
बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेसन फ्लाइट) शुक्रबार हुँदैछ। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष जहाज एरो थाई बिहीबार भैरहवा आइपुगेको छ।
थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस ९ एआइएम’ जहाज भैरहवा विमानस्थल आएको हो। सो जहाजमार्फत विमानस्थल उडान र अवतरणका लागि ठीक छ कि छैन भनेर परीक्षण गरिनेछ।
क्यालिब्रेसन फ्लाइट विमानस्थलमा उडान र अवतरणका लागि प्राविधिक रूपमा तयार छ कि छैन भनेर प्राविधिक परीक्षण गर्ने विधि हो।
धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेको छ या छैन भनेर क्यालिब्रेसन परीक्षण उडान गरेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार हुने विमानस्थल आयोजनाले जनाएको छ। एरो थाईले शुक्रबारदेखि सुरु गर्ने क्यालिब्रेसन आगामी फागुन १५ गतेसम्म जारी रहनेछ।
क्यानका महानिर्देशक प्रदीप अधिकारीका अनुसार दैनिक ७ घण्टाका दरले क्यालिब्रेसन उडानपछि विमानस्थलको अवस्थाबारे २ महिनाभित्र नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई रिपोर्ट दिइनेछ।
उक्त रिपोर्टका आधारमा प्राधिकरणले आगामी जेठ २ गते बुद्ध जयन्तीको दिन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य राखेको छ। केही दिनअघि मात्रै नागरिक उड्डयन संस्कृति तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको निरीक्षण गर्दै बुद्ध पूर्णिमाभित्रै उडान भर्ने अठोट गरेका थिए।
शुक्रबार १२ बजेपछि नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूसँग छलफल गरेपछि भीओआर परीक्षण सुरु गरिने प्राधिकरणका महानिर्देशक अधिकारीले बताए। नियमित उडान सुरु भएसँगै गौतम बुद्ध विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा पर्छ। आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले क्यालिब्रेसन फ्लाइट सुरु भएकाले अब उडान निश्चित जस्तै भएको बताए।
क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरिनेछ। रिपोर्ट सार्वजनिक भएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उनको भनाइ छ।
परीक्षण उडानपछि व्यवसायिक उडानको तयारी गरिनेछ। क्यालिब्रेसन उडान फागुन ६ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। उनका अनुसार दैनिक सात घण्टाको उडान हुनेछ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा पनि गौतम बुद्ध विमानस्थललाई हेरिएको छ। तर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेको अवस्थामा करिब २० लाखमात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ।
विसं २०७१ साल माघ १ गते (जनवरी १५, २०१५) मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको थियो। त्यतिखेर सन् २०१७ डिसेम्बरसम्ममा निर्माण सकेर अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य लिइयो थियो। ६० मिटर चौडाइ र ३ किलोमिटर धावन मार्ग, १९ सय मिटरको ट्याक्सी वे रहेको विमानस्थलमा ५ वटा वाइड बडी जहाज पार्किङ गर्न सकिन्छ।
अहिलेको टर्मिनल भवन ४५ सय जना यात्रु क्षमताको रहेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि १५१ जना कर्मचारीको दरबन्दी पनि स्वीकृत भएको छ। गौतमबुद्ध विमानस्थलको लागत ६ अर्ब ८२ करोड रुपैयाँ छ। यो रकम जग्गा अधिग्रहणबाहेकको हो। २१ अर्ब रकम मुआब्जामात्रै आयोजनाले खर्च गरेको छ।
एसियाली विकास बैंकको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल माघ १ गते विमानस्थलको शिलान्यास गरेका थिए।
सन् २०१४ नोभेम्बर १३ मा ८५ दशमलव ५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनसँग आईसीबी १ नम्बर परियोजनाका लागि ७८ दशमलव ३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो।