
काठमाडौँ – टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन्।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित गर्यो। टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टिमका कप्तान सदीश प्रधानले २० अंक योगदान गरे।
चारै क्वाटर आफ्नो पक्षमा पारेको टाइम्सले क्रमशः २७–१७, १७–१३, १७–११ र १५–१२ स्कोर गर्यो। अजय कुश्वाहाको १६ अंक सहयोगमा रोयलले स्कल क्यान्डीलाई ८०–६२ ले हरायो। पहिलो क्वाटरमा २१–६ को अग्रता बनाएको रोयल दोस्रोमा १८–२१ ले पछि पर्यो। रोयलले तेस्रोमा १८–१६ र चौथोमा २३–१९ को अग्रता लियो।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा गोड्स पनि सेमिफाइनल यात्रा तय गर्न सफल भयो। गोड्सले क्याम्पियनलाई ५७–४० ले पाखा लगायो। गोड्सका मिनेश शाक्यले १५ अंक जोडे। दोस्रो क्वाटर ८–८ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा गोड्स अघि रह्यो। गोड्सले पहिलोमा १२–११, तेस्रोमा २२–१४ र चौथोमा १५–७ को प्रदर्शन गर्यो।
अर्को लिग खेलमा गोल्डेनगेटले बीएमकेमाथि ७९–५७ को जित रच्यो । गोल्डेनगेटका विक्रम डंगोलले २७ अंक जोडे। पहिलो क्वाटरमा १७–२२ ले पछि परेको गोल्डेनगेटले खेलमा पुनारगमन गर्दै आराम्दायी जित आत्मसात् गर्यो। गोल्डेनगेटले दोस्रो क्वाटर २०–१२, तेस्रो २५–१३ र चौथो १७–१० ले आफ्नो पक्षमा पार्यो।
लिगको अन्तिम दिन बिहीबार हुने एक मात्र खेलमा कीर्तिपुरले गोल्डेनगेटको सामना गर्नेछ। यही खेलले सेमिफाइनल समीकरण तयार गर्नेछ।