
काठमाडौँ – भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै स्वचालित प्रणालीमा विकास गरिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयमा डिजिटल भुक्तानी कारोबार उद्घाटन गर्दै भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताए।
अर्थमन्त्री शर्माले भन्सारलाई पारदर्शितासहित व्यापारलाई सहजीकरण गर्ने किसिमको बनाउने काममा सरकार लागि परेको बताए।
उनले भन्सार विन्दु र बजारको विन्दु दुबै सुधार गर्नुपर्ने अहिलको आवश्यकता भएको बताउनु भएको छ। मन्त्री शर्माले डिजिटल भुक्तानीसँगै वस्तु आयात गर्ने कन्टेनरमा स्क्यानर लागू गर्ने तयारीमा सरकार रहेको बताए।
उनले यसरी स्क्यानरको प्रयोगले आफ्नो देश, सामान आएको देश र भन्सारसँग सीमा जोडिएको देशको राष्ट्रिय सुरक्षामा महत्वपूर्ण साधन बन्ने बताए।
मन्त्री शर्माले भने, ‘नेपालका कुन भन्सारमा कस्तो पारदर्शिता रहेको छ सबै मेरो जानकारीमा छ। सरकारको प्रतिबद्धता पारदर्शितासहितको व्यापार सहजीकरण सरकार अब्बल हुनुपर्छ। त्यसका लागि हामीले प्रविधिको उच्चतम प्रयोग गरौँ।’
प्रविधिको तीव्र प्रयोग गर्दै जाँदा संख्यात्मक भन्दा पनि गुणात्मक दक्ष जनशक्ति आवश्यक रहेको उनले बताए।
यसरी भन्सार विस्तारै कुनै समयमा स्वचालित प्रणालीमा विकसित हुने उनको भनाइ छ। अहिले क्रमशः त्यही बाटोमा उन्मुख हुँदै गएको उनले बताए।
उनले भने, ‘अहिले मूल्यसूचीलगायत धेरै प्रश्न उठेका छन्। यसरी भन्सारको विन्दु मात्रै नभएर बजारको विन्दु पनि त्यत्तिकै महत्वपूर्ण छ। बजार विन्दुमा सुधार आउँदा भन्सारको विन्दुमा समेत सुधार ल्याउँछ। यसरी भन्सारमा पारदर्शिता बनाएर व्यापारलाई सहजीकरण गर्नु सरकारको दाहित्व हो। भन्सार पारदर्शिता बनाउने र व्यापारलाई सहजीकरण गर्ने कुरामा आफ्नो पूर्ण प्रतिबद्धता रहेको छ।’
भन्सारलाई निरन्तर गुणस्तरीय सुधार गरिँदै लागिने उनले बताए। उनले भने, ‘सबै भन्सार कार्यालयबाट डिजिटल भुक्तानी सुरु गरेका छौं। त्यसपछि छिट्टै सरकारले स्क्यानरको सुरु गर्नेछौँ। स्क्यानर लागू भएपछि आयात भएका सामानमा पाइट वा सुरुवालको कपडा आयो भनेर छुट्याउने होइन। यसले राष्ट्रिय सुरक्षामा महत्वपूर्ण साधन हुनेछ। सबै वस्तु उपयोगी हुँदैनन्। यसले नेपाल र अन्य मित्र राष्ट्रका लागि असुरक्षा नहोस् भन्ने उद्देश्यमा सरकारले ध्यान दिएको छ। त्यसैले भन्सारमा स्क्यानरको व्यवस्था लागू गर्नेछौँ। अन्तर्राष्ट्रिय बजार मूल्यका कारण भन्सारमा हुने विभिन्न अवरोध हटाउन पनि डिजिटल प्रविधिको प्रयोग बढाउँदै लगिनेछ।’
अर्थमन्त्री शर्माले भन्सारमा राजस्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारका लागि मुख्य चुनौती रहेको बताए। उनले राजस्व चुहावट र तस्करी नियन्त्रणका लागि भन्सार विभागले मात्रै गर्न नसक्ने भएकाले राज्यका सबै संयन्त्र लाग्नुपर्ने आवश्यकता भएको बताए। मन्त्री शर्माले भन्सारमा खुला सीमाको सुरक्षा, सीमा नाकामा हुने व्यापार व्यवस्थापन गर्ने विषय पनि अहिलेको चुनौतीको रुपमा रहेको बताए। उनले भन्सारलाई आयात गर्ने विन्दुको रुपमा मात्रै नभएर निर्यात गर्ने माध्यम बनाउनुपर्ने बताए। स्वदेशमै उत्पादित वस्तुलाई स्वदेशमै बजार उपलब्ध गराउन सरकारले नीतिगत र संरचनागत सुधार गरेर अगाडि बढ्ने अर्थमन्त्रीको भनाइ छ।
उनले अहिले भइरहेको भन्सारसम्बन्धी ऐन संशोधन, नयाँ नीतिको निर्माण, संरचनागत र प्रक्रियागत सुधार गर्नुपर्ने आवश्यक रहेको बताए। भन्सार विभाग र उद्योगी व्यवसायी एकअर्काका विरोधी नभई एकअर्काका परिपूरक भएकाले दुवैले आ–आफ्नो जिम्मेवारी पूरा गर्दा झन्झटरहित सरल रुपमा भन्सारबाट व्यापारमा सहजीकरण गर्न सकिने औँल्याए।
अर्थमन्त्री शर्माले भने, ‘भन्सारमा अन्तर्राष्ट्रिय स्तरका क्वारेन्टाइनको व्यवस्था गर्न आवश्यक छ। भन्सारमा राजस्व चुहावट र तस्करीको नियन्त्रण गर्ने कुरा सरकारको मुख्य चुनौतीको रूपमा रहेका छन्। यसलाई भन्सार विभाग एक्लैले मात्र समाधान गर्न सक्दैन। यसका लागि सिंगो राज्यसंयन्त्र लाग्न जरुरी छ।’
उनले खुला सीमाको सुरक्षा, सीमा नाकामा हुने व्यापार व्यवस्थापन गर्ने कुरा पनि चुनौतीको रुपमा रहेको बताए।
भन्सार नाका मात्र नभई दुई देशबीचको सम्बन्धलाई राम्रो बनाउने काम पनि भन्सार प्रशासनको भएकाले दुई देशबीचको तालमेल महत्वपूर्ण रहेको उनको भनाइ छ।
भन्सारलाई आयात गर्ने विन्दुका रूपमा मात्र नलिएर निर्यात गर्ने माध्यमका रूपमा पनि लिनुपर्ने उनले बताए। स्वदेशमै उत्पादित वस्तुलाई स्वदेशमै बजार उपलब्ध गराउन नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा उनले जोड दिए।
उनले भने, ‘करिब ५० प्रतिशत राजस्वको योगदान भन्सारबाट भएको छ। त्यसलाई अन्य क्षेत्रबाट पूर्ति गरी आयातमा लाग्ने करलाई कम गर्न आवश्यक छ। अहिले भइरहेको भन्सारसम्बन्धी ऐन संशोधन, नयाँ नीतिको निर्माण, संरचनागत र प्रक्रियागत सुधार गर्नुपर्ने देखिन्छ। भन्सार विभाग र उद्योगी व्यवसायी एक अर्काका विरोधी होइन, परिपूरक हुन्। भन्सार प्रशासन एउटा इन्जिन हो भने त्यसको गति पैदा गर्ने निजी क्षेत्रको व्यवसाय हो। दुबैको संयुक्त प्रयासमा मात्रै चल्छ। दुबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्दा झन्झटरहित सरल ढंगले सहजीकरण गर्न सकिन्छ।’
त्यस्तै, अर्थमन्त्री शर्माले भन्सारमा व्यवसायीले उठाएको कारोबार मूल्यको आधारमा भन्सार मूल्यांकनको विषयमा निजी क्षेत्रसँग छलफल गर्ने बताए। उनले अर्थ मन्त्रालय निरन्तर निजी क्षेत्रसँगको सहकार्य गरेर अगाडि बढ्ने गरेकाले निजी क्षेत्रको जाहेजको सम्बोधन गर्ने पक्षमा सरकार रहेको स्पष्ट पारे।
अर्थमन्त्री शर्माले व्यापार घाटालाई अन्त्य गर्न नेपालमै उत्पादन वृद्धि कच्चा पदार्थ र औजार आयातमा सरकार सकारात्मक रहेको बताए। यस्ता कच्चा पदार्थ र औजारको आयातले नेपालमै रोगजारी सिर्जना र उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने मन्त्री शर्माको भनाइ छ। उनले पछिल्लो समय विपक्षले जनतालाई भ्रम फैल्याउने गरी अर्थतन्त्र चौपट भयो भन्दै गलत प्रचार गरिएको बताए।
उनले सरकार व्यवसाय र बैंकबीचको अन्तरसम्बन्धलाई सन्तुलित सहकार्य र सहमति जाने खालको वातावरण बनाउन लागिपरेको बताए।
उनले भने, ‘कारोबार मूल्यको बहस जाहेज छ। यो बहसमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रालय भन्सार विभागले दिनुपर्छ। हामी नीतिगत, व्यावहारिक र प्रशासनिक ढंगले जवाफ दिन्छौँ। निजी क्षेत्रले दिएका सुझावलाई अर्थ मन्त्रालयका लागि मार्गनिर्देशन हुन्। त्यसलाई समाधान गर्नु नै अर्थ मन्त्रालयको सफलता मान्छौँ।’
निजी क्षेत्र यस विषयमा भ्रममा नरहन उनको आग्रह छ। उनले भने, ‘अहिलेको व्यापार घाटा अन्त्य गर्न नेपालमै उत्पादन वृद्धि कच्चा पदार्थ र औजार आयातको सरकारले स्वागत गर्दछ। यसले नेपालमै रोगजारी सिर्जना र उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान गर्नुपर्छ। यस्ता कच्चा पदार्थ र औजार आयातले मुलुकको अर्थतन्त्र र उत्पादन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेछ। पछिल्लो समय जनतालाई भ्रम फैलाउने गरी अर्थतन्त्र चौपट भयो भन्दै गलत प्रचार गरिएको छ। अर्थतन्त्र यस्तो अवस्थामा पुग्नु आजको नीतिले मात्रै हुँदैन। विगतका सरकारले बनाएका नीति नियमले गर्दा हुने हो।’
निजी क्षेत्रलाई असर पर्ने खालको नीति निर्माण नहुने उनले बताए। व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न उनले आग्रह गरे। व्यवसाय र बैंकबीचको अन्तरसम्बन्धलाई सन्तुलित सहकार्य र सहमतिमा जाने खालको वातावरण बनाउन सरकार तयार रहेको उनले बताए।
एकअर्काको समस्या बुझिएन भने अर्थतन्त्रमा ठूलो संकट पैदा हुन सक्ने उनले संकेत गरे।
उनले भने, ‘रेमिटेन्सलाई बैंकिङ च्यानलमार्फत ल्याउन विभिन्न थप प्रोत्साहन दिने उपायसहित अध्ययन भइरहेको छ। आयात नियन्त्रण गर्न गरिएका तत्कालीन प्रयास छोटो समयका लागि हुन्। छोटो समयमा सहज हुनेबित्तिकै पहिलेकै स्थितिमा राखिन्छ।’
त्यस्तै, अर्थसचिव मधुकुमार मरासिनीले भन्सार कार्यालयमा डिजिटल भुक्तानीसम्बन्धी महत्वपूर्ण माइल स्टोन भएको बताए। उनले अनलाइन पेमेन्ट लागू भएसँगै सहज र सरल तरिकाबाट आयातको काम गरिने तथा समयको बचत, पारदर्शिता, व्यापारलाई धेरै प्रतिस्पर्धी र सहज बनाउन भूमिका खेल्ने बताए।
उनले भने, ‘भन्सारमा अनलाइन पेमेन्ट प्रणाली सुरु भएको छ। त्यो भन्सारसम्बन्धी महत्वपूर्ण माइल स्टोनका रूपमा लिएका छौँ। अनलाइन पेमेन्ट लागू भएसँगै सहज र सरल तरिकाबाट आयातको कारोबार हुनेछ। यसले समयको बचत गर्नेछ, पारदर्शिता हुनेछ।’
यसले व्यापारलाई अझ धेरै प्रतिस्पर्धी र सहज बनाउनका लागि भूमिका खेल्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय मान्यताअनुसार भन्सारको काम भनेको व्यापारलाई सहजीकरण गर्नु रहेको उनले बताए।
उनले भने, ‘व्यापार सहजीकरण गर्ने महत्वपूर्ण मापक डिजिटल भुक्तानी हुनेछ। यो व्यापार सहजीकरण गर्ने अर्को इँटा थप भएको हो।’ भन्सारमा दुई देशबीचको व्यापार सहजीकरण गर्न भन्सार सुधार आवश्यक रहेको उनले बताए।
उनले मुलुकको आर्थिक वृद्धिदेखि कुल गार्हस्थ उत्पादन जिडिपीमा समेत वृद्धि हुने बताए। उनले भने, ‘भन्सारमा नयाँ प्रविधि प्रयोग बढाउँदै लगिएकाले यो अनलाइन अर्थात् डिजिटल भुक्तानीले भन्सार सुधारमा सहयोग पुर्याउनेछ।’
त्यस्तै, भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा परम्परागत प्रणालीबाट डिजिटल भुक्तानी सुरु भएकाले सुनौलो दिन भएको बताए। उनले बुधबारबाटै सबै भन्सार कार्यालयमा डिजिटल भुक्तानी प्रणाली लागू भएको जानकारी दिए।
महानिर्देशक सापकोटाले भने, ‘आजको दिन भन्सारको इतिहासमा सुनौलो दिन हुनेछ। भन्सारको डिजिटल प्रणाली सुरु गर्नु नयाँ युग सुरु हुनु हो। भन्सारसम्बन्धी सबै काम आजदेखि अनलाइन प्रणालीमा प्रवेश गरेको छ। नयाँ यात्रामा भन्सार प्रशासन गएको छ। आयात भएका वस्तुको भुक्तानी रकम घरमै बसेर गर्न सक्छौं। धेरै वर्षदेखि छलफल र चर्चामा रहेको विषय थियो आज आएर कार्यान्वयनमा आएको छ।’
भन्सारमा भएका पुराना व्यवस्था भत्काउने र नयाँ व्यवस्थामा लाने र यसलाई संस्थागत गर्ने लयमा भन्सार विभाग रहेको उनले बताए। उनले भने, ‘कन्टेनर स्क्यानरलाई समयमै कार्यान्वयनमा ल्याउनेछौँ। भन्सार विन्दुका अवरोधलाई हटाउँदै जानेछौँ।’
त्यस्तै, राजस्व सचिव कृष्णहरि पुष्करले भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न सरकार अग्रसर भएको बताए।
उनले भन्सारमा लामो समयदेखि रहेका नीतिगत समस्या, प्रक्रियागत समस्या र प्राविधिक समस्यालाई क्रमशः सम्बोधन गर्ने काम गरिरहेको बताए।
उनले भने, ‘भन्सार प्रशासनलाई आधुनिकीकरण गर्ने र भन्सार प्रशासनमा लामो समयदेखि रहेका नीतिगत समस्या, प्रक्रियागत समस्या र प्राविधिक समस्यालाई क्रमशः सम्बोधन गर्ने प्रयास भइरहेको छ।’
भन्सारमा डिजिटल भुक्तानी प्रणाली जडान तथा एकद्वार प्रणाली र अन्य प्रकारका प्राविधि क्षमताको अभिवृद्धि गर्न विभाग लागिपरेको उनले बताए। भन्सार प्रशासन एकदमै परम्परागत भएकाले कतिपय राष्ट्रिय सुरक्षाको विषय रहेकाले सोचेर र अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने भएकाले समय लाग्न सक्ने उनले बताए।
उनले भने, ‘विभागले भन्सारको आधुनिक विकासका लागि निजी क्षेत्रबाट आएका सुझावलाई सहज रूपमा स्विकारेका छौँ। भन्सारमा व्यापारलाई सहजीकरण गर्ने काम गरिनेछ। भन्सारको मूल्यांकन विधिलाई कसरी वैज्ञानिक बनाउने भन्ने विषयमा निजी क्षेत्रसँग बसेर काम गरिरहेको छ।’
सचिव पुष्करले भन्सार प्रशासन एकदमै परम्पराग भएकाले कतिपय राष्ट्रिय सुरक्षाको विषय रहेकाले सोचेर र अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने अवस्था भएकाले आधुनिकीकरण गर्न समय लाग्ने गरेको बताए। उनले भन्सारको मूल्यांकन विधिलाई वैज्ञानिक बनाउने विषयमा निजी क्षेत्रसँग सहकार्य भइरहेको बताए।