
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्याई नेपाली नागरिकलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने बताएका छन्।
बिहीबार मन्त्रालयमा भिजिट भिसामा युएई पुगेर अलपत्र भई फर्केकाहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सिआईबीका प्रहरी नायब उपरीक्षक सम्मिलित मार्सल टिम गठन गरेको बताए।
मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलाललाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलाललाई खोजीखोजी कारबाही गर्ने बताए।
मन्त्री श्रेष्ठले विदेश जाने नेपालीले पनि एक पटक कम्पनी र कामबारे बुझेर जानुपर्ने बताए। उनले आइतबारबाट मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुनेगरी गुनासो सेन्टर स्थापना हुने बताए।
मन्त्री श्रेष्ठले भने, ‘हामीले एउटा मार्सल टिम एक्सनमा जाने गरी दलाल र ठगलाई, तह लगाउने गरी मार्सल टिम गठन गरेका छौँ। त्यसको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने, सिआईबीको प्रहरी नायब उपरीक्षकलगायतको एउटा मार्सल टिमले गर्नेछ। विशेष गरी आज मार्सल टिमको काम जो पीडित भएर, दुःख पाएर दुबईबाट फर्किएका भाइहरूको पनि वेदना, पीडा सुन्नेछौँ। कोमलराज उपाध्याय भन्नेजस्ता धेरै व्यक्ति यूएईमा छन् भन्ने सुन्नमा आएको छ।’
उनले थपे, ‘म यही मिडियाबाट कोमलराज उपाध्यायलाई भन्न चाहन्छु, यस बीचमा म एक्सनको रुपमा अघि बढेपछि भाइहरूलाई नेपाल पठाउनुभयो धन्यवाद छ। म तपाईँलाई के पनि चेतावनी दिन चाहन्छु भने अब पानीमुनि गए पनि तपाईँले गरेका अपराध छाडिँदैन, कि तपाईंले आत्मसमर्पण गरेर आफूले गरेका गल्ती स्विकारेर झुक्याएर, ठगेर लगिएका नेपाली हुनुहुन्छ, उहाँहरूलाई छिटोभन्दा छिटो नेपाल पठाउनुस् भन्न चाहन्छु।’
पीडितले आर्थिक स्रोत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभका कारण बाध्य भएर भिजिट भिसामा गएको तर दलालले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलरसमेत लगेको गुनासो गरेका छन्।
संयुक्त अरब इमिरेट्स (युएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरी लैजानु युएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत भएको उनले बताए।
लामो समय बेखबरजस्तो बनेको नेपाल सरकार केही दिनयता तातेको छ। हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा युएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै वैदेशिक रोजगार व्यवसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि व्यवसायीले मान्छे फिर्ता ल्याउन पनि थालेका छन्।