
काठमाडौं – टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्ने भएका छन्।
शुक्रबार भएको फरक खेलमा विजयी हुँदै आर्मी र हेल्प नेपाल फाइनल प्रवेश गरेका हुन्।
पहिलो खेलमा साबिक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल पहिलो पटक फाइनल प्रवेश गर्याे।
पहिलो पटक प्रतियोगितामा सहभागी भएको हेल्प नेपालले भारतीय ३ खेलाडीको साथमा २५–१८, २५–१६, २५–२३ ले सहज जित पायो।
दोस्रो खेलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्याे।
राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले पुलिसलाई २५–१५, २५–१८, २५–१३ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्योल। फाइनल खेल शनिबार २ बजे हुनेछ।