चिरीबाबु महर्जन पाँच वर्ष अगाडि सम्पन्न स्थानीय तहको निर्वाचनबाट ललितपुर महानगरको मेयरमा निर्वाचित भएका थिए। महर्जन तत्कालीन ललितपुर नगरपालिकाको वडा नं. ३ बाट वि.सं २०३८, वि. सं २०४३ र वि.सं २०४९ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको पदमा निर्वाचित भए। गरेका वाचा पूरा गरेकाले आफू दोस्रो पटक मेयर पदमा उम्मेदवार बन्न लागेको उनको भनाइ छ।
वि.सं ०४६ सालमा नेपाली कांग्रेस पार्टीमा सामेल चिरीबाबु इमान्दारीमा विश्वास गर्ने कारण नगरवासीका प्रिय जनप्रतिनिधि बनेका छन्। हिजो वडाध्यक्ष रहँदा पनि उनी बद्नाम थिएनन्। उनले ०७४ सालको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा एमालेका हरिकृण्ण व्याञ्जनकारलाई ३२६ मतले हराएका थिए।
ज्यापू समाजका संस्थापक उनी समाजसँग नजिक रहेर काम गर्न मेयरको पद उपयुक्त रहेको बताउँछन्।जनताको सुख र दुःखमा सहज रुपमा नजिक हुन र स्थानीयसँग निकै नजिकको सम्बन्ध राखेर काम गर्न पाइने (कार्यकारी पद)मेयरको कुर्सी अहिले छाड्न चाहेका छैनन्। उनी भन्दछन् , ‘अहिले मसँग नगरवासी बेखुसी छैनन्, मेयर भएर काम गर्दा आत्मसन्तुष्टि पनि ज्यादै मिल्यो। म जनप्रतिनिधि भएर बदमासी कमाएको छैन। इमान्दारीसाथ काम गरको छु र गर्नेछु।’
निर्वाचनमा टिकट पाउनकै लागि हिजो चाप्लुसी नगरेको अब पनि नगर्ने दाबी गर्ने उनी भन्दछन् ‘ममा कसैको घरदैलो गरी जिउ हजुर गर्ने बानी छैन। कामको कारणले गर्दा मलाई नगरवासीले राम्रोसँग चिनिसकेका छन्। सबैले फेरि उठ्नुपर्याे भनेर सद्भाव देखाइरहेका छन्। मलाई पार्टीले नपत्याउनुपर्ने कुनै कारण छैन।’
तपाईंले निर्वाचनका बेला गरेका प्रतिबद्धता के कति पूरा भए ?
पाँच वर्षको मेरो कार्यकाल पूरा हुन लाग्दा घोषणा गरेका वाचामध्ये ९० प्रतिशतभन्दा बढी पूरा गरेको छु। कतिपय घोषणापत्रमा उल्लिखित विषय भावनात्मक र उत्तेजनात्मक पनि थिए। त्यसैअन्तर्गत ललितपुर महानगरपालिकामा १ दशमलव ४ किमि लामो फलाइओभर बनाउने विषय पनि समावेश थियो। त्यसको विस्तृत अध्ययन त भएको छ, तर फलाइओभरकै कारण ६ वटा घर भत्काउनुपर्ने देखियो। जग्गा अधिग्रहण गर्नुपर्ने भयो। प्राविधिक समस्या देखियो।
जाइकाले त्रिपुरेश्वरदेखि माइतीघरसम्मको फलाइओभरको डिजाइन लगभग सकेको छ। माइतीघर त्रिपुरेश्वर फलाइओभर सञ्चालन हुने छाटकाट देखिएन। त्यसैले हामीले बनाएर ल्याडिङ कहाँ गर्ने ? समस्या देखियो। यसको लागत ६ अर्ब रुपैयाँ निस्क्यो। धेरै महँगो हुने भयो। तर, योजना स्थगितचाहिँ गरिसकेका छैनौँ।
ललितपुर महानगरपलिकाभित्र करब ७ किमि चक्रपथ पर्ने र सातदोबाटो, चापागाउँ दोबाटोलगायत स्थानमा जामको समस्या निकै छ। यो योजना अध्ययन गर्ने क्रममै ती स्थानमा इन्टरसेक्सन फलाइओभरको अध्ययन गरायौ। योजनाको सम्भावना देखियो। रिपोर्ट सरकारलाई बुझायौ। अहिले सरकार र सडक विभागले ग्वार्कोमा इन्टरसेक्सन फलाइओभर राख्न खोजेको छ। त्यो महानगरको पहलबाटै बन्न लागेको हो।
तपाईं मेयर बनेपछि ललितपुर महानगरपालिका जाममुक्त बनाउने घोषणा गर्नुभयो तर कार्यान्वयन गर्न किन सक्नुभएन ?
