
काठमाडौँ – नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ। काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले ब्याण्डवीथको मूल्य नै महँगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महँगो पर्न गएको स्पष्ट पारिन्। तर, त्यसमा पनि पुनर्विचार गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो।
नायब प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारण पनि घटाउनुपरेको बताइन्। कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महँगो भन्न नमिल्ने तर्क गरिन्।
उनले भनिन्, ‘यसको मूल्यचाहिँ घट्दै छ । यो महँगो छ भन्न त नमिल्ला। प्याकेजमा नलिएको हुनाले महँगो भनिएको हो कि ? नत्रभने मलाई लाग्छ–यो वायरलेस डेटाको कष्टचाहिँ १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ। यो कोभिडका कारणले गर्दा पनि गभर्मेन्टबाटै यसको रेट घटाउन निर्देशन दिइएको थियो। त्यसकारण पनि यो डेटाको कष्ट धेरै घटाएका छौँ। यता, ब्यान्डविथको मूल्य नै महँगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महँगो पर्न गएको हो। सरोकारवालाले सुझाव दिए यसमा पनि विचार गर्न सकिन्छ।’
नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घट्नेबित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ।