
काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वर्षभित्र सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाइने बताएका छन्।
उनले काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह उद्घाटन गर्दै मंगलबार सो कुरा बताएका हुन्।
२००३ सालमा स्थापना भएको उक्त विद्यालय सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्टमध्ये पर्ने उनले बताए।
शिक्षक, अभिभावक र सरकारको संयुक्त पहलमा मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिने उल्लेख गर्दै उनले भने, ‘सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र शिक्षासम्बन्धी कानुनी सुधारमा केन्द्रित रहेर शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे कार्यक्रम ल्याएको छ।’
सार्वजनिक विद्यालय सुधारका लागि सरकार कटिबद्ध रहेको जानकारी दिँदै मन्त्री पौडेलले भने, ‘आगामी तीन वर्षभित्र देशभरका सार्वजनिक विद्यालयलाई भौतिक सुविधा सम्पन्न बनाउनेतर्फ सरकार अगाडि बढेको छ।’
गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विश्व निकेतन माध्यमिक विद्यालयको योगदानको प्रशंसा गर्दै उनले विद्यालयसँग आगामी दिनमा पनि निरन्तर सम्पर्कमा रहेर गुणस्तरीय शिक्षाका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रमिक सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको अवगत गराउँदै शिक्षण सुधार प्रक्रियामा सरकार सदैव तत्पर रहेको बताए।
हीरक जयन्ती समारोहमा काठमाडाँै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त अवसरमा विद्यालयका प्राचार्य हेरम्बराज कँडेलले विद्यालयले गुणस्तरीय शिक्षामा गर्दै आएको योगदान र प्राप्त गरेको सफलताबारे चर्चा गर्दै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सरकारको तर्फबाट थप सहयोगको अपेक्षा गरेका थिए।
१० लाखको अक्षयकोष स्थापना
हीरक महोत्सवकै अवसरमा विद्यालयमा ‘पद्म ज्योति तथा मीरा ज्योति’ नामक अक्षयकोष स्थापना गरिएको छ।
वार्षिक रूपमा उत्कृष्ट शिक्षक विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको सौरभ ज्योतिले जानकारी दिए।
आफ्ना बुबाआमाको नाममा हीरक महोत्सवका अवसरमा ज्योतिले सार्वजनिक रूपमा अक्षयकोष स्थापना गरिएको घोषणा गरेका हुन् ।
सरकारबाट नमुना विद्यालयसमेत घोषित उक्त विद्यालयले ०७४ र ०७५ मा राष्ट्रिय शिक्षा पुरस्कारका साथै विभिन्न क्षेत्रीय पुरस्कारसमेत प्राप्त गरेको छ भने विद्यालयले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ।
उक्त अवसरमा विद्यालयलाई निरन्तर सहयोग गर्ने व्यक्ति तथा संस्था एवं लामो समयसम्म सेवारत शिक्षक÷शिक्षिका, कर्मचारी तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो।