
काठमाडौँ – राष्ट्रियसभा र त्यसअन्तर्गतका समितिहरूको पछिल्लो करिब चार वर्षे कार्यकालको समीक्षा गर्दै ‘संसद्मा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशन गरिएको छ।
पुस्तकमा संसद् र त्यसका प्रभावकारिताका लागि अमेरिकी कांग्रेस, भारतको माथिल्लो सदन र अस्ट्रेलियाका संसद् र संसदीय प्रणालीको अनुभवसमेत समेटिएको छ।
सिंहदरबारमा शुक्रबार आयोजित सो पुस्तकको छलफल कार्यक्रममा संसद् सचिवालयका महासचिव भरतराज गौतमले राष्ट्रियसभा र यसका समितिहरूका कामबारे जानकारी गराउन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे।
उनले पुस्तकमा राष्ट्रियसभा र त्यसका समितिमा विधेयकबारे हुने छलफल, समितिका सभापतिहरूको अनुभव र संसदीय समिति प्रणालीबारे विभिन्न देशका अनुभवलाई समेत समेटिएको बताए।
राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोेजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् भने संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति संयुक्त समितिको रूपमा रहेका छन्।
ती सबै समितिका सभापतिहरूको अनुभूति पुस्तकमा समावेश गरिएको छ। त्यसैगरी, पुस्तकमा सांसदहरूले समितिमा काम गर्दाको समितिगत प्रणालीबारे पनि जानकारी दिने प्रयास गरेका छन्।
राष्ट्रियसभाको समिति प्रणालीबारे जानकारी दिने उद्देश्यले प्रकाशित यो पुस्तक राष्ट्रियसभा र त्यसका समितिहरूका कामलाई अझ प्रभावकारी बनाउन उपयोगी हुने विश्वास लिइएको संघीय संसद् सचिवालयले जनाएको छ।