
काठमाडौँ – मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ।
काठमाडौंमा सोमबार एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवाप्रदायक खल्तीबीच उक्त सम्झौता भएको हो।
सम्झौता पत्रमा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका थिए।
सम्झौता भएसँगै खल्ती फोनपेको नेटवर्कमा आबद्ध भएको छ। अब खल्तीका सबै प्रयोगकर्ताले फोनपेको क्यूआरमार्फत सेवा प्रयोग गर्न सक्नेछन्।
सम्झौता कार्यक्रममा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यसप्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका रहने बताए।
उनले खल्तीसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, ‘फोनपेका लागि खल्तीसँग सहकार्य गर्न पाउँदा ठूलो उपलब्धि गरेको छ।
फोनपेले दुई वर्षदेखि जुन नेटवर्क बनाएका छौँ। यसअघि नै ५९ जना सदस्य यो प्रणाली जोडिनुभएको छ।’ १७ लाख ग्राहकलाई फोनपेले सेवा उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।
उनले भने, ‘अहिले फोनपेले जुन ब्राण्ड बनाएको छ। त्यसको मुख्य प्राथमिकता भनेकै ग्राहकको सर्भिस हो। त्यस्तै फोनपेका अन्य सदस्यलाई दैनिक फोनपे प्रयोग गरेर व्यापार अगाडि बढाउन सजिलो भएको छ।’
त्यस्तै, खल्तीका प्रमुख कार्यकारी अधिकृत सीईओ विनय खड्काले यो एक सम्झौता मात्र नभएर डिजिटल नेपाल बनाउने सहकार्य भएको बताए।
उनले फोन पेसँगको यो सहकार्य नयाँ यात्रा सुरु भएकाले फोन पेसँगको सहकार्यले खल्तीका लाखौं ग्राहक लाभान्वित हुने जानकारी दिए।
उनले फोन पेसँगको सम्झौतापछि खल्तीका २० लाख ग्राहकले फोनपेको क्युआरमार्फत भुक्तानी गर्न पाउने बताए।
उनले भने, ‘फोनपेसँग सहकार्य गर्न पाउन खुसी लागेको छ। जहाँ फोनपेसँग १५ लाखभन्दा बढी ग्राहक छन्। अहिले बजारमा खल्ती आफू मात्रै नआएर यसले आफ्नो महत्वलाई समेत लिएर बजारमा आउँदै छ।’
खल्तीले फोनपेमा २० लाखभन्दा बढी ग्राहक ल्याउने उनले बताए।
उनले भने, ‘खल्ती ग्राहकलाई क्युआर कोर्डमार्फत भुक्तानी गर्न सक्ने बनाएका छौँ। यो सहकार्य फोनपे र खल्तीको मात्रै कुरा नभएर डिजिटल नेपालको अभियान हो।’
पछिल्लो समय बजारको आवश्यकता र बजारमा क्यासलेस समाज बनाउने राष्ट्र बैंकको अवधारणा रहेको भन्दै उनले त्यसको लागि फोनपे र खल्तीको सहकार्य कोषे ढुंगा सावित हुने बताए।
खल्तीका ग्राहकले फोन पेसँगको सम्झौतासँगै फोन पेको जुन ठाउँमा क्युआर पेमेन्ट सेवा उपलब्ध छ, त्यहाँ खल्ती वालेटबाट पेमेन्ट गर्न सकिने भएको छ।
यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा दुबै कम्पनीले गरेका छन्।
दुई वर्षअघि स्थापना भएको फोन पेमा अहिले ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट सहभागी छन्। त्यस्तै, बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवाप्रदायकका डेढ करोडभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पे प्रयोग गर्दै आएका छन्।
त्यस्तै, फोन पेमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। त्यस्तै, सन् २०१७ मा स्थापना भएर सेवा सुरु गरेको खल्तीको पनि २० लाखभन्दा बढी प्रयोगकर्ता रहेको खल्तीले जनाएको छ।
खल्ती प्रयोगकर्ताले विभिन्न किराना पसल, होटल, रेस्टुरेन्ट, फिल्म हल, सार्वजनिक यातायात, धार्मिक क्षेत्रलगायत अन्य व्यापारिक क्षेत्रमा निकै लोकप्रिय बनेको फोन पेको क्युआर कोडबाट भुक्तानी गर्ने अवस्था थिएन। खल्तीमा विभिन्न खुद्रा पेमेन्ट तथा अनलाइन पेमेन्ट हुँदै आएको थियो।