
लमजुङ – लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ। भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी हिमपात भएको हो।
हिमपातका कारण घरबाट बाहिर निस्कन समेत कठिन भएको छ। घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिमपात भएको घलेगाउँकी काशी घलेले बताइन्।
यस्तै लमजुङको बेसीशहर नगरपालिका–१० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ। कल्मे डाँडामा पनि बिहीबार रातिबाट हिमपात भएको पिसहिलका व्यवस्थापक होमलाल तामाङले बताए।
घलेगाउँ, पिसहिलसहित मर्स्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ पूर्वीभेगका दुधपोखरी, बराहपोखरी, मेमेपोखरीलगायत उच्च पहाडी भेगमा बिहीबार दिउँसोदेखि हिमपात भएको छ। हिमपातले जनजीवन प्रभावित भएको घनपोखराका कमला गुरुङले बताइन्।