
बुटवल– नेकपा (एकीकृत समाजवादी)ले एमसीसी राष्ट्रहित विपरीत रहेको भन्दै बुटवलमा विरोध प्रदर्शन गरेको छ।
समाजवादी रुपन्देहीका भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरित रहेको भन्दै आइतबार बुटवलमा विरोध प्रदर्शन भएको हो।
‘एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावाद’लगायत प्लेकार्डसहित सडकमा आएका समाजवादीका नेता कार्यकर्ताले एमसीसी फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए।
विरोध प्रदर्शनमा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्वीकार्न नहुने बताए।
उनले सम्झौता लागू गराउन अमेरिकाले नेताहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए।
बुटवल ट्राफिक चोकमा भएको विरोध प्रदर्शमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थापा, अनेरास्ववियूका केन्द्रीय सचिव शंकर घर्ती, युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाले बोल्दै एमसीसी परियोजना खारेज गर्न माग गरे।