
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टी परित्याग गरेका पूर्वअध्यक्ष कमल थापालाई पार्टीमा फर्किन आह्वान गरेको छ।
बिहीबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले पार्टी परित्याग गरेका पार्टीका पूर्वअध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुनर्विचार गरी पार्टीमा स–सम्मान फर्किनका लागि आह्वान गरेको हो।
पूर्वअध्यक्ष थापाले उठाएका विषयमा पार्टी छलफल गर्न तयार भएको र पदाधिकारी बैठकसमेत बोलाइसकिएको अवस्थामा थापाले पार्टी परित्याग गर्नुमा समस्या समाधानमा चाहना नराखेको भन्ने धारणा बैठकमा व्यक्त भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
राप्रपाले पूर्वअध्यक्ष थापाले पूर्ववत् निर्णय पुनर्विचार गरी पार्टीमा सक्रिय हुने आशा राखेको पनि प्रवक्ता श्रेष्ठले बताए।
निवर्तमान अध्यक्ष कमल थापा पार्टीबाट अलग भएको विषयलाई लिएर छलफल भएको बैठकमा पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारी र प्रदेशका अध्यक्षहरू सहभागी थिए। बैठकले निवर्तमान अध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुनर्विचार गरेर पार्टीमा स–सम्मान फर्किन आह्वान गरेको छ।
उनले भने, ‘पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्षसँग भेटघाट गरिसक्नुभएपछि जुन गम्भीरतापूर्वक यो विषयलाई टुंगोमा पुर्याउने उहाँले प्रोएक्टिभ रोल खेलिराख्नुभएको थियो पार्टीका संस्थापक तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी र पार्टीका वरिष्ठ नेता उपाध्यक्षहरु, पदाधिकारीहरुसँगको छलफलमा के हुन सक्छ भन्ने विभिन्न मोडलबारे छलफल भइरहँदा उहाँले अकस्मात् पार्टीबाट अलग हुने घोषणा गर्नु उहाँ आफैँ पनि पार्टीमा पुनः सक्रिय हुने अथवा त्यो समस्या समाधान भइदेओस् भन्ने चाहना नराख्नुभएको हो कि भन्ने धारणा आजको बैठकमा पनि पेस भएका छन्। हामीलाई आशा छ, उहाँ पूर्ववत् रूपमा आफ्नो निर्णय पुनर्विचार गरेर पार्टीमा सक्रिय हुनुहुनेछ।’
बैठकले पार्टीको संगठनलाई सुदृढ र क्रियाशील तुल्याउँदै स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवार उठाउने निर्णय गरेको छ।
देशव्यापी रुपमा प्रशिक्षण सञ्चालन गर्ने तथा हिन्दूराष्ट्र र राजसंस्थाको विषयमा जनतालाई जागरुक गराउन देशव्यापी रूपमा कोणसभा र घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘आसन्न स्थानीय तहको निर्वाचनबारे घनीभूत रूपमा छलफल भएको छ। पार्टीका महामन्त्री भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तहको निर्वाचन परिचालनसम्बन्धी विशेष कार्ययोजना आजको बैठकमा छलफल भएको छ। बैठकले पार्टीको संगठनलाई सुदृढ र क्रियाशील तुल्याउने, स्थानीय तहको निर्वाचनमा सबै पालिकामा, चुनाव हुने सबै तहमा उम्मेदवार खडा गर्ने, देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने, फागुनलाई प्रशिक्षणको महिना बनाउने, पार्टीको एजेन्डाको पक्षमा हिन्दूराष्ट्र, राजसंस्थाजस्ता मुद्दा लोकप्रिय हुँदै गइराखेको अवस्थामा जनतालाई यस विषयमा जागरुक तुल्याउन देशव्यापी घरदैलो, कोणसभा सञ्चालन गर्ने र पार्टीको शीर्ष नेतृत्व तहलाई विभिन्न जिल्लामा खटाएर जनतामाझ राप्रपा कार्यक्रम सञ्चालन गर्ने र सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्ने आजको बैठकले निर्णय गरेको छ।’
बैठकले नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला, वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहेको तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ।
समान विचार भएका व्यक्ति, समूह वा दलसँग पार्टी एकता अथवा सहकार्य गर्ने नीति पार्टीको रहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकताको प्रयास भइरहेको र सो प्रयासलाई निरन्तरता दिने निर्णय भएको बताए। राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते काठमाडौंमा बोलाइएको छ।