मैले घोषणा गरेकै हो। तर, त्यसका अवयव के हुन्, हामीले अध्ययन गरायौ। धेरै ठाउँमा वान वे गरेका छौँ। धेरै ठाउँमा मोटरलाइकललाई निषेध गरी पैदलयात्री मैत्री बनाएका छौँ। चार पाँच ठाउँमा वान वे गरेका छौँ। ट्राफिक जाममुक्त गर्नका लागि सडकको दायाँबायाँ घर भत्काउनु हुँदैन। डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सडक फराकिलो बनाउने भनेर घरहरू भत्काइयो, तर त्यसले समस्याको समाधान दिएन। हामीले त्यस्तो गल्ती गर्नुहुन्न। अहिले भइरहेका सडकको व्यवस्थापन राम्रो गरेर ट्राफिक आवागमन सुचारु गर्न सकिन्छ।
हामीले ललितपुरभित्र उच्च प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापन गर्न खोजेका छौ। टेण्डर खोल्न लागिरहेका छौँ। यसले जाममुक्त बनाउन सहयोग पुग्नेछ। एकैपटक गर्न त महाभारत छ। क्रमशः सुधार गर्दै लैजानेछौँ। हामीले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेका छौँ। चैतभित्रै यो सञ्चालन हुनेछ। महानगरले साझा यातायातसँगको साझेदारीमा पहिलेदेखि नै बस सञ्चालन गरेको छ। यस्ता कुराले जाम सुधार हुन्छ भन्ने हाम्रो अपेक्षा हो। एकै पटक गर्न महाभारत नै छ।
हरियाली वृद्धि गर्ने, ट्राफिक लाइट व्यवस्थित गर्ने, सडकका फोहोर व्यवस्थित गर्ने, आकसे पुल र जेब्राक्रस बढाउनेजस्ता कुरा पनि प्रतिबद्धता गरिएको थियो त ?
बागमती एरिया आसपासमा हामी आउनासाथ रोपिएका रुख हलक्क बढेको छ। सातदोवाटो धापाखेल आदि चक्रपथको दायाँबायाँ पनि हरियाली छ। हामीले एनसेलसँग सहकार्यमा यी काम गर्यौ। युएनपार्क आसपासमा पनि हरियाली भएको छ। जहाँसम्म मिल्छ हामीले सडकको दायाँबायाँ वृक्षारोपण गरेका छौ। जहाँ जहाँ सार्वजनिक र प्रति जग्गा छन्। एउटा नीति बनाएरै ती जग्गाहरूलाई उपयोग गरिरहेका छौँ। अबउप्रान्त कुनै पनि प्रति, सार्वजनिक र ऐलानी जग्गामा चाहिँ निर्माण कार्यका काम गर्न नदिने, हरियाली अभिवृद्धि गर्न लगाउने, पार्क बनाउने कामका लागि उपयोगमा ल्याइनेछ। जेष्ठ नागरिक र बालबालिका टहल्नको निम्ति उपयुक्त स्थान बनाउने महानगरको नीतिअनुरुप हामीले करिब १४ वटा पार्क बनाइसकेका छौ।
साइकलमैत्री सडक के–कति निर्माण भएको छ?
