
ताप्लेजुङ – मेरिङ्देन गाउँपालिकामा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ। गाउँपालिकाभित्र पालिएको करिब दुई सय कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको हो।
गाउँपालिकाको पोषण संवेदनशील कार्यक्रमको पशुपन्छी विकास क्षेत्रअन्तर्गत वडा–वडामा शिविर सञ्चालन गरी स्थानीयले पालेका कुकुर र बिरालोलाई खोप लगाएको गाउँपालिकाले जनाएको छ। मेरिङ्देन गाउँपालिकाका पशु सेवा प्राविधिक राजन गुरागाईंका अनुसार प्रत्येक वडामा सञ्चालित पशु स्वास्थ्य शिविरमार्फत कुल एक सय ८५ वटा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको छ।
गुरागाईंले एक सय ६४ वटा कुकुर र २१ वटा बिरालोलाई रोगविरुद्ध खोप लगाएको जानकारी दिए। उनकाअनुसार वडा नंम्बर १ थिङ्लाबुमा ५२ वटा कुकुर र १० वटा बिरालोलाई खोप लगाइएको छ। यस्तै वडा नंम्बर २ सान्थाक्रामा १३ वटा कुकुर, वडा नंम्बर ३ खाम्लुङमा १४ वटा कुकुर, वडा नंम्बर ४ लिङ्तेपमा ४३ कुकुर तथा १० वटा बिरालो, वडा नंम्बर ५ थुकिमामा ४० कुकुर तथा एउटा बिरालो र वडा नंम्बर ६ नाल्बुमा दुई वटा कुकुरलाई खोप लगाइएको छ।