
काठमाडौँ – संगीतकार महेश खड्काले संगीत चोरी गरेको आरोप निराधार रहेको बताएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताए।
उनले बौद्धिक सम्पत्तिको चोरीको विषयमा कानुनी उपचार खोज्ने धेरै उपाय छाडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाए।
गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूले गाएको ‘नोगेन’ बोलको गीतको संगीत केही अंश चोरेको आरोप अर्का संगीतकार वसन्त सापकोटाले लगाएका छन्।
संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’को सागरसरी चा भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाएपछि संगीतकार खड्काले प्रमाणित गरेर देखाउन चुनौती दिए।
पछिल्लो समय नेपाली गीत–संगीत र शब्द चोरीको आरोप प्रत्यारोपको सिलसिला चलेको छ। केही दिनअघि गायिका रचना रिमालले अञ्जु पन्तले गाएको गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ गाएपछि गायिका रिमाल विवादमा आएकी थिइन्।
यस्तै, गायक दुर्गेश थापा ‘पैसा’ नामको गीतमा प्रयोग भएको शब्दका कारण निकै आलोचित बन्नुपरेको थियो।
यता, सार्वजनिक आरोप–प्रत्यारोपमा उत्रिएका दुवै संगीतकार महेश खड्का र वसन्त सापकोटा आफ्नो प्रतिलिपि अधिकारका लागि कानुनी उपचारमा भने गएका छैनन्।