सहरलाई स्मार्ट सिटी बनाउने नीतिअनुरुप यो कार्य अगाडि बढेको छ। महानगरले साढे ३२ किमि बाइसाइकल लेन बनायो। चक्रपथको ७. ९ किमि दायाँ र ७.९ बायाँ गरी १५.८ किमि बाइसाइलको लेन बनाउन टेण्डर दिइसकेका छौँ।
पैदलयात्रीका लागि सहज पैदल रुट, अनि छाडा चौपायालाई कान्जी हाउसमा राख्ने पनि प्रतिबद्धता जनाउनुभएको थियो ?
हामीले व्यापक रुपमा फुटपात बनाएकै छौ। ती सबै अपांगतामैत्री छन् । त्यसमा पिसीसी गरी नचिप्लने बनाएका छौ। कान्जी हाउसचाहिँ बालीनाली गाइबस्तुले नबिगारोस् भनेर बनाउन भनिएको हो। अहिले महानगरपालिकाभित्र खेती नै हुन छाडेको छ। केही ठाउँमा मात्रै हुन्छ। गाईबस्तुको कारण समस्या उत्पन्न भएको छैन ।
पूर्वाधारतर्फ के–कति काम गरियो ?
हामीले १७ वटा वडा कार्यालयको भवन बनायौ। वडा कार्यालयहरू अहिले भाडामा छैनन्। हामीले ४२ किमि भित्री सडक बनायौ। त्यसमा हामीले आफ्नै विशेष मापदण्ड तय गर्यौ। मापदण्ड पूरा नभए रिजेक्ट नै गर्यौं। सडक निर्माण कार्य गुणस्तरीय भएको मलाई आशा छ। कसैले कुटो कोदालो नगरेमा सडक ६ देखि ८ बर्षसम्म टिक्छ।
नगरका गौरबका आयोजना के–के गरियो त ?
त्यसमध्ये हामीले हरियालीतर्फ महत्वपूर्ण योजना सुरु गरिसकेका छौ। लगनखेलको अशोक स्तुपाको दक्षिणतर्फ राजदल छ। त्यो स्तुपाको दक्षिण र पश्चिम करिब ३० रोपनी जग्गा राजदलले हाम्रो जग्गा उपयोग गरिरहेको थियो। ऊसँग एमओयू गरी जग्गा फिर्ता लियौं। स्तुपाको उत्तरतर्फ सप्तपाताल पोखरीको १४ रोपनी १० आना दुई पैसा जग्गा र यता ३० रोपनी गरी करिब ४५ रोपनी क्षेत्रफलमा कमलको फूल फूलाउने मैले योजना बनाएर काम गरिरहेको छु। हामी बच्चा हुँदा कमलको फूल फुल्थ्यो,अहिले किन नफुलाउने ? महानगरको चालु आवको गौरवशाली आयोजनाअन्तर्गत टान्सपारेन्ट ग्रिन फिन्स लगाउँदै छौ। गत वर्ष जाउलाखेलको फुटबल ग्राउन्डलगायत तीन ठाउँमा यस्तो बार लगायौ। आर्टिटेक्ट इन्जिनियबाटै प्रतिस्पर्धामा छानिएको डिजाइनलाई हामीले छनोट गरेका हौँ। आर्मीबाट लिइएको र सप्तपाताल पोखरीको छेउछाउ यस्तो खालको वार लगाउँदै छौ। यो काम अगाडि बढाउन आर्मीका प्रमुख प्रभुराम शर्मा र मबाट शिलान्यास भइसकेको छ।
तपाईं मेयर भएर आएपछि सुशासन कायम गर्छु भनेर महत्वपूर्ण बाचा पनि गर्नुभएको थियो? त्यो के कति पूरा भयो? कर्मचारीबाट सहयोग भयो त ?
महानगरमा जुन रफ्तारमा राजस्व उठ्नुपथ्र्याे, त्यो कुशासनको कारणले भएको थियो। हामी निर्वाचित भएर गएपछि राजस्व उठाउन सुशासन कायम गर्यौ। धेरै वर्षदेखि कौडीको मोलमा महानगरपालिकाको सम्पत्तिचाहिँ बहालमा लिइराखेकोमा हामीले ठेक्कापट्टा गरी त्यसको १० गुणा बढी राजस्व उठाउन सफल भयौ।
सडकहरू दिनमै दुई पटक पानीले पखाल्ने, प्रि स्कुल निःशुल्क गर्ने, बिजुली र फोनका तार अण्डरग्राउन्ड गर्ने खानेपानी अभाव हुन नदिन ट्रियुवेल खन्नेजस्ता प्रतिवद्धताकै विषयमा के कति काम भयो नि ?
मेलम्चीको पानी काठमाडौंमा निरन्तर आइरहेको भए यो काम हुन्थ्यो। मैले भनेको पनि हो सडक सफा गरिदिन्छौँ। मेलम्ची आएर पनि पानीको अभाव भएमा हामीले डिप ट्यिुवेल खनेर पानी वितरण गरिदिन्छौँ। पानी आयो अनि गयो। यो काम गर्नलाई हामीलाई कठिन पनि भयो। सडक पखाल्न र सफा गर्ने सबै पूर्वाधार हामीले जोडेर बसेका छौ। बाटो छेउछाउका रुख धुलाम्य छन्। त्यसलाई माथिबाटै स्पिङगलरबाट नुहाइदिने काम गरिरहेका छौ। रूखहरू हेर्दा नै हरिया र लोभलाग्दा बन्दै छन्। मेलम्चीको पानी फेरि आयो भने सबै काम गर्न सजिलो हुन्छ।
इसिडी कक्षा निःशुल्क बनाउने भनिएको थियो नि ?
इसिडी सबै फ्रि छन्। हाम्रो प्लान सबै ठाउँमा खोल्ने छ। अहिले एक्काइ वटा जति चलिरहेका भए पनि पर्याप्त छैन। हामीले शिक्षकलाई जम्मा ७ हजार तलब दिइरहेकोमा सरकारले एकै पटक १५ हजार दिने भन्यो। त्यसबाट ६२ लाख हामीमाथि आर्थिक दायित्व पर्न गएको छ।
बिजुली र टेलिफोन र केबलका तारहरूले सडक र सहर कुरुप बनेका छन् किन हटाउन केही काम भएको छैन ?
यसमा नेपाल विद्युत् प्राधिकरणको विश्व बैंकको पोजेक्ट छ। त्यसको अन्डरग्राउण्ड गर्ने काम अगाडि बढिसकेको छ। हामीले अनावश्यक पैसा खर्च गर्न हुन्न भनेरै महानगरीय प्रहरीबाट तार मुठा पार्ने काम भएको छ।
राजस्व वृद्धि के कति भयो त ?के केमा परिचालन भएको छ?
हाम्रो आन्तरिक स्रोतचाहिँ बढेको छ। ७९ प्रतिशत गत वर्ष आन्तरिक स्रोत परिचालन गर्यौ। अहिलेसम्म ९३ करोड राजस्व उठेको छ। हामीले प्रक्षेपण गरेको राजस्व उठाउँछौ।
कोभिडको संकट भन्दै महानगरको स्वामित्वका संरचनाको बहालमा तीन महिनाको छुट दिइएको थियो। घरधनीलाई पनि एक महिनाको कर छुट दिएर तपाईंले फेरि निर्वाचन जित्न स्थानीयलाई खुसी मात्रै पार्न खोजेको कि राजस्व वा आय घटाउन ?
हामीले महानगरवासीको अवस्था बुझेरै यो निर्णय लिएका हौँ। तिर्न नसकेका यस अगाडिका करको थप दस्तुरमा माफ गरिदियौ। यसले गर्दा कर तिर्न आउने धेरै बढेको देखिन्छ। त्यस्तै एक लाखसम्म कर छ भने चार किस्तामा तिर्न सक्ने उदार र नरम व्यवहार हामीले गरेका छौ। गत बर्ष हामीले प्रक्षेपण गरेभन्दा ७९ प्रतिशत राजस्व वृद्धि भयो।
राजस्व परिचालन केमा कसरी भएको छ कुन क्षेत्रमा बढी बजेट दिइएको छ?
हामीले एउटा वडामा तीन करोडसम्म दिएका छौँ। हिजो गाविस रहेकाहरू अहिले महानगर भित्र परेकाले छिटो विकास गर्न यसो गरिहेका छौँ। महानगरीय परियोजना र गौरवशाली आयोजनामा जो मेयरबाट छनोट भएका छन् त्यसमा हामीले बढी खर्च गरेका छौँ। ७० प्रतिशत त पुँजीगत खर्च नै छ।
देशका ७५३ वटा स्थानीय तहमा ललितपुर महानगरले के विशिष्ट अभ्यास गर्यो ?
हामीले छिमेकी नगरपालिकाहरूले अनुसरण गर्न लायकका काम गरेका छौ। कोभिडका बेला सबै स्थानीय तहमा भन्दा अब्बल हुने काम गरेका छौ। महानगरपालिकालाई एउटा स्माट सिटी बनाउन भनेर हामीले विस्तारै सिक्दै काम गरिरहेका छौँ। ललितपुर महानगरपालिका भित्र धेरै काम गरेका छौँ।। वागमती पुल नाघेर आउँदा ललितपुर क्षेत्र एक दम उज्यालो छ। यो कार्यक्रम अन्तर्गत दोस्रो चरणको काम पनि सुरु हुँदै छ। यसअन्तर्गत ११ सय ५० वटा बत्तीको व्यवस्थापन हुँदै छ। त्यसपछि तेस्रो चरणको कार्य अगाडि बढाउँछौँ। यस अन्तर्गत चक्रपथको १७ दशमलव ९ किमिमा ट्राफिक लाइट राख्नेछौँ।। यति काम सकेपछि आकासबाट प्लेनमा हिड्नेहरू समेत झिलिमिली उज्यालोले ललितपुर महानगर चिन्ने छन्। यो सन्दर्भमा छिमेकी नगरपालिकाहरू र नेपालकै अन्य नगरपालिकाहरूले हाम्रो स्माट इस्टीट लाइटको कुरा सिकेर अगाडि बढाउन खोज्दै गएको हामीले थाहा पाएका छौँ।
त्यस्तै नगरप्रहरीमा पनि हामीले कायापलट हुने गरी काम गरेका छौं। सीताराम हाक्षेतुको नेतृत्वमा नगरलाई व्यवस्थित गर्ने हिसावले काम भएका छन्। महानगरमा ७७ जना नगरप्रहरी राखेका छौ। उनीहरूको काम सन्तोषजनक छ। पोलमा पोस्टर टास्न दिएका छैनौ। आठ महिनायता पोलमा टासेको भेटाए हामीले १५ हजार जरिवाना नै गर्दछौँ। जति पनि रुख छन् राम्रोसँग ट्मि गरेका छौँ। त्यसमा हरियो रंगले पोतेका छौ। पोलमा पनि हरियो रंग पोतेका छौ। यसो छिर्दैमा हामी ललितपुरमा आयौँ भन्ने अनुभूति हुने गरी काम गरेका छौँ।
त्यस्तै, हालसालै हामीले ‘नो स्मोकिङ’ जोन घोषणा पनि गर्यौ। यो पनि अन्य छिमेकी नगरपालिकाले पनि अनुसरण गर्नुपर्ने असल अभ्यासअन्तर्गत पर्दछ। त्यस्तै सार्वजनिक स्थानमा पर्खाल नलगाउने काम गरेका छौ। खुल्ला ठाउँ पारदर्शी होस्। पर्खालभित्र बसेर नकारात्मक गतिविधि हुने संभावनाले यस्तो गरिएको हो। हामीले साइकल लेन पनि धेरै निर्माण गरेका छौँ। अन्य नगरपालिकाले पनि यसलाई असल अभ्यासका रुपमा अगाडि बढाउन सक्छन्। मठ मन्दिर शिवालय देवालय सम्पदा क्षेत्रमा चाहिँ हामीले कायापलट हुने गरी काम गरेका छौँ।
(उनको अन्तर्वार्ताको अर्को अंश भोलि बिहीबार प्रकाशित हुनेछ।)