
धनगढी – एमसीसीको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव कैलाली, कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ। एमसीसीको विरोधमा ६ दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेको थियो।
प्रहरीका अनुसार कैलाली र कञ्चनपुरका बजार क्षेत्र फाटफुट बन्द छ। बजार क्षेत्रमा विद्युतीय रिक्सा र मोटरसाइकल चलेका छन् भने ठूला सवारीसाधन बन्द रहेका छन्। बजार क्षेत्रबाहेकका स्थानमा भने ठूला सवारीका साधान पनि चलेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक रबिन विष्टले बताए। उनका अनुसार कैलालीमा बन्दकर्ताले शान्तिपुर्ण रुपमा प्रदर्शन गरे पनि कुनै अप्रिय घटना भने भएको छैन।
जिल्ला प्रहरी कार्यादलय कञ्चनपुरका प्रबक्ता सिद्धराज न्यौपानेले पनि जिल्लामा बन्दको सामान्य प्रभाव रहेको बताए। जिल्ला बाहिरबाट आएका सबै सार्वजनिक सवारीलाई कञ्चनपुर भित्र्याइएको उनले बताए। नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना हुन नदिन बिहान ५ बजेबाट नै प्रहरी परिचालन गरिएको उनले बताए।
सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसमा बिहानी कक्षा सञ्चालन भए पनि दिउँसोको समयमा भने सबै शैक्षिक संस्था बन्द भएका छन्।