
काठमाडौँ – बिजनेस अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ।
नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख अमेरिकी डलर प्राप्त गरेको हो।
बिजनेस अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरण लगानी गरेको थियो। आशाजनक प्रतिफल र सम्भावना भएका कारण जेनेस सोलुसन प्रालिलाई विश्वभर डिजिटल रुपान्तरणको उदीयमान कम्पनीको रुपमा स्थापित गराउन बिजनेस अक्सिजनले थप लगानी गरेको हो।
विजनेश अक्सिजन प्रालि (बीओटु) नेपालको पहिलो निजी ‘इक्विटी फन्ड’ हो र यो इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) को ग्लोबल एसएमई भेन्चर इनिसिएटिभको एउटा अंग हो।
यसमा आईएफसीको बल्र्ड बैंक ग्रुप, क्लाइमेट इन्भेस्टमेन्ट फन्ड (पीपीसीआर) र एफसीडीओको लगानी छ। यो लगानीलाई ह्वाइट लोटस सेन्टर प्रालिको सहायक कम्पनी डब्लुएलसी भेन्चर प्रालिले व्यवस्थापन गरेको हो।
‘बिजनेस अक्सिजनबाट दोस्रो चरणको लगानी भित्र्याउन पाउँदा हामी हर्षित छौं, यसले हामी सही मार्गमा रहेको देखाउँछ। यो लगानीले हामीलाई अझै बलियो र प्रतिस्पर्धी टिम बनाउन सहयोग गर्नेछ’, जेनेसका संस्थापक एवं प्रमुख प्राविधिक अधिकृत (सीटीओ) अञ्जनी फुयाल भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य नेपालमा बलियो प्रविधिक संसाधन विकास गरी डिजिटल रुपान्तरणमा सहयोगी बन्नु हो।’