
बुटवल- शुक्रबार बिहान जिम गरेर निवास प्रवेश गरेका संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परे।
जिम गरेर कोठाभित्र छिरेका उनी खाना खाने समयसम्म बाहिर ननिस्किएपछि उनकै कार्यालयमा कार्यरत एकजना इन्सपेक्टर उनलाई बोलाउन कोठामा गएका थिए। ढोका ढक्ढक्याउँदा नखुलेपछि झ्यालबाट चियाएर हेर्दा उनी झुन्डिएको अवस्थामा थिए।
यादव मृत अवस्थामा कोठामै भेटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तराज कुँवरले बताएपनि उच्च प्रहरी अधिकारीको मृत्युबारे धेरैले शंका गरेका छन्।
सामाजिक सञ्जालमा उनको मृत्युबारे शंका व्यक्त गर्दै छानबिनको माग गरिरहेका विचारहरू देखिन्छन्।
प्रहरीले उनको मृत्युबारे अनुसन्धान थालेको बताइरहँदा उनीसँग जोडिएका विभिन्न पक्ष र घटनाक्रमहरू बाहिर आउन थालेका छन्।
नेपाल प्रहरीभित्र यसरी बहालवाला उच्च प्रहरी अधिकारीले आत्महत्या गरेको सम्भवतः पहिलो घटना भएपनि प्रहरीले घटनाबारेका विवरणहरू आधिकारिक रूपमा सार्वजनिक गरेको छैन।
एसएसपी यादव प्रहरी कार्यालयभित्रै निवासमा एक्लै बस्दै आएका थिए। उनकी श्रीमती रूपमकुमारी यादव काठमाडौंमा बस्दै आएकी थिइन्। शुक्रबार बिहान अर्थात् यादव मृत भेटिनुभन्दा करीब ७ घण्टाअघि उनकी श्रीमती यादवले फेसबुकमा लेखेको एउटा स्टाटस चर्चामा छ।
उनले लेखेकी थिइन्,- ‘भलै यो युग कलियुग हो तर आज पनि सत्यकै जित हुन्छ।’
उनले यो स्टाटसमार्फत के भन्न खोजेकी थिइन् भन्ने त खुलेको छैन, तर एसएसपी यादवको आत्महत्यासँग जोडिएको आँकलन प्रहरी अधिकारीहरू बताउँछन्।
एसएसपी यादव संगठनभित्र सफा छविका प्रहरी अधिकारीका रूपमा परिचित थिए। उनको ब्याचका अरू दुई प्रहरी अधिकारी बढुवा भएर एआइजी भईसक्दा उनी एसएसपी नै रहे।
२०४९ सालमा प्रहरी निरीक्षक पदबाट जागिरमा प्रवेश गरेका यादव हालका एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याचमेट हुन्। आफ्ना ब्याचका दुई सहकर्मी एआइजी भइसक्दा उनी डीआइजी पनि हुन सकेका थिएनन्। ५५ वर्षे उमेर हदका कारण यही १५ माघमै उनी अवकाश पाउँदै थिए।
प्रहरी स्रोतका अनुसार उनी बढुवामा पछाडि पर्दा साह्रै निराश थिए। उनले पछिल्लो समय डिप्रेसनको औषधी लिइरहेको उनीनिकट प्रहरी अधिकारीहरू बताउँछन्।
उनी करिअरका कारण या पारिवारिक कारणले आत्महत्या गर्ने अवस्थामा पुगे या मृत्युको अरू कुनै कारण छ भन्ने छानबिनकै दायरामा खुल्न सक्ला। तर, आमनागरिकको मनोबल उचो राख्न प्रयासरत देखिने प्रहरी अधिकारीले आत्महत्या गर्ने निर्णयमा कसरी पुगे, प्रहरीवृत्तमा गम्भीर चासो र अनुसन्धानको विषय बनेको छ।
श्रीमती आएपछि शव पोष्टमार्टमको प्रक्रियामा यादवकी श्रीमती रुपम कुमारी यादव संघीय प्रहरी एकाइ कार्यालय भैरहवा आपुगेकी छिन्।
उनी आएपछि मात्र प्रक्रिया अगाडि बढाउने भन्दै एसएसपीको शवलाई यथास्थितिमा राखिएको थियो। मृतककी श्रीमती आएपछि अब उनको शवलाई झारेर मुचुल्का बनाउनेदेखि पोस्टमार्टमको लागि पठाउने तयारी गरिएको छ। यसअघि यादवका बाबुआमा र मामा नेपाल प्रहरीका पूर्वआइजीपी ध्रुवबहादुर प्रधान घटनास्थल आएका थिए।