
काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीलाई खाजा–भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन्।
गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनमा गृहमन्त्री खाँणले मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीलाई खाजा–भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताए।
उनले सरकारी कार्यालयमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। उनले नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाले कार्यालयको समयावधि बिहान ९ देखि साँझ ५ बजेसम्म बढाएको जानकारी दिए।
उनले भने, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई उहाँहरू आफैँले ९ देखि ५ बनाइदिनुभएको छ। हेर्दा सजिलो छ । १० बजे पुग्नलाई ९ बजे खानुपर्छ। ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ। अहिले अर्थ मन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ। राम्रो प्रस्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन।’
काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकायलाई, गृहमातहतका निकालाई ओभरटाइम नदिए पनि कम्तीमा खाजा खाने भत्ता दिनुपर्ने उनको भनाइ छ।
गृहमन्त्री खाँणले कर्मचारीलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीले सरकारलाई सचेत गराउनुपर्ने बताए। उनले सरकार र सरकारी कार्यालय सबैको साझा भएकाले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए।
गृहमन्त्री खाँणले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीको भएकाले जनताको माग बुझेर सरकारलाई दबाब दिन पनि आग्रह गरे।
उनले भने, ‘हामीले गरेका निर्णयमा तपार्इंहरूले सल्लाह दिने, सुझाव दिने दायित्व तपाईहरूको नै हो। तपाईंहरूको सल्लाह, सुझावलाई गृह मन्त्रालय स्वागतको रूपमा लिन्छ।’
गृहका सबै कर्मचारी संगठनप्रति सद्भाव रहेको उनले बताए।
उनले भने, ‘गृह मन्त्रालय सबैको साझा मन्त्रालय हो। कतिपय संगठनका साथीहरूसँग हाम्रो वैचारिक निकटता पनि होला। कतिपयसँग सामाजिक सम्बन्ध बढ्ता होला। संवेदनशील रूपमा पनि होला। तथापि राज्य, सरकार, मन्त्रालय सबैको साझा हो। त्यही रूपमा नै आफूलाई अगाडि लैजानुपर्छ। मेरो आग्रह के छ भने कतिपय यस्ता संस्था छन्, सद्भाव सबैका लागि हुनुपर्छ भन्ने मेरो आग्रह छ। कर्मचारी संगठन युनियन पनि कमन युनियनजस्तै हो।’
सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने उनले बताए।