
मुगु – हिमाली जिल्ला मुगुमा एक साता अघिदेखि नियमित रूपमा हवाई उडान सुचारुमा आउन थालेका छन्।
पुस महिनाको हिमपातले गर्दा हवाई उडानमा प्रभावित पारेको थियो भने केही हप्तापछि मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाई उडान भरेका हुन्।
एक साता बढीसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा पर्ने गरेका थिए। लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको थियो।
रारा विमानस्थलबाट मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुसम्म हवाई जहाजहरूले नियमित रूपमा उडान भरेको कर्णाली टुर एण्ड ट्राल्भस मुगुका इन्चार्ज डिवी मल्लले बताए।
हिमपातले मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो हिमपात पर्दा डोजर लगाएर पनि सडक सुचारुमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए।
मुगुमा पछिल्लो समय मौसममा सुधार हुँदै आइरहेको छ। मुगुमा यो वर्ष दुई पटक मात्र हिमपात भएको छ। हिमपात परेपछि कृषक हर्षित देखिन्छन्।