
बुटवल– दलहरु वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन्। कांग्रेसले जनतामाझ ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान चलाइरहेको छ भने अरु दलहरु पनि जनतामाझ आफ्ना कार्यक्रम लिएर पुगिरहेका छन्।
लुम्बिनी प्रदेशमा चुनावी सरगर्मी विस्तारै बढ्दैछ। दलहरु यसअघि जितेका पालिकामा जनमत जोगाउँदै थप पालिका जित्ने दाउका साथ अभियानमा छन्। लुम्बिनीका सबैभन्दा बढी चासो राखिएका पालिकामध्येका ४ उपमहानगरमा दलहरुले चुनावी हिसाबकिताब गर्न थालेका छन्।
२०७४ सालको स्थानीय निर्वाचनमा ३ उपमहानगरमा बाजी मारेको एमाले अहिले केही कमजोर बनेको छ। बुटवल, तुलसीपुर र घोराहीमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो। नेपालगञ्ज उपमहानगरपालिकामा भने एमाले कमजोर देखिएको थियो। यहाँ राप्रपाले मेयर र कांग्रेसले उपमेयर जितेको थियो।
बुटवलमा एमालेको आलोचना बढ्दो छ भने घोराहीमा खास प्रगति गर्न नसकेको भन्दै कार्यकर्ताभित्रै असन्तुष्टि छ। तुलसीपुरमा सुधारका केही काम भएकाले एमालेको प्रभाव तुलनात्मक हिसाबले चार उपमहानगरमध्ये अलि बढी छ।
अघिल्लो चुनावी नतिजालाई आधार मान्ने हो भने नेपालगञ्जबाहेकका तीन उपमहानगरपालिकामा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। एमाले विभाजनको असर र सत्ताबाहिर रहेको एमालेको तटस्थ भूमिकाको फाइदा उठाउँदै कांग्रेस चार वटै उपमहानगरमा जित्ने दाउमा छ।
यसअघि एमालेलाई जित्नका लागि पर्याप्त भएको मत अहिले एमाले विभाजन भएर बनेको समाजवादीको मत एमाले हराउन पर्याप्त हुने आँकलन कांग्रेसको छ।
सत्तारुढ दलबीच गठबन्धन हुने आँकलन भइरहेका बेला चार उपमहानगरमा एमालेले आफ्नो जीत कायम राख्ला या कांग्रेसले जित्ला भन्ने बहस र हिसाबकिताब दलका नेताहरुबीच हुन थालेका छन्।
हाल प्रदेशको अस्थायी मुकामसमेत रहेको बुटवल उपमहानगरमा गत चुनावमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत ल्याएर प्रमुखमा विजयी भएका थिए। प्रतिस्पर्धी कांग्रेसका खेलराज पाण्डेले २४ सयजति कम अर्थात् २० हजार ८५१ मत पाए। कांग्रेस र माओवादीको गठबन्धनको यो मतमा माओवादी केन्द्रको मत ३ हजारको हाराहारीमा रहेको मान्ने हो भने कांग्रेसले करीब ५ हजारको अन्तरले चुनाव हारेको थियो।
पुरानै अवस्था रहेको भए बुटवलमा कांग्रेसलाई जित्न अरु बढी मेहनत गर्नुपर्ने देखिन्थ्यो। तर पाँच वर्षअघिको एमाले र हालको एमालेको जनआधार तुलना गर्ने हो भने धेरै फरक भइसकेको छ।
एकीकृत समाजवादीका ४ हजारभन्दा धेरै मत बुटवलमा रहेको सो पार्टीको दाबी छ। यसलाई आधार मान्ने र थप भएका मतदातालाई समेत जोड्ने हो भने एक्ला–एक्लै चुनाब लडेमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। एमालेबाट निर्वाचन जितेका शिवराज सुवेदीको भूमिका पार्टीभित्रै आलोचित बनेका कारण पनि एमालेको जनमत अहिले खस्किँदो छ।
एमालेले केही वर्षयता आफ्नो गढ मानेको बुटवलमा सत्तारुढ दलबीच तालमेल भएमा गठबन्धनले सहजै जित हात पार्न सक्छ।
बुटवलजस्तै दाङका तुलसीपुर र घोराहीमा पनि एमालेले चुनाव जितेको थियो। तुलसीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डे गत चुनावमा २२ हजार ८५७ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९३० मत पाए। माओवादी केन्द्रका उम्मेदवारले ८ हजार ६९३ ल्याएका थिए।
त्यसबेला तुलसीपुरमा एमालेको भन्दा कांग्रेसको ४ हजार जति मत कम देखिन्छ। तर कांग्रेसले एमालेले भन्दा बढी वडा जितेको थियो। तुलसीपुरका १९ वडामध्ये १० वटा कांग्रेसले जितेको थियो। कांग्रेसका प्रमुखका उम्मेदवारको भन्दा वडाध्यक्षहरुको मतको योगफल करिब १ हजारले बढी थियो।
घोराहीमा २२ हजार ३० मतसहित एमालेका नरुलाल चौधरी मेयर भएका थिए। कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ प्राप्त गरेका थिए। घोराहीमा माओवादी केन्द्रको तुलसीपुरमा भन्दा बढी मत देखिएको छ। माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए।
अघिल्लो चुनावी नतिजालाई आधार मान्ने हो भने नेपालगञ्जबाहेकका तीन उपमहानगरपालिकामा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। एमाले विभाजनको असर र सत्ताबाहिर रहेको एमालेको तटस्थ भूमिकाको फाइदा उठाउँदै कांग्रेस चार वटै उपमहानगरमा जित्ने दाउमा छ।
दाङका दुवै उपमहानगरमा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा देखिन्छ। दाङबाट निर्वाचित दुई जना प्रतिनिधि सभा सदस्य एकीकृत समाजवादीमा गएकाले एमाले महासचिव शंकर पोखरेलको गृहजिल्लामा एमालेलाई धक्का लाग्ने अनुमान पनि गरिएको छ।
सत्ता गठबन्धन एक भएमा यी दुई उपमहानगरमा पनि एमालेलाई नेतृत्व हात पार्न अझ कठिन हुने देखिन्छ। दाङलाई आफ्नो प्रभाव क्षेत्र मान्ने कांग्रेसले यसपाली एक्लै चुनाव लडेमा पनि जित हात पार्ने कांग्रेस नेताहरु बताउँछन्।
२०७४ मा नेपालगञ्जमा भने एमाले कमजोर देखिएको थियो। यहाँ राप्रपाका धवल शमशेर राणाले १२ हजार ५१५ मत ल्याएर प्रमुख जित्दा कांग्रेसका सुरेशकुमार कानोडियाले ८ हजार ७३० मत ल्याएका थिए। तेस्रो स्थानमा आएका माओवादीका उम्मेदवारले ७ हजार १९८ मत ल्याएका थिए। एमाले यहाँ चौथो स्थानमा थियो।
नेपालगञ्जको उपमेयरमा कांग्रेसकी उमा थापामगर विजयी भएकी थिइन्। उनले राप्रपाकी उम्मेदवारलाई करिब २ हजार मतले पछि पारेकी थिइन्। यसलाई आधारमान्दा नेपालगञ्जमा कांग्रेस र राप्रपा प्रतिस्पर्धी मानिएको छ।
यसरी लुम्बिनीका ४ उपमहानगरमा विगतमा देखिएको नतिजामा हेरफेर आउन दलहरुबीच तालमेल हुन्छ या हुँदैन भन्ने विषयले पनि अर्थ राख्छ। सत्तारुढ दलबीच तालमेल भएमा यी सबै उपमहानगरमा एमालेलाई जित्न कठीन छ भने सत्तारुढ गठबन्धनले सहजै जित हात पार्नेछ।
त्यसैअनुसार ४ वटै उपमहानगरपालिकामा जित हात पार्ने गरी तयारी थालेको कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन बताउँछन्।
‘हामीले यसअघि केही समस्याका बावजुत ४ वटा उपमहानगरमा चुनाव जित्ने सकेनौँ,’ उनी भन्छन्, ‘त्यसको समीक्षा गरेर हामीले यसपटक अभियान सञ्चालन गरेका छौँ र यसपटक हामी चार वटै उपमहानगरमा चुनाव जित्छौँ।‘
उनले अघिल्लो चुनावमा दाङमा पार्टीकै आन्तरिक कारणले दुवै उपमहानगर गुमाएकोले दाङमा यसपटक सहज जित हासिल हुने बताए। उनले एकल रुपमा चुनावमा गएमा नेपालगञ्जमा पनि सहज जित हासिल हुने बताए।
‘अरु उपमहानगरको तुलनामा बुटवलमा थप केही मेहनत बढी गर्नुपर्छ, अरु ठाउँमा हाम्रो माहोल राम्रो भइसकेको छ, ‘ उनी भन्छन्, ‘बुटवलमा पनि हामी चुनाव जित्छौँ, त्यसअनुसारले हामीले अभियान चलाएका छौँ।‘
एमालेले भने यसअघिका उपमहानगरमा आफ्नो जित कायमै राख्ने दाबी गर्छ। एमाले लुम्बिनी प्रदेश संगठन कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले प्रदेशका उपमहानगरमा फेरि पनि आफ्नो पार्टीले जित्ने दाबी गरे।
उनले भने, ‘हामीले बुटवल, घोराही र तुलसीपुर सहजै जित्छौँ भन्ने आँकलन छ, नेपालगञ्जमा भने केही मेहनत गर्नुपर्छ।‘ उनले चुनाव जित्नका लागि उमेदवार भने उपयुक्त हुनुपर्ने बताए।
कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी देखिए पनि अरु दलहरु माओवादी, एकीकृत समाजवादी, राप्रपा र मधेशवादी दललाई भने यी उपमहानगरमा जित हात पार्न गठबन्धनमै सहभागी हुनुपर्ने देखिन्छ। राप्रपा पनि विभाजित भएकाले नेपालगञ्जमा राप्रपालाई चुनाव जित्न केही कठीन छ।