
काठमाडौँ– चीनमा आकस्मिक रुपमा लगाइएको लकडाउनले गर्दा ब्लाइन्ड डेटमा गएकी एक महिला पुरुषको घरमा फसेको बताइएको छ।
‘वाङ’ भनेर चिनिने ती महिलाले गत साता चिनियाँ सोसल मिडिया प्लेटफर्म ‘विच्याट’मा पोस्ट गरेकी थिइन् कि उनी खानाका लागि ती पुरुषको घर गएपछि लकडाउनमा परेकी थिइन्।
पोस्टमा उनी हालै चिनियाँ नयाँ वर्षअघि ग्वाङ्जोबाट जेङ्जो सहर फर्केको बताएकी छन्।
‘मेरो उमेर ढल्किँदै गएकाले मेरा आमाबुवाले मेरा लागि १० जनाभन्दा बढी केटासँग ब्लाइन्ड डेटहरू मिलाउनुभएको थियो,’ उनले लेखेकी छन्। उनले भेटेका ती व्यक्ति पाँचौँ हुन्। आफूले मीठो खानेकुरा बनाउने भन्दै ती व्यक्तिले उनलाई खान घरमै बोलाएका थिए।
तर, खाना खाँदै गर्दा उनले थाहा पाइन् कि त्यस ठाउँमा आकस्मिक लकडाउन भयो। र, केही दिनसम्म उनी त्यहीँ अड्किइन्। वाङले आइतबार केही मिडियालाई उनी त्यहाँ चार दिनसम्म फसेको बताएकी छन्।
परिस्थिति केही असहज भए पनि उनी त्यहाँ बस्दासम्म भने ती व्यक्तिले नै उनलाई खाना पकाएर खुवाएका थिए। यद्यपि, ती व्यक्तिको स्वभाव भने कम बोल्ने भएको उनको भनाइ थियो।
यो स्पष्ट छैन कि उनी अझै पनि ती व्यक्तिको घरमा अड्किएकी छन् कि फर्किसकिन्। हालसम्म जेङजोमा कोभिड–१९ नियन्त्रणमा आइसकेको छैन।
ग्लोबल टाइम्स पत्रिकाअनुसार गत सातायता त्यहाँ सय जनाभन्दा बढीमा कोभिड—१९ पुष्टि भएको थियो। अहिले उक्त सहरमा बस्ने १.२६ करोड मानिसको कोरोना परीक्षण भइरहेको छ।