
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता लागेको बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै कांग्रेसले औंला छाड्ला कि भनेर उनीहरूले सधैं सँगै जानुपर्छ भन्ने गरेको दाबीसमेत गरे।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा उनले सँगै जानुपर्छ भनेको सरकार मात्रै हो कि, देश बनाउन सँगै जाने भनेको हो? भनी प्रश्न गरेका थिए।
उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई सरकारको पनि नेता हुन शुभकामना दिए।
देउवा प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले कांग्रेसलाई अरुका नीतिका पछाडि नभई आफ्नो नीतिमा चलाउन सक्ने बनाउन पनि सो महाधिवेशन सफल हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘केही साना दललाई कांग्रेसले औंलो समाउन दिएन भने के होला भन्ने पीर छ। सधैं सुन्छु–सँगै जानुपर्छ, सँगै जानुपर्छ । सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि, देश बनाउन सँगै जाने हो ? देश बनाउन सँगै जाने कुरामा नेकपा एमाले कांग्रेसको साथमै छ। हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं। प्रतिपक्ष भनेको के संसद्को अंग होइन?हामी साथमा छैनौं ? लोकतन्त्रको सवालमा । हामी सँगै लडेका छैनौं लोकतन्त्रको सवालमा? त्यसकारण सरकारमा हट्नुपर्ला भन्ने कतिपयलाई चिन्ता होला। नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन। हामी राष्ट्र निर्माणको काममा एकजुट भएर अघि बढ्नुपर्छ। नेपाली कांग्रेस सबैलाई साथ लिएर अगाडि चलोस्, मेरो कुनै आपत्ति छैन। तर, नेपाली कांग्रेस अरुका नीतिका पछाडि होइन, आफ्ना नीतिमा चलोस्। आफ्ना नीतिमा अरूलाई हिँडाओस्। शेरबहादुरजी प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुहोस् भन्ने मेरो शुभकामना छ।’
एमाले अध्यक्ष ओलीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुकको समृद्धि र विकासका लागि आफ्नो पार्टी कांग्रेसलाई साथ दिन सदा तयार रहेको पनि बताए।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस्ता निराधार सिद्धान्तको कुरा नगर्न चेतावनी दिए।
अध्यक्ष ओलीले लिङदेनलाई भर्खर अध्यक्ष भएको रापतापमा नागरिकको स्वाभिमान नै छाडिदिने खालको, नागरिकबाट कोही नेता हुन सक्दैनन् भन्ने खालको अभिव्यक्ति आए पनि केही समयमै ठेगान लाग्ने दाबी गरे।
अध्यक्ष लिङदेनको सो भनाइप्रति व्यंग्य कस्दै अध्यक्ष ओलीले भर्खरभर्खर जन्मेको बाछो हिँड्न नजान्ने तर बढी कुद्ने गरेको बताए।
उनले भने, ‘एउटा आज पनि नेपालका नागरिकले नागरिक स्वाभिमान बिर्सने जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त, अचम्म लाग्छ, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मानेर कोही जन्मिँदै यस्तो शासक भएर जन्मिन्छ भन्ने यस्ता निराधार सिद्धान्त, संयुक्त राष्ट्रसंघको मान्यता भन्दा विपरीतका सिद्धान्त, खासगरी भन्ने हो भने नागरिक स्वाभिमानविपरीत सिद्धान्त, नागरिक स्वाभिमान नै छाडिदिने ? अनि नागरिकबाट कोही नेता हुन सक्दैन, हरेक नेता चोर हुन्छ यस्ता कुरा बोकेर हिँड्ने?’
अध्यक्ष ओलीले आफ्नो गौरवपूर्ण इतिहासलाई कायम राखेर अघि बढ्न पनि कांग्रेसलाई आग्रह गरे।