
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन्।
काठमाडौं महानगर कमिटीद्वारा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताए।
एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरूको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए।
सोही भनाइलाई उद्धृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभावविपरीत राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्विकारेको टिप्पणी गरे।
उनले ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोपसमेत लगाए।
जिल्ला–जिल्लामा गरेको भए नेताहरू जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाइ थियो। तर, त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले बताए।
उनले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ठ कार्यकर्ता नभएको दाबी पनि गरे। अध्यक्ष नेपालले उनीसँग देवत्वकरण गर्ने मानिस मात्रै रहेको र अन्य विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहोर्याए।
उनले भने, ‘आज तपाईंहरूले सुन्नुभएको होला–केपी ओलीको एउटा भाषण। त्यसमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ। सुन्नुभयो, हैन त ? हार स्वीकार गरेका छन् नि !’
७७ जिल्लामा एकैचोटि जिल्ला अधिवेशन उद्घाटन गर्दा नयाँ नेतृत्व स्थापित नहुने उनको भनाइ छ।
उनले भने, ‘जिल्ला–जिल्लामा जिम्मा दिएको भए, त्यहाँ नेतृत्व जाने थियो। सम्बोधन गर्ने थियो। कार्यकर्ता भेला गर्ने थियो । कार्यकर्ता परिचालित गर्ने थिए। सबैले विषयवस्तु प्रस्तुत गर्ने थिए। अनि नेतृत्व स्थापित पनि हुने थियो। तर, त्यसो गर्ने पद्धति नै त्यो समूहमा छैन। एकल नेतृत्व। नेताको देवत्वकरण ! त्यहाँ पूजक प्रवृत्ति बोकेकाहरू, हनुमान प्रवृत्ति भएकाहरू, अझै भनौं गणेश प्रवृत्ति भएकाहरूलाई मात्रै त्यहाँ ठाउँ छ । त्यसो हुनाले त्यो समूहभित्र विद्रोह भइरहेको छ।’
अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्न आफ्नो पार्टी स्थापना गरेको बताए। उनले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए।