
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन्।
उनले पहिले एक जना मान्छेमा भएको भाइरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारिन्।
प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यमा पनि ओमिक्रोनको संक्रमण दर घटिरहेको र त्यसको प्रभाव नेपालमा परेको तथ्य पनि स्मरण गराइन्।
उनले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराइन्।
प्रवक्ता मिश्रले भनिन्, ‘पहिल्लो डेटाअनुसार नेपालमा अहिले इन्फेक्सन दर घटेको देखिन्छ। भाइरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाइरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गर्थ्यो भने त्यो दर अब विस्तारै घटिरहेको छ। र, यो अवस्था सबै प्रदेशमा छ। संक्रमण दर डिक्रिजिङ अवस्थामा छ। अनि मैले के जोड्न चाहेँ भने हाम्रो संक्रमण दर इन्डिया र चीनसँग सधैँ जोडेर हेरेका छौं। अनि इन्डियामा पनि आन्ध्र प्रदेशबाहेक सबै राज्यको संक्रमण दर विस्तारै घटिरहेको छ। सोही अनुसार हाम्रो पनि संक्रमण दर घटिराखेको छ। तथापि, सतर्कता अनिवार्य छ। बढी सतर्कता अपनाएर पनि यसको दर घटेको हुन सक्छ। स्वास्थ्य मापदण्ड अपनाउने, भीडभाडमा नजाने र खोप लगाउने काम गर्नुपर्यो।’
यस्तै, नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन्।
उनका अनुसार खोप अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रको व्यवस्था भएको र हुँदै गएको बताइन्।
त्यसैगरी, सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटुन् भनेर सरकारले नागरिकतालगायत डकुमेन्ट नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको प्रवक्ता मिश्रले स्पष्ट पारिन्।
उनले भनिन्, ‘पहिलो कुरा भयो खोपको उपलब्धता। हालको अवस्था हेर्नुभयो भने हामीसँग खोपको कुनै कमी छैन। विभिन्न प्रकारका खोप पाइपलाइन पनि छ। दोस्रो कुरा, स्वास्थ्य मन्त्रालयले संघीय मन्त्रालय भएको हुनाले स्वास्थ्य मन्त्रालयले खोपको व्यवस्थापन गर्ने हो र खोप जिल्लाजिल्लामा उपलब्ध गराइदिनुपर्ने हुन्छ।’ समयमै खोप उपलब्ध गराउन कतिपय ठाउँमा भण्डारण केन्द्र स्थापना पनि भइसकेको उनले जानकारी दिइन्।
स्थानीय निकायसँगको समन्वय एकदमै बढाएको उनले बताइन्। उनले भनिन्, ‘कुनै पनि व्यक्ति खोप लगाउनबाट नछुटुन् भनेर खोप लगाउन नागरिकतालगायतको डकुमेन्ट अनिवार्य पनि गराइएको छैन। तर, त्यसका लागि स्थानीय वडाध्यक्षले भने भनिदिनुपर्ने हुन्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न पनि सबै नागरिकलाई पटक–पटक अपिल गर्दै आएको छ।