
काठमाडौँ– अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नयाँ बानेश्वरमा आज पनि प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दल निकट युवा तथा विद्यार्थीहरुले बानेश्वर क्षेत्रमा एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको छ। केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। प्रदर्शनका कारण उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।
नयाँ बानेश्वर क्षेत्रमा पछिल्लो समय एमसीसीविरुद्ध दिनहुँजसो प्रदर्शन भइरहेको छ। सरकारले संसदबाट एमसीसी पास गर्ने तयारी गरेपछि विरोध चर्किएको हो।
सरकारले आइतबार संसदमा एमसीसी टेबल गरेको थियो। एमसीसीमाथि दलहरुबीच सहमति नभएपछि आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
आजको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक स्थगित भएको हो। बिहीबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो।