
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब दिएकी छन्।
नेकपा (एमाले)को केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताइन्।
उनले स्थानीय तहको निर्वाचन वैशाखभित्रै सक्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘स्थानीय तहको निर्वाचनाका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ। त्यही पनि विगतदेखि हामीले भनिआएका छौँ, स्थानीय निर्वाचन वैशाखभित्र सक्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्नेमा नेकपा(एमाले) छ। हामी त्यो पक्षमा बारम्बार बोलिरहेका छौँ। र, पर्सिको बैठकबाट पनि हामीले त्यो विषयलाई मुख्य रुपमा अगाडि बढाउँछौँ।’
सचिव अर्यालले एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजे पनि संसद्मा दर्ता हुने, नहुने यकिन नभएको बताइन्। एमसीसी संसद्मा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनको भनाइ छ।
सचिव अर्यालले भनिन्, ‘एमसीसीको सन्दर्भमा सरकारले अहिले छलफल अगाडि बढाउन खोजिरहेको छ, त्यो एमसीसी संसद्मा दर्ता हुन्छ कि हुँदैन। अहिले त्यो कुनै यकिन छैन। त्यसैले त्यो विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ। जतिबेला त्यहाँ दर्ता हुन्छ, त्यो बेला नेकपा(एमाले)ले आफ्नो पोजिसन क्लियर गर्नेछ।’
पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको उनले जानकारी दिइन्।