
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिका कारण देश बिग्रिएको बताएका छन्।
पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कुदृष्टिका कारण देश बिग्रिएको बताए।
नेताहरूको चरित्र असल भए देशको यो हालत नहुने भन्दै उनले आजको दिनसम्म मन्त्रालयअन्तर्गतको विभिन्न अनियमितताको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे।
उनले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायमा बतास समूहसँग सम्बन्धित मान्छेलाई राजनीतिक नियुक्ति दिलाएको आरोप लगाए।
उनले भने, ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डर प्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो। परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन। हतार–हतार टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ। हेर्दाखेरी सबै प्रक्रिया गलत छ। बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी। त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो। बतासलाई यता धर्मशाला बुझाउनुभयो।’
उनले थपे, ‘यता ल्याएर निगमको एमडी बनाउनुभयो। बतास र धनञ्जय रेग्मी पार्टनर। अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सिइओ बनाउनुभयो। कस्तो सेटिङ हेर्नुस्। अनि कसरी बन्छ त हाम्रो देश? सबभन्दा बढी यसको गल्ती भनेको म आफैँलाई भन्छु, नेताहरूले गर्दाखेरी हाम्रो देश बिग्रिएको हो। नेताहरूको चरित्र असल भए नेपाल अहिले यो अवस्थामा हुन्थेन। नेताहरूको कुदृष्टिका कारण यस्तो भएको हो।’ देश बिग्रनुको दोस्रो कारक ब्युरोक्र्याट भए पनि बढी दोषी भनेको पोल्टिसियन हुन्।’
उनले मन्त्रीहरूले राजनीतिक नियुक्ति दिलाउनका लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि बताए।
मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने पनि उनले उल्लेख गरे।
मन्त्री आलेले सबै अप्ठ्यारा कानुनलाई संशोधन गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।
सरकारले पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजी भइरहेको भन्दै उनले सो गन्तव्यको विश्वभर प्रचारप्रसार गरेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउनुपर्ने बताए।