांसदहरुको एक सूत्रीय संवाद कार्यक्रम (Open Dialogue) नियमित किन हुन सकेको छैन ?
(ग) नेतृत्व विकासमा खडेरी
२०४६/४७यता नेपालीकांग्रेसमा नयाँ नेतृत्वको अपेक्षाकृत विकास हुन सकेको छैन, र जे जतिभएको देखिन्छ त्यो पनि प्रतिष्पर्धा भन्दा पनि व्यक्तिगत गुट/उपगुटको आडमा अथवा छत्रछायाँमा हुर्केको देखिन्छ । त्यसो त नेपाली कांग्रेसको केन्द्रीय समिति/पदाधिकारीहरुमाआफूलाई केन्द्रमा राख्ने मनोवृत्ति, अनि गुटगत् जोड घटाउ गर्ने प्रवृत्ति स्थापित भैसकेको छ र त्यस्तो दुश्चक्र, गलत संस्कार र प्रवृत्तिले न त असल नेतृत्वको विकास गर्दछ, न त नयाँ नेतृत्वको आकर्षण नै । तसर्थ, कांग्रेसमा नेतृत्वको विकास किन भैराखेको छैन, हेरौं केही उदाहरणहरु :
(१) सक्रिय सदस्यता प्रथाको औचित्यः
२०४६/४७अर्थात् खुल्ला राजनीतिक परिवेश पछि यदि दलको नीतिनियमहरुलाई सही ढंगले पारदर्शी भएर व्यवस्थापन हुन दिएको भए सक्रिय सदस्यताको औचित्य खासै थिएन र छैन। अहिले सक्रिय सदस्यता केन्द्रीय पदाधिकारी र नेतृत्वलाई बढी चाहिएको छ न किआम कार्यकर्तालाई । यदि कांग्रेस (Mass-based party) जनतामा आधारित दल हो र खुल्ला राजनीतिक परिवेशमा देश अगाडि बढ्दै छ भने सक्रिय सदस्यताको औचित्य के छ ? अहिले कांग्रेसको सक्रिय सदस्यताको प्रावधानले वास्तवमा कांग्रेस संस्था स्वयं नै असुरक्षित भइराखेको छ किनभने कांग्रेसको सुरक्षा भनेको प्रजातान्त्रिक संस्कार, मूल्य र मान्यताले गर्दछ र ती अवयवहरु आम नागरिकले अनुभव र अनुभूति गर्न पाउनुपर्ने हुन्छ । तर जब कांग्रेसले आफूलाई आमनागरिकमा आश्रित राजनीतिक दल नबनाएर केही व्यक्ति विशेषको गिरोहमा विकसित गर्दै लगेपछि सक्रिय सदस्यता औचित्यता कांग्रेसको सुरक्षाको खातिर नभएर केही झुण्ड व्यक्तिहरुको पदीय सुरक्षाको लागि प्रयोग भइराखेको छ । तसर्थ कांग्रेसलाई जनस्तरमा नजिकभन्दा नजिक राख्न एवं पारदर्शी ढंगले नेतृत्व विकास गर्ने समान अवसरबाट बञ्चित नगरी जनतामा आश्रित खुला राजनीतिक दलको रुपमा स्थापित गर्न सदस्यता सम्पूर्ण जिम्मेवारी वडा कार्यालयमा दिँदै जिल्ला समितिहरुले प्रत्येक साधारण सदस्यको अभिलेख राख्नुपर्ने हुन्छ । एकातिर कांग्रेस आफूलाई प्रजातन्त्रको पर्याय ठान्दछ, भने अर्कातिर नेपाली कांग्रेसको केन्द्रीय सदस्य/समितिले आ–आफ्नो खल्तीबाट कथित सक्रिय सदस्यहरुको नामावली निकाल्दै आफ्नो पदीय सुरक्षाको चाँजोपाँजो मिलाउँछन्,अनि सामान्य प्रजातान्त्रिक अभ्यास सम्मगर्न नचाहने नेतृत्व वृत्तले कसरी आन्तरिक प्रजातन्त्रले भरिपूर्ण भएको दल भनेर भन्न सक्दछ । यदि एक जना सक्रिय सदस्यले ४ वटा भोट पनि ल्याउन सक्दैन भने त्यस्को औचित्य के हुन्छ ?
(२) केन्द्रीकृत संस्थाः
प्रजातन्त्रमा राजनीतिक दलका स्थानीय निकाय वा सरकारहरु “राजनीतिक प्रयोगशाला”हुन् र त्यस्को नेतृत्व त्यहीँदेखि नै खारिन्छ। अब कार्यकर्ता अटाउन र माथिको निर्देशन जारी गर्ने उद्देश्यछ भने त्यसमा खास केही भन्नु छैन । तर स्थानीय तह अर्थात जिल्ला समितिलाई यदि कांग्रेसले काम गर्ने अधिकार दिन चाहेन वा सकेन भने जनताबीच राजनीतिक दुरी झनझन् टाढा हुने निश्चित छ। तसर्थ जिल्ला समितिलाई सक्षम र निर्णायक संस्था बनाउन ढिला भइराखेको छ किनभने कुनै पनि संस्थामा अग्लो संरचना आत्मघाती हुनेछ । देश संघीयतामा रुपान्तर भए पनि राजनीतिक दल झन केन्द्रीकृत संस्थामा परिणत भएपछि जति अग्लो संरचना बनायो त्यतिकै अनुपातमा असक्षमता र प्रभावहीनता बढ्दै जानेछ।
(३) Kleptocracy (लूटतन्त्र):
अहिलेको नेपाललाई चरम संस्थागत् विकृति र भ्रष्ट्राचारले निल्दै छ । सरकारी अड्डा/मन्त्रालयदेखि अख्तियार, विद्यालय/महाविद्यालय/विश्वविद्यालय, प्रहरी, सेना र अदालतहरुमा Pre-paid र Post-Paid प्रणाली संस्थागत् विकृतिको रुपमा स्थापित छन्। अब भोलि सरकार/व्यक्ति परिवर्तन हुनेबित्तिकै सबै चीज/संस्थाहरु दुधले धोइदैन। तसर्थ कांग्रेसले मुलुकमा भैराखेको यस्ता संस्थागत विकृतिहरु (Institutional Distortion) सुधार्न भागबण्डाको राजनीतिको अन्त गर्द Meritocracy लाई निशर्त र्कायान्वयन किन नगर्ने?
(घ) नेपाली कांग्रेसले किन नीतिगत बहस गर्न चाहँदैन/सक्दैन?
नेपाली कांग्रेसले आधुिनक नेपालको राजनीतिलाई सँधै आफ्नो गुरुत्वमा राख्ने गरेकोमा, २०६२/०६३ पछि त्यो राजनीति गुरुत्व कांग्रेसबाट टाढिँदै गएका परिदृष्यहरु प्रशस्तै देखिन्छन्। एकथरी कांग्रेसलाई लाग्दो हो कि सरकारमा नभएको बेलामा केको नीतिगत छलफल, प्रतिक्रिया दिए भइहाल्छ भने अर्काथरी ठान्दछन जब सरकारमा पुगिन्छ तब सब ठिक भैहाल्दछ। वास्तवमा ती दुवै सोचहरु यथास्थिति मनोवृत्ति अथवा नीतिगत दरिद्रताको स्थिति हो। राष्ट्रिय विषयवस्तु एवं अन्तराष्ट्रिय सवालकाबारेमा नेकालाई कसरी सहयोग पु–याउने भनेर अहिले विज्ञहरु चिन्तित छन्। नेकाको नेतृत्वले त्यस्तो अपार स्रोतलाई पूर्णतया बाहिर राखेर अथवा तिनीहरुको ज्ञान र प्रविधिलाई नेकाले देशका हरेक सवाल/मुद्दाहरुमा प्रयोग गर्न खोज्यो भने कांग्रेसमा नीतिगत अस्पष्टता/तदर्थवाद हट्ने मात्र नभएर आमनागरिकले समेत विश्वास गर्न सक्ने वातावरण बन्ने थियो। चाहे नागरिकता होस् अथवा संघीयता, जलस्रोत वा हरित गृहीय प्रभाव, नेकालाई सहयोग गर्न चाहने विज्ञहरु देशविदेशभरि छरिएका छन् तर त्यसलाई कसरी भित्राउने भन्ने सोच नेकाको नेतृत्ववर्गको हो । उदाहरणको निम्ति केन्द्रीय पदाधिकारीको नेतृत्वमा यसलाई नियमित गर्न नसकिने होइन।
हिजो २०४५/४६ भन्दा अगाडि नेकाको स्थिति प्रतिक्रिया दिने भए पनि हरेक प्रतिक्रियाको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्व राख्दथ्यो, परन्तु अहिलेको प्रतिक्रियालाई आमनागरिकहरु सतही ठान्दछन्। किनभने त्यसमा नीतिगत गम्भीरता एवं वैकल्पिक सोचहरु हुँदैनन् । विरोधका लागि प्रतिक्रिया दिनु र नदिनुको परम्पराले खासै अर्थ राख्दैन । उदाहरणको निम्ति ओली सरकार सत्तामा आएपछि भएका कुकर्महरु जस्तै बुढीगण्डकी आयोजना चलखेल, मेलम्ची योजना, गुठी सम्बन्धी, प्रेस र शिक्षानीतिका बारेमा नेकाको प्रतिक्रिया भन्दापनि आम नागरिकहरुले नीतिगत गुह्यताको अपेक्षा राखेका थिए तर सामान्य छलफल समेत भएन। अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि उनलाई पुनः सभापतिको पद हासिल गर्न कांग्रेसभित्र प्रतिस्पर्धा भन्दा परिक्रमा, योग्यताभन्दा चाकडी, आर्कषक भन्दा विर्कषण, संवादभन्दा भजन, र जनताभन्दा दलालीहरुको वर्चश्व स्थापित गर्दैछन् ।
उपसंहार
भारतमा भारतीय कांग्रेसलाई महात्मा गान्धीले एक सय बर्ष अगाडि दिनुभएको ऊर्जा आज सकिएको जस्तो छ किनकि त्यहाँ गान्धीपछि जनतासँग संवाद भएन, पहिचान केहो पत्तो भएन र नयाँ नेतृत्वको उदय हुन पाएन । नेपाली कांग्रेसमा अझै पनि अलिअलि बाँकी ऊर्जाको पनि गलत प्रयोग भइराखेको छ। किनकि नेपाली कांग्रेसमा २०५१/०५२ देखि शुरु भएको संस्थागत् क्षयीकरण रोक्न पर्नेमा यो दलले उल्टै नेतृत्व विकासमा आधार (जनता) भन्दा पनि सिर्फ टुप्पो (माथि) को ध्यान दिनपुग्यो । अंग्रेजीमा एउटा उखान छ– तिमी दगुर्न सक्दछौ तर लुक्न सक्दैनौँ।
नेपालमा आमनागरिक वर्तमानको व्यक्तिगत् लाभहानिको राजनीतिक दुश्चक्रबाट उन्मुक्त प्रजातान्त्रिक मूल्य, मान्यता, संस्कार र अभ्यास संस्थागत भई स्वावलम्वी, उत्तरदायी र जिम्मेवारीपूर्ण नेतृत्वको विकास एंवम् आदर्श समाजका निम्ति नेपाली कांग्रेस विचार प्रधान एवं अनुशासित राजनीतिक संस्थाको रुपमा स्थापित होस् चाहन्छन्।
नेपाली कांग्रेसले देशको केन्द्रदेखि स्थानीय स्तरमा याबत राजनीतिक एवम् सार्वजनिक संस्थाहरु कसरी जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने हो? राज्य सत्तामा भागवण्डाले गर्दा “विधिलाई व्यक्तिहरुले विस्थापन” गरेपछि मुलुकमा चरम आर्थिक अराजकता एवं मानवीय र शासकीय क्षति भइरहेको हुनाले भागवण्डाको राजनीतिलाई विधिवत् ढंगले अन्त गर्ने हिम्मत कांग्रेसमा आवश्यक छ । राष्ट्रका सम्पूर्ण संस्था- संविधान, शासन, सत्ता, व्यबस्थाहरु स्वस्थ्य, दिगो, सक्षम, पारदर्शी र जनताप्रति जवाफदेही बनाउनको निम्ति नेपाली कांग्रेस स्वयं पनि स्वस्थ, प्रतिस्पर्धी, पारदर्शी, खुल्ला र अनुशासित राजनीतिक दलमा रुपान्तरण हुन त्यस्को स्पष्ट मार्गचित्र खिच्ने कोशिश गरोस् जसले गर्दा राष्ट्रमा कम्युनिष्टतन्त्र स्थापित नहोस्। अहिलेको कांग्रेस विगतका कमीकमजोरीबाट डराएर भाग्ने प्रयत्न गर्न खोज्यो भने झन् आत्मघाती हुनेछ ।
साभार : US- Nepal Policy Research Center