
खोटाङ – खोटाङमा बिहीबार ४८ जना कोरोना संक्रमण मुक्त भएका छन्। बिहीबार चार जना संक्रमित थपिँदा ४८ जनाले कोभिड–१९ को संक्रमणलाई जितेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी ३ हजार ४२२ जनालाई संक्रमण पुष्टि भएकामा निको हुनेको कुल संख्या ३ हजार २८६ पुगेको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए।
बिहीबार १०० जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनालाई मात्र संक्रमण पुस्टी भएको छ। यससँगै कुल सक्रिय संक्रमितको संख्या १२२ भएको छ। अघिल्लो दिन १६६ संक्रमित थियो। सक्रिय संक्रमित होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १६ जार ६८९ जनाले कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप लगाएका छन्। त्यसमध्ये ६७ हजार १९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन्। कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए।
जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ। यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्स्ट्रक्सन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ।