
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ जहाँ महिलामाथि भएका र हुने शारीरिक, मानसिक र सामाजिक पीडाबारे चर्चा गरिन्छ। विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले यसबारे विभिन्न नारा लगाएर, क्याम्पिएन चलाएर र कार्यक्रम गरेर यसलाई मनाउने गर्छन्।
यही १६ दिने अभियानलाई साथ दिन र अझ विशेष बनाउन मैले केही समयअघि मात्र बजारमा आएको सुजित मैनालीको पुस्तक सतीका साथ सुरु गरेँ।
सती भन्नेबित्तिकै लागेको थियो होला, ‘कुनै उपन्यास जहाँ नारी पात्रलाई केन्द्रमा राखेर एउटा पीडादायिक कथा बुनिएको छ।’
यस्तै सोच्दै मैले सतीका पाना पल्टाउन थालेँ। जति–जति पाना पल्टाउन थालेँ, मेरो उपन्यासवाला मानसिकता भत्किँदै गयो र मेरो अगाडि उपस्थित भयो एउटा नेपाली पुस्तकको नयाँरूप, नयाँपन जसले ममा पुस्तकलाई लिएर नयाँ ऊर्जा थपिदियो। मेरो पढ्ने जाँगरलाई दुई गुना बढाइदियो।
सती अर्थात् चोखो, चरित्रवान, पवित्र आदि–आदि। हाम्रो समाजले नारीमा सधैँ यही कुरा खोज्छ र यही कुरा हाम्रो मन–मस्तिष्कमा बसाइदिन्छ र नारी पनि सती हुन पाउँदा खुब गर्व गर्छन्।
सती प्रथा के हो? कस्तो हो? यसले महिलालाई कसरी र कतिसम्म शोषण गरेको छ? कुन–कुन समयकालखण्डमा यसले महिलालाई कसरी शोषण गर्यो? भन्ने कुराबाट सुरु भएर पुस्तक पहिलो अध्यायदेखि आठ अध्यायमा गएर सकिएको छ त्यसपछि केही किंवदन्ती अनुश्रुति र अभिलेखसाथ पुस्तक सकिएको छ।
महिलालाई तिमी महान् छौ, तिमीमा देवीको रूप छ। तिमीले आफ्नो श्रीमान्लाई सदासर्वदा प्रेम गरिराख्नुपर्छ। तिमी श्रीमान्को सम्पत्ति हौ। श्रीमान्को जीवनलीला समाप्त भएपछि तिमीले पनि आफूलाई उसको प्रेयसी सावित गर्नुपर्छ, त्यसैले तिमी तिम्रा श्रीमान्सँगै सती जानुपर्छ, उसको चितासँगै जल्नुपर्छ तब मात्र तिम्रो सत्यता प्रमाणित हुनेछजस्ता कुराले महिलाको मानसिकतालाई आफ्नो बसमा गरेर यो पुरुषवादी समाज, अझ म यसलाई पितृसत्ताको भोको समाज भन्न रुचाउँछु।
जसले महिलालाई विवश पारेर उनीहरूको हत्या गरेको छ। उनीहरूको रगत पिएर आफू प्रतिदिन जवान हुँदै गएको कुरा सतीको पहिलो अध्यायबाटै प्रष्ट हुन आउँछ।
सतीदेवीदेखि सीतासम्मको कुरा उठाएर लेखकले हामीसामु सतीप्रथाको विषयमा अझ उजागर गरेका छन्। मनुस्मृति कुरा जोडेर लेखकले महिलालाई प्रताडित गर्न हाम्रा स्मृति पनि कम छैनन् भन्ने कुरालाई हामीसामु प्रस्ट्याएका छ्न्। महाभारतको कुरा अलग छ।
सती प्रथा कहिलेदेखि सुरु भएको त्यो भन्न कठिन भए पनि यसको सुरुवात मुसलमानले गरेका हुन् र यो भारत हुँदै नेपालसम्म आइपुगेको र नेपालमा पनि यसको अभ्यास राम्रै भएको कुरा हामी पुस्तक अघि बढ्दै गर्दा थाहा पाउँछाैँ।
पुस्तक पढिसक्दा मेरो मनमा प्रश्नभन्दा पनि बढी उत्तर थिए। सायद यही लेखकको बलियो पक्ष हो।
हुन त कमजोर मान्छेका कथा लेखिँदैनन्। त्यो समयमा आममहिला कति सती गए कति यसका सिकार भए त्यो भन्न कठिन छ। तर, महिला हिंसा, महिलाको यौनजीवनमाथि नियन्त्रण, उसलाई मात्र यौनदासी सम्झिनु, सन्तान उत्पादन गर्ने फगत मेसिन सम्झिनु हिजोका दिनमा मात्र हैन आज पनि यो सोच राख्ने उच्च घरानियाँहरू राम्रै पाइन्छन्। बस हिजोका दिनमा महिला उनीहरूका पतिसँगै सती जान्थे र यी कुरा बाहिर कमै आउँथे आजका दिनमा यी कुरा छरपस्ट छन् तैपनि महिला बाध्य छन्।
सती प्रथा कहिलेदेखि सुरु भएको त्यो भन्न कठिन भए पनि मुसलमानको आक्रमणपछि यो अझ कडा हुँदै गएको र भारत हुँदै नेपालसम्म आइपुगेको अनि नेपालमा पनि यसको अभ्यास राम्रै भएको कुरा हामी पुस्तक अघि बढ्दै गर्दा थाहा पाउँछौँ।
सती प्रथाबारे पुस्तकले सकेजति खुराक पस्केको छ, पस्कने कोसिस गरेको छ।
महिलालाई हाम्रो समाजले सधैँ दोस्रो दर्जाकै रुपमा हेर्छ। महिलालाई सती पठाउनुको प्रमुख कारण नै सम्पत्तिमाथि महिलाले हक दाबी गर्न नपाउन् भन्ने थियो र यो आज पनि कतिपय कुरामा झल्किन आउँछ अनि राज घरानामा रानीहरू सत्ताको भागीदार बन्न नसकुन् भनेर जान्ने–बुझ्ने पुरुषले गरेको बठ्याइँ थियो तर जे थियो त्यो साह्रै क्रूर थियो। पाप थियो। र आजका दिनमा पनि हाम्रो समाजमा नारीको यही अवस्था छ। बस्, जलाउने र जल्ने तरिकामा परिवर्तन आएको छ।
समाज बदलिएको छैन, बदलिएजस्तो मात्र देखिन्छ। समाजको ठूलै हिस्सामा आज पनि महिलाको योनिमा इज्जत बसेको छ। आज पनि छोरीलाई कन्यादान गरिदिन पाउँदा बाबाआमा खुसी हुन्छन्। आज पनि महिनावारी हुँदा महिला स्वयंले आफू अपवित्र भएको महसुस गर्छन्। बोक्सीको आरोपमा कुटिनु होस्, बलात्कारको सिकार हुनु होस् वा तेजावबाट जलिनु किन नहोस् महिला जलेकै छन्। जलाइएकै छन्।
यी कुरा लेखकले पुस्तकमा राम्रोसँग पस्केका छन्। पुस्तक पढिसक्दा लेखनले यति धेरै कुरा लेखिरहँदा हामीले यो सोचलाई अन्त्य गर्न अझ कस्ता कदम चाल्नुपर्ने हो भन्नेबारे खुलाएको भए हुन्थ्यो भन्ने लागेको थियो, त्यो रहेनछ। तर, लेखकले कति कुरा हामी पाठक स्वयंलाई सोच्न लगाएको अनुमान गर्न सकिन्छ।
तैपनि, अझ कतै लाग्छ जति पनि कुरा पुस्तकको सुरुदेखि अन्त्यसम्म लेखिए ती सबै एउटा समयदेखि अर्को समयसम्मका ‘दास्तान’ थिए जुन आज पनि हाम्रो समाजमा अवशेष बनेर रहिरहेका छन्। सती प्रथादेखि महिलामाथि जमाइएका अनेकौं प्रभुत्व ती सबै पितृसत्ताका ज्वलन्त उदाहरण हुन्।
लेखेकले यसरी लेखिरहँदा यी कुरालाई पनि समेटेको भए पुस्तक अझ सुन्दर हुने थियो जुन अवशेष हाम्रो समाजमा छ। यसलाई चिन्तनतर्फ कसरी लिन सकिन्छ भन्ने कुराको छलफल पनि जरुरी छ कि जस्तो लाग्छ मलाई।
अन्ततः पुस्तकमा राम्रो अनुसन्धान भएको कुरा पुस्तक पढ्दापढ्दै थाहा हुन्छ। पुस्तकमा कति कुरा यस्ता छन् जसले बिना आगो मन, मुटु जलाइदिन्छन्। कति किंवदन्ती पढ्दा म आफै सिरिंग भएकी छु।
यस्ता कुरा पढिरहँदा लेखकको मिहिनेत नजर आउँछ र सबैभन्दा राम्रो कुरा यस्ता पुस्तक नेपाली बजारमा कमै लेखिन्छन् र यस्तो पुस्तक लेख्ने जमर्को सुजित मैनालीले गरेका छन् जुन आफैँमा सराहनीय छ।