
उदयपुर – प्रदेश १ का सामाजिक बिकास मन्त्री जयराम यादवले सार्वजनिक तथा सामुदायिक पुस्तकालहरुको संस्थागत विकासका निम्ति मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।
विकसित मुलुकमा पुस्तकालयको अवस्थालाई हेरेर त्यहाँको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक अवस्थाको मापन गर्न सकिने उनले बताए। समाज रुपान्तरणको अभियानमा पुस्तकालयको अहम भूमिका हुने भएकाले जनताको विश्वविद्यालयको रुपमा हेरिएको सामुदायिक तथा सार्वजनिक पुस्तकालयलाई दिगो बिकास गर्ने सोचमा मन्त्रालय रहेको स्पष्ट पारे।
पुस्तकालयबाट ज्ञान, सिप, संस्कृति र सभ्यता दिने भएकाले यसको दिगो रुपमा विकास गर्नु पर्नेमा उनले जोड दिए। पुस्तकालयलाई प्रविधिमैत्री बनाउँदै लैजान मन्त्रालयले नीति बनाउन लागेका उनले जानकारी दिए।
सबल समाजको आधार पुस्तकालयको विकास र विस्तार जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियानु भन्ने नारासहित उदयपुरमा प्रदेश १ स्तरीय सामुदायिक तथा सार्वजनिक पुस्तकालय सम्मेलनको बुधवार उद्घाटन गर्दै यादवले यस्तो बताएका हुन्।
उनले गुणस्तरीय शिक्षामा पुस्तकालयको महत्वर्पूण भूमिका हुने भएकाले यसलाई चलाएमान बनाउन सबै पक्षसँग आग्रह गरे। उनले जिल्ला अस्पताल गाईघाटबाट सर्वसाधारणलाई गुणस्तरीय सेवा दिन आवश्यक पर्ने उपकरण तथा एम्बुलेन्स, शब वाहन मन्त्रालयले उपलब्ध गराउने जानकारी दिए।
संगम सामुदायिक पुस्तकालयको आयोजनामा सुरु भएको सम्मेलनमा प्रदेश १ का सबै पालिकाहरुमा पुस्तकालय स्थापना गर्ने र पठन सस्कृतिको विकास गर्ने लक्ष्यका साथ पुस्तकालय सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा सहभागी पुस्तकालयहरुको सहकार्यमा सुरु भएको कार्यक्रमलाई उदयपुरका आठ वटै स्थानीय तहहरुले सहयोग गरेको संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्काले बताए। कार्यक्रमको बारेमा जानकारी दिँदै खड्काले पढ्न संस्कृतिको विकास गर्न सम्मेलनको आयोजना गरेको बताए।
दुई दिनसम्म संचालन हुने सम्मेलनमा प्रदेश १ को ताप्लेजुङ, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, संखुवासभा, खोटाङ, उदयपुरका प्रतिनिधिहरुको सहभागीता रहेको संगम सामुदायिक पुस्तकालयका उपाध्यक्ष टंकप्रसाद गुरागाईले जानकारी दिए। सम्मेलनले उदयपुर घोषणा पत्र जारी गर्दै प्रदेश १ स्तरीय समिति गठन गरिने जनाइएको छ।