
काठमाडौँ – पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका सम्बन्धमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले प्रतिवेदन सार्वजनिक गरेको छ।
सिबिफिनले आइतबार एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक गरेको हो। सिबिफिनले प्रस्तुत गरेको प्रतिवेदनमा अनुत्पादक क्षेत्रमा कर्जा लगानी बढेका कारण तरलता अभावको अवस्था सिर्जना भएको उल्लेख छ।
त्यस्तै, विप्रेषणमा आएको कमी, आयातमा थप कडाइ हुन, सरकारी पुँजीगत खर्चमा वृद्धि र प्रक्रियामुखी भुक्तानी प्रणालीमा सुधार गर्नुपर्ने जस्ता कारणले तरलतामा कमी आएको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा उपस्थित प्रतिवेदन निर्माण टिम, सिबिफिनका सदस्य तथा विभिन्न बैंकका विज्ञले बैंकले सोचेअनुरूपको कर्जा लगानी गर्न नसकेका कारण तरलतामा कमी आएको बताएका थिए।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को प्रतिवेदन निर्माणका संयोजक तथा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले राष्ट्रिय बैंकको नीति स्पष्ट नभएका कारण तरलतामा समस्या आएको बताएका छन्।
उनले भने, ‘राष्ट्र बैंकले छिटो–छिटो नीति परिवर्तन गर्दै आएको देखिन्छ। त्यसकै कारण चालु वर्षको मौद्रिक नीतिमार्फत पनि राष्ट्र बैंकले नीति परिवर्तनकै कारण तरलतामा दबाब आएको हो।’
राष्ट्र बैंकले सीडी अनुपात कार्यान्वयनमा नल्याएको भए अहिलेसम्म तरलता समाधान भइसक्ने उनले बताए। राष्ट्र बैंक मात्र नभई बैंक वित्तीय संस्था कर्जा प्रवाहमा अनुशासित नहुँदा समस्या आएको उनको भनाइ छ।