
जुम्ला – कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ। हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको हो।
हिमपातले अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ। तर, माघ अन्तिममा परेको हिउँले कृषि क्षेत्रलाई ठूलो राहत पुग्ने भएकाले किसान खुसी भएका छन्।
पातारासीका स्याउ किसान तारा बहादुर बोहराले हिमपातले कर्णालीको हिउँदे बालीलाई निकै फाइदा पुगाउने बताएका छन्। ‘स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ। बिरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम गरिन्छ। यसले सिँचाई पहुँच नभएको ठाउँमा राहत पुग्छ,’ उनले भने।
माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ। विशेष गरी अहिलेको हिउँले स्याउ बगैँचा फाइदा पुग्ने भएकाले स्याउँमा आश्रित जुम्लाका झण्डै १७ हजार घरधुरी लाभान्वित हुने भएका छन्।
कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी अहिले परेको हिउँलाई संकलन गरी हिउँपोखरी बनाएमा सिँचाइका लागि टेवा पुग्ने बताएका छन